शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आफ्नै अस्पतालबाट नागरिकलाई सेवा दिने निसीखोला गाउँपालिकाको सपना

आफ्नै अस्पतालबाट नागरिकलाई सेवा दिने निसीखोला गाउँपालिकाको सपना


  • ढोरपाटन संवाददाता
  • बैशाख १२ २०८२, शुक्रबार
?

बागलुङ/दशकअघि निसीखोला गाउँपालिका निर्जन, एकान्त र सडक संजालबाट धेरै टाढा थियो । यातायातको अभावमा स्थानीयले दिनभर पैदलै हिंडेर बुर्तिवाङ झर्थे । सामानहरु किनेर पिठ्युँमा बोक्नुपर्ने सास्ती थियो । खानेकुरा, तेल, नुन र अत्यावस्यक सामाग्री बोकेरै फर्कने बाध्यता थियो । अहिले त यहाँ सडक संजाल पुगेको छ ।

मध्यपहाडी लोकमार्गले निसीखोलाको अधिकांस वडालाई चिर्दै अगाडि बढ्दा दुरीले सदरमुकामभन्दा धेरै टाढा भएर पनि सहज बनेको छ । वडा नं. ४ को झिँवाखोला र झिप्पा त बजार बनिसकेको छ । यहाँ बजार बिस्तार हुने क्रममा छ । ग्रामीण क्षेत्रमा बसेकाहरु बेसी झर्दैछन् । खोला छेवैमा भएकोले खानेपानीको पनि व्यवस्थापन भैरहेकै छ ।

आर्थिक रुपमा पनि पछिल्लो समय यहाँ धेरै समृद्दिका लहर शुरु भएका छन् । बजार क्षेत्रमा सहकारी, बैंक लगायतका शाखा खुल्दा नागरिकलाई बित्तीय पहुँच बढेको छ । विद्यालय जाने बालबालिकाले धेरै हिंड्न पर्दैन । खोला छेवैमा भएकोले उत्पादन पनि राम्रो छ । पछिल्लो समय एक घर एक धारा अभियान चलेको छ यहाँ । यो अभियानले सरसफाइको अवस्थामा सुधार ल्याएको छ । दशक अघि यहाँको समस्याहरु विस्तारै समाधानतर्फ गैरहेका छन् ।

तर, निसीखोलाकै गौरव मानिने नगर अस्पताल भने समयमा बन्न नसक्दा स्थानीयले छुट्टै सास्ती खेप्न बाध्य छन् । गाउँपालिकाको संरचना बनेर संचालनमा आएको ८ वर्ष पुग्यो । निसीखोलाको मुख्य सपना आफ्नै पालिकास्तरीय अस्पताल बनाउने हो । मध्यपहाडी लोकमार्गले वडा नंं. २ देखि ६ सम्म चिरेकोले यातायातामा समस्या छैन । तर बिरामी पर्दा उपचार गर्ने अस्पताल भने बनाउन बजेट अभाव भएको छ । निर्माणाधिन पालिकास्तरीय अस्पताल बजेट अभावमा अलपत्र छ । वडा नं. ४ मा निर्माणाधिन अस्पतालको काम