पर्वत/बिरामीको मुटुको चालको बारेमा थप गहन र सहज अध्ययनका लागि प्रदेश अस्पताल पर्वतमा नयाँ र आधुनिक उपकरण जडान गरिएको छ ।
अस्पताललाई व्यवस्थित र आधुनिकीकरण गर्ने लक्ष्य अनुसार गण्डकी प्रदेश सरकारबाट प्राप्त भएको ३५ लाख रुपैयाँ बजेटमध्येबाट २४ लाखको लागतमा उक्त ‘मसिन’ जडान गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाले बताए । मुटुको भिडियो एक्स–रे का लागि प्रयोग हुने यो नयाँ उपकरणमा मुटुको विस्तृत अध्ययनको लागि चार ओटा फरक फरक प्रकारका ‘प्रोव’हरू रहेकोले उपचारमा सहज हुने उनको भनाइ छ ।
अस्पतालमा हालसम्म रहेको उपकरणमा दुई ओटा ‘प्रोव’हरू मात्रै रहेको ‘मसिन’बाट उपचार गर्दाको तुलनामा चार ओटा ‘प्रोव’हरू रहेको आधुनिक उपकरणबाट मुटुको अवस्थाको बारेमा हेर्दा छिटो र स्पष्ट नतिजा आउने डा. बास्तोलाले बताए । ‘यी प्रोवहरुबाट विभिन्न कोण र तरिकाबाट मुटुको संरचना तथा कार्यको जाँच गर्न सकिन्छ । विशेषतः मुटुको जाँचको लागि प्रयोग हुने यो उपकरणमार्फत साना ठाउँबाट पनि गहिरो दृश्य र स्पष्ट चित्र देख्न सकिन्छ’, उनले भने, ‘यो उपकारणबाट रक्त नली थाइराइड लगायतको दृश्य उच्च रिजोलुसनमा देख्न सकिन्छ । यसमा रहेको कन्भेक्स प्रोवबाट प्रसूति प्रणालीको जाँच पनि हुन्छ ।’
आधुनिक उपकरण जडानले पहिलेको तुलनामा धेरै बिरामीहरूलाई सेवा दिन नसकिने भए पनि जतिलाई दिइन्छ त्यो प्रभावकारी र छिटो हुने छ । अहिलेको उपकरणबाट सफा र स्पष्ट दृश्य देखिँदा यस अगाडि रहेको दुई ओटा ‘प्रोव’ सहितको मसिनको तुलनामा छिटो र सहज अध्ययन हुने भएकोले विगतको तुलनामा केही बढीलाई सेवा दिन सकिने अनुमान छ । यस अगाडि रहेको उपकरण ‘पोर्टेबल’ भए पनि अहिले जडान गरिएको उपकरण गुणस्तरयुक्त र गह्रौँ रहेकोले एक ठाउँबाट अर्को ठाउँमा सहजै लैजान सकिने अवस्था हुँदैन । अस्पतालमा मुटुको चालसम्बन्धी बढी अध्ययन शल्यक्रिया कक्षमा हुने भएकोले यो उपकरणलाई सोही कक्षमा जडान गरिएको छ ।
बुधवार गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले नयाँ उपकरणबाट सेवा प्रारम्भ गरेका छन् । सो अवसरमा बोल्दै उनले प्रदेशका अस्पतालहरूलाई आत्मनिर्भर बनाउनको लागि प्रदेश सरकारले स्तरोन्नतिको काम गरिरहेको बताए । अस्पतालमा सुविधा थपिएसँगै सेवाग्राही बढ्ने र त्यसले प्रदेशका अस्पतालहरूको आम्दानीमा पनि वृद्धि गर्ने उनको भनाइ छ । अहिले प्रदेशका अस्पतालहरूमा तीन सय ९५ स्वीकृत शय्या रहेको भए पनि आठ सय दुई शय्या सञ्चालनमा रहेको भन्दै उनले अब करिब दुई हजार आठ सय शय्या सञ्चालन गर्न सक्ने अवस्था रहेको जानकारी गराए ।
जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएकाले स्वास्थ्य बिमालाई थप व्यवस्थित गर्नुपर्ने अवस्था रहेको मन्त्री पाठकको भनाइ छ । आफू मन्त्री भइसकेपछि कुराले भन्दा पनि कामले गरेर देखाउनुपर्छ भन्ने मान्यता राखेर नै काम गरिरहेको उनले दाबी गरे । स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्नेदेखि उनीहरूलाई प्रोत्साहन दिएर प्रभावकारी सेवा प्रदान गर्नका लागि प्रदेश सरकारले काम गर्ने मन्त्री पाठकको भनाइ छ ।
सोही अवसर पारेर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले प्रदेश अस्पताल पर्वतलाई अनुसन्धान केन्द्रको रूपमा स्थापना गर्नको लागि मन्त्री पाठकमार्फत पहल थालेका छन् । भौगोलिक हिसाबले पनि मुस्ताङ, म्याग्दी र बागलुङका बिरामीहरू कुश्मा हुँदै पोखरा जाने र पोखरा र मुस्ताङदेखिको मध्य भागमा कुश्मा पर्ने भएकोले पर्वतलाई अनुसन्धान गर्ने अस्पतालका रूपमा विकास गर्नुपर्ने उनको धारणा छ । गण्डकी प्रदेशका अस्पतालहरूको न्यूनतम सेवा मापदण्डको मापनमा ९१ प्रतिशत अङ्क प्राप्त गरी प्रदेशमा नै पहिलो स्थानमा आउनका लागि अस्पतालले गरेको प्रयासबारेमा पनि अध्यक्ष गिरीले जानकारी गराएका छन् ।





