शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पोखराको मातृशिशु मितेरी अस्पताल: महायज्ञमा उठेको रकम किन पाएन अस्पतालले ?

पोखराको मातृशिशु मितेरी अस्पताल: महायज्ञमा उठेको रकम किन पाएन अस्पतालले ?

नागरिक सहयोग समुहको नाममा खाता खोलेर बैंकमा राखियो


  • लालप्रसाद शर्मा
  • बैशाख १० २०८२, बुधबार

पोखरा/२०७३ साल असोज ९ गतेका दिन पोखरा–१६ बाटुलेचौरमा रहेको मातृशिशु मितेरी अस्पताल (पोखरा–कोमागाने) अस्पताल संचालक समितिका अध्यक्ष कृष्ण थापाले पत्रकार सम्मेलनको आयोजना गरे । अस्पताल तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीको कार्यकाल अर्थात् २०७२ साल असोज २२ गतेका दिन नेपाल सरकारको मन्त्रीस्तरीय निर्णय अनुसार २५ शैय्याको रुपमा स्तरोन्नति गरी नेपाल सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गत ल्याइएको थियो ।

पत्रकार सम्मेलनमा थापाले २०७३ असोज १२ गतेका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पतालको उद्घाटन गर्ने जानकारी मात्र गराएनन्, १२ करोडको भवन, ४ करोडका उपकरण नेपाल सरकारलाई हस्तान्तरण गरिएको पनि बताए । साथै नेपाल सरकार, तत्कालिन पोखरा उपमहानगरपालिकाबाट उपलब्ध आर्थिक सहयोग लगायतबारे पनि थापाले पत्रकारलाई जनाएका थिए । उनको हस्ताक्षरमा जारी प्रेस विज्ञप्तिमा अस्पताल नेपाल सरकार, पोखरा उपमहानगरपालिका कार्यालय संरक्षक, जापानको कोमागाने नगर सह–संरक्षक र स्थानीय जनस्तरबाट महायज्ञमार्फत संकलित रकमका आधारमा स्थापना भएको जनाइएको थियो ।
तर, महायज्ञमा के कति रकम उठ्यो र केकेमा खर्च भयो भन्ने यकिन विवरण भने थिएन । साविक बाटुलेचौर हेल्थपोष्ट रहेको स्थानमा पोखरा–कोमागाने सम्बन्धको दशौं वर्षगाँठको अवसरमा मातृशिशु मितेरी अस्पताल (पोखरा–कोमागाने) को निर्माणार्थ भन्दै २०६६ साल फागुन ३ देखि १० गतेसम्म श्रीमद् भागवत बिराट ज्ञान महायज्ञ गरिएको थियो । त्यतिबेला स्थानीय दाताले चन्दा सहयोग गरेका थिए । अस्पतालको मुल भवनको अगाडि मार्वलमा पनि ७५५ जना चन्दादाताहरुको नामावली लेखेर टाँसिएको छ । केही खर्च कटाएर डेढ करोड रुपैयाँ बचेको थियो ।तर, महायज्ञ भएको यति लामो समयसम्म पनि उक्त रकम भने अस्पतालमा आएको छैन । अझ महायज्ञको तत्कालै अडिट पनि भएको थिएन । एकैचोटी २०७७ मा अडिट भएको अस्पताल विकास समितिका पूर्वअध्यक्ष धर्मराज थापाले बताए । थापाका अनुसार महायज्ञमा उठेको रकम मातृशिशु मितेरी अस्पताल सहयोग समुह गठन गरेर बैंकमा राखिएको छ । ‘अहिलेसम्म ब्याजसहित पौने दुई करोड जति रकम होला,’ थापाले भने, ‘उक्त पैसा अस्पतालको खातामा आएको छैन । केही पैसा खर्च पनि भएको होला तर अस्पतालको आवश्यकतामा नभई केही व्यक्तिको इच्छा र चाहनामा खर्च भएको छ ।’ अस्पताल सरकारलाई हस्तान्तरण भएसंगै अस्पतालको सबै चलअचल सम्पत्ति र जनशक्ति पनि हस्तान्तरण हुनुपर्नेमा महायज्ञमा उठेको रकम भने हस्तान्तरण नभएको उनले बताए । अस्पताललाई सहयोग गर्न खोलिएको नागरिक सहयोग समूह तत्कालीन उपमहानगरपालिकामा दर्ता थियो । तर त्यसबाट हुने कामकारवाहीबारे बैधता उठेपछि कास्की जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको थापाको भनाइ छ । ‘अस्पतालका लागि भनेर उठेको रकम अस्पताललाई नै दिनुपथ्र्यो,’ पूर्वअध्यक्ष थापाले भने, ‘कुनै पनि संस्था कोल्याप्स भएपछि त्यसको सबै सम्पत्ति सरकारको हुन्छ । तर यहाँ भने त्यस्तो भएन ।’

उषा बरुवाल अध्यक्ष भएको बेला २०७८ साल असार २१ गते अस्पताल बिकास समितिको बैठकले फेरी अर्को नागरिक सहयोग समिति गठन गर्ने निर्णय गरेको थियो । ‘गरिव, असहाय र आपतविपतमा परेकाको लागि सहयोगका लागि यस मातृशिशु मितेरी अस्पतालको नाममा संचालन समिति (नागरिक सहयोग समिति) गठन गर्ने निर्णयमा छ । गठित समितिको अध्यक्ष डा.वर्षा कुँवर संयोजक, अस्पतालको इमर्जे्रन्सी इन्चार्ज सदस्य, डिक्की छिरिङ थापा, सबिना खड्का र महिला स्वास्थ्य स्वयंसेवीका सुशिला थापा सदस्य तोकिएको थियो ।

