सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङ नगरको चालु र पुजिगत खर्च ४६ प्रतिशत

बागलुङ नगरको चालु र पुजिगत खर्च ४६ प्रतिशत

विविध र इन्धन खर्च बढी


  • ढोरपाटन संवाददाता
  • बैशाख ११ २०८२, बिहिबार

बागलुङ/बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा चालु र पूजिगत दुवैतर्फ ४६ प्रतिशत रकम खर्च गरेको छ । विनियोजन भएको ८५ करोड ७४ लाख चालु बजेटमा ३९ करोड ७६ लाख र पूजिगततर्फ ७७ करोड ९६ लाखमध्ये ३६ करोड ६२ लाख खर्चेको हो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले दिएको जानकारी अनुसार, चालु वर्षको चैत मसान्तसम्म शतप्रतिशत खर्च भएको नगरविकास कोषको ऋण मात्र हो । कोषबाट लिएको विभिन्न ऋणको साँवा व्याज गरी नगरपालिकाले ८७ लाख रुपैयाँ तिरेको छ । यो शतप्रतिशत प्रगती भएको हो । यो अवधिमा विविध खर्च शतप्रतिशत नजिक छ भने इन्धन खर्च पनि चैत मसान्तभित्रै अधिकतम खर्चेको छ ।

बैसाख लागिसक्दा पनि अझै ४० प्रतिशत योजना सम्झौता हुनै बाँकी छन् । झण्डै ८ सय योजनामध्ये ६० प्रतिशत सम्झौता भएपनि सम्पन्न भएका दुइ सय हाराहारी मात्रै छन् । पूजिगततर्फ परामर्श खर्चमा विनियोजन भएको १ करोड ८० लाख रुपैयाँमध्ये चैत मसान्तसम्म ६८ लाख ३५ हजार खर्च भएको छ । सडक तथा पुल निर्माण शिर्षकमा ५० करोड ३४ लाख बजेट रहेकोमा चैत मसान्त सम्ममा २७ करोड ८४ लाख अर्थात् ५५ प्रतिशत प्रगती देखिएको छ । यो सबै वडा र नगरस्तरीय योजनाको संयुक्त बजेट हो ।

खानेपानी संरचना निर्माणतर्फ १७ प्रतिशत मात्रै प्रगती गरेको नगरपालिकाले ६१ लाख बजेटमा १० लाख मात्रै खर्चेको हो । अन्य सार्वजनिक निर्माण शिर्षकमा पनि २० करोडमध्ये ६ करोड मात्रै खर्च भएको छ । निर्मित भवनको संरचनात्मक सुधार शिर्षकमा भने १ लाख बजेट राखेकोमा ९९ हजार खर्चेर ९९ प्रतिशत प्रगती गरेको छ ।

नगरपालिकाले अगाडि सारेका महत्वपूर्ण योजना भने शुरु गर्न नै सकेको छैन । कुकुर होस्टेल निर्माणको काम अगाडि बढ्नै नसकेको हो । जग्गा छनौट गरेपनि ठेक्का लागेर काम सकिनुपर्ने बेलामा अझै शुरुवात नभएको हो । त्यस्तै बसपार्क उद्घाटन भएको एक वर्ष बितिसक्दा पनि संचालन र व्यवस्थापनमा नगरले काम गर्न सकेको छैन । अझै पनि चिप्लेटी बसपार्क नै संचालनमा आइरहेको छ । चिप्लेटीमा बहुउद्देश्यीय कार्यक्रम संचालन गर्ने नगरको घोषणा पनि कार्यान्वयनमा नआएको हो ।

पुजिगततर्फ पनि केही महत्वपूर्ण शिर्षकमा काम गर्न नसकेको देखिएको छ । कर्मचारीको योगदानमा आधारित बीमा कोष खर्च अहिलेसम्म शुन्य प्रगती छ । यो कोषका लागि नगरपालिकाले २ लाख ४० हजार विनियोजन गरेको थियो । कल्याण कोषको लागि विनियोजन गरेको ७५ लाख पनि खर्च नभएको हो । पदाधिकारीको इन्धनतर्फ भने ७४ प्रतिशत र कार्यालय प्रयोजनको इन्धनमा ७९ प्रतिशत खर्च भएको छ । मसलन्दमा ७७ प्रतिशत खर्च देखाएकोमा अन्य प्रयोजन इन्धन शिर्षकमा राखेको २ लाख खर्च भएको छैन ।

कर्मचारीको तालिम तथा क्षमता विकासमा ११ प्रतिशत मात्रै खर्च गरेको छ भने तालिम तथा गोष्ठी र सीप विकास कार्यक्रममा शुन्य प्रगती छ । अत्यावस्यक मानिने औषधी खरिदमा ८ प्रतिशत प्रगती गरेको नगरले कार्यालयको विविध खर्च भने ९७ प्रतिशत छ । यो शिर्षकमा १९ लाख २४ हजार विनियोजन भएकोमा चैत मसान्तभित्रै १८ लाख ७० हजार रुपैयाँ खर्च भैसकेको हो ।

आयतर्फ सम्पत्ति कर उठाउने काममा ५२ प्रतिशत मालपोत कर २४ प्रतिशत र बहालकर ४८ प्रतिशत उठाएको छ । सेवा शुल्कमा भने नगरपालिकाले १ सय ११ प्रतिशत प्रगती गरेको छ । सडकमा जथाभावी पार्किङ कम गर्न पनि नगर सफल भएको छ । नगरकै रेकर्ड अनुसार पार्किङ शुल्कमा १ सय ८० प्रतिशत प्रगती गरेको हो । ६ लाख १० हजार संकलन गर्न लक्ष्य पुरा गरेर नगरपालिकाले चैत मसान्तभित्रै ११ लाख रुपैयाँ संकलन गरेको हो ।

पछिल्लो समय नक्सापास गरेर घर बनाउने क्रम पनि बढेको छ । ४५ लाख वर्षभरीमा राजश्व संकलन गर्ने लक्ष्य चैतमा पुरा भएको छ । हालसम्म १ सय ६ प्रतिशत प्रगती गरेर नक्सापासबाट ४७ लाख कमाइ भएको हो । व्यक्तिगत घटना तर्फको नाता प्रमाणितमा पनि नगरपालिकाले १ सय ५८ प्रतिशत प्रगती गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->