सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पञ्चासेको कुवेरधाममा पर्यटकीय पूर्वाधार बन्दै

पञ्चासेको कुवेरधाममा पर्यटकीय पूर्वाधार बन्दै


  • ढोरपाटन संवाददाता
  • बैशाख ११ २०८२, बिहिबार

बागलुङ/गण्डकी प्रदेशकै चर्चित धार्मिक शक्तिपिठ बागलुङ कालिका भगवती मन्दिरपछि जिल्लाको दोस्रो धार्मिक पर्यटकीय गन्तव्य हो सर्वसिद्धिधाम पञ्चकोट । स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा)को अगुवाईमा पञ्चकोटमा धार्मिक तथा पर्यटकीय संरचना बनेपछि यसको चर्चा देशविदेशसम्म फैलिएको छ । पञ्चकोटको नजिकै भएर पनि गुमनाम जस्तै छ– कुवेरधाम ।

ताराजालकोट, राङराङकोट, माझकोट, कारिकोट र संसारकोट मिलाएर नामाकरण गरिएको सर्वसिद्वीधाम पञ्चकोटमा दैनिकजसोः सयौंको संख्यामा पर्यटकहरु पुग्ने गर्छन् । कालिका मन्दिरको दर्शनपछि पञ्चकोटमा पुग्ने पर्यटकलाई कुवेरधामको यात्रा गराउन बागलुङ नगरपालिकाले त्यहाँ पर्यटकीय पूर्वाधार निर्माणको काममा साथ दिइरहेको छ । सडकमार्गको पहुँच विस्तार भएको कुबेरधाम पञ्चकोटबाट करिब ३ किलोमीटरको दूरीमा पश्चिम–उत्तरतर्फ पर्छ ।

बागलुङ नगरपालिका वडा नं. ६ मालिकाको पञ्चासेस्थित कुवेरधामलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पूर्वाधार निर्माणको कामले गति लिएपछि स्थानीयबासी उत्साहित बनेका छन् । कुवेरले साधना गरेको र धनकुबेर नामाकरण गरी धनसंरक्षणको जिम्मा लगाइएको पञ्चासेमा हिमालयन बाबाको अगुवाइमा पूर्वाधार निर्माणको काम चलिरहेको छ । त्यहाँ कुवेरको ५४ फिट अग्लो मुर्तिसहित अन्य पूर्वाधार निर्माण गरिने स्वामी हिमालयन बाबाले जानकारी दिए ।

धार्मिक महत्व बोके पनि प्रचार प्रसारको अभावमा कुबेरधाम गुमनाम जस्तै छ । कुवेरधाममा कुबेरको मुर्तिसहित अन्य पर्यटकीय पूर्वाधार निर्माण गर्न नगरपालिकाको सहयोगमा विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माण गरिएको छ । गण्डकी प्रदेशको पर्यटन मन्त्रालयबाट प्राप्त १० लाख रुपियाँ बजेटबाट मन्दिरलगायतका संरचना बनाउन थालिएको वडाध्यक्ष हरिप्रसाद शर्माले बताए ।

कुबेरधाममा मुर्ति, सिस महल, जनकल्याण भवन लगायतका धार्मिक संचना निर्माण गर्न ९ करोड ६४ लाखको डिपिआर तयार गरिएको नगर उपप्रमुख राजु खड्काले जानकारी दिए । नगरपालिकाले डीपीआर तयार गर्न ३ लाख खर्चेको हो । ‘पाँच रोपनी जमिनमा कुबेरधामको संरचनाहरु बन्ने छन्,’ उपप्रमुख खड्काले भने,‘सर्वसिद्धिधाम पञ्चकोट आउने धार्मिक पर्यटकलाई कुबेरधाममा आर्कषित गर्न सके मात्रै यसको धार्मिक महत्व र गरिमा झनै बढेर जान्छ ।’

कुवेरधामको केही तल रहेको मालिका भगवती मन्दिरमा पनि अहिले पुननिर्माणको काम चलिरहेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ५४ लाख बजेटबाट पुनर्निर्माण थालिएको हो । दिव्य शिलालाई घेरेर ढुंगा र काठबाट कलात्मक रुपमा प्यागोडा शैलीमा मन्दिर पुनर्निर्माण भइरहेको मालिका भगवती मन्दिर व्यवस्थापन समितिका महासचिव खिम सापकोटा बताउँछन् । मन्दिर परिसरमा सत्तल र खेलमैदान लगायत पूर्वाधार निर्माण गर्ने समितिको योजना छ ।

धार्मिक पर्यटनमा नयाँ संभावना बोकेका कुबेरधामलाई पञ्चकोट, मालिका भगवती मन्दिर र संसारकोटसंग जोडेर धार्मिक सर्किटको विकास गर्ने नगरपालिकाको योजना रहेको नगर उपप्रमुख खड्काले बताए । धार्मिक पर्यटनको क्षेत्रमा थोरै लगानी गरेर धेरै फाइदा लिन सकिने उनको भनाइ छ । ‘घनाजंगलको चिसो वातावरणमा अवस्थित कुबेरधामबाट धौलागिरि र अन्नपूर्ण लगायतका हिमश्रृंखला अवलोकन गर्न सकिन्छ,’ खड्काले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->