साथै समितिको संयोजक डा. वर्षा कुँवर, सदस्य डिक्की छिरिङ थापा र सविना खड्काको संयुक्त दस्तखतबाट संचालन हुनेगरी प्रभु बैंक पोखरामा खाता खोल्ने र तीनजनाको हस्ताक्षर चल्ने उक्त बैंक खातामा सोही प्रभु बैंकमा रहेको खाता नम्बर ०१३०१२७२१६५०००११ मा संचित कोषमा भएको रकम मध्ये १० लाख रुपैयाँ माथि खोलिने (नागरिक सहयोग समिति) बैंक खातामा ट्रान्सफर गर्ने निर्णयसमेत उक्त दिन गरिएको थियो । उक्त १० लाख रुपैयाँ पनि महायज्ञमै उठेको रकम हो । खातामा हस्ताक्षर चल्ने भनिएकी डिक्की छिरिङ थापा अस्पतालका संस्थापक अध्यक्ष कृष्ण थापाकी श्रीमती हुन् । कृष्ण थापा एमाले कास्कीका नेता, पोखरा उपमहानगरपालिकाका पूर्व मेयर र पूर्व प्रदेश सांसद हुन् । ‘नागरिक सहयोग समितिको उद्देश्य राम्रो भए पनि पारदर्शी छैन,’पूर्वअध्यक्ष धर्मराज थापाले भने, ‘संयुक्त बैठक भएको पनि हो, २०८० साल मंसिर ५ गते मेरो अध्यक्षतामा बसेको बैठकले सहयोग समितिको नामको रकम अस्पतालको खातामा ल्याउने निर्णय पनि गरिएको हो । तर, कार्यान्वयन हुन सकेन ।’

अस्पताल सहयोग समुहको संयोजक डा.छममाया पुनले भने महायज्ञबाट उठेको रकम आफुहरुले अहिलेसम्म संरक्षण गरेको दावी गरिन् । ‘अस्पताल मात्र हस्तान्तरण भयो रकम हुन सकेन,’ संयोजक पुनले भनिन्, ‘कर्मचारीहरुले हुने नहुने शिर्षकमा खर्च गर्ने प्रवृत्ति देखिएकाले रकम संरक्षण गरेर राखिएको हो ।’ छुट्टै खातामा रहेको १० लाख रुपैयाँ महायज्ञकै रहेको आफूले सुनेको तर आधिकारिक रुपमा थाहा भने नभएको उनले बताइन् । छिटै समुहको साधारण सभा बसेर चन्दादाताले जे भन्छन सोही अनुसार उक्त रकम उपयोगमा ल्याउने उनको भनाई छ । समुहका सचिव मोहन सुनारले अस्पताल, बिरामी र आपत विपतमा परेकालाई सहयोग गर्ने उद्देश्यसाथ समुह गठन भएको बताए । साथै उक्त रकम अस्पताललाई दिन्छाँै, चन्दादाताको स्तम्भ बनाउँछौ, विशेषज्ञ चिकित्सकको तलबमा खर्च गर्रौं भन्दा नमानेको दावी उनको थियो । उनले् अस्पताललाई एउटा कोठा उपलब्ध गराइदिन भने पनि नमानेको बताए । ‘विधिवत दर्ता भएको संस्थासंग उक्त रकम छ, बैंकमा फिक्स डिपोजिटमा छ,’सुनारले भने, ‘अस्पतालले सही सदुपयोग हुने प्रत्याभूति गरेमा तत्कालै रकम हस्तान्तरण गरिन्छ । तर, अस्पतालले किन लिन सकेन उतै बुझ्नुस् ।’

अस्पतालका तत्कालिन मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) प्रेमराज पंगेनीले अस्पतालकै लागि भनेर उठाइएको रकम अस्पतालको दायराभित्र आउनु पर्नेमा नआएको भन्दै थप बोल्न मानेनन् । अस्पतालका मेसु डा. धर्मदेव ढकालले नागरिक सहयोग समुहले एउटा निर्णय र योजनासाथ आएमा राम्रो हुने बताउँछन । ‘अस्पताललाई नै कोठा अपुग छ । अरु संस्थालाई कसरी उपलब्ध गराउन सकिन्छ, ?,’ उनले भने, ‘सामाजिक काम गर्न अस्पताल बाहिर बसेर पनि सकिन्छ ।’ उनले रकम आफुको मात्र निर्णयले ल्याउन र खर्च गर्ने कुरा नभई सर्वप्रथम समुहले अस्पताल बिकास समितिलाई निर्णयसहित जानकारी गराई कसरी उपयोगमा ल्याउने भन्ने विषयमा छलफल गर्नुपर्ने बताए। । त्यसअघि उक्त रकमको लेखा र सामाजिक परीक्षण हुनुपर्ने उनको भनाइ छ ।

अस्पताल बिकास समितिका अध्यक्ष एव. जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले आफु भर्खरमात्र अध्यक्ष भएकाले सबै कुरा बुझिनसकेको भन्दै अब के रहेछ भनेर बुझ्ने भनेर पन्छिए ।

तत्कालीन पोखरा उपमहानगरपालिका र जापानको कोमागाने नगरबीच २०५८ वैशा १ मा भगिनी सम्बन्ध कायम भएपश्चात् दुई सहरको सम्बन्धलाई अझ प्रगाढ साथै चीरस्थायी बनाउने मनसया बमोजिम एउटा स्वास्थ्य संस्था स्थापना गर्ने उद्देश्य राखिएको थियो । सोही उद्देश्य अनुसार भगिनी सम्बन्धको दशौं वर्षगठाको अवसरमा मातृशिशु मितेरी अस्पताल (पोखरा–कोमागाने) स्थापना भइ २०६९ कात्तिक २३ देखि सेवा सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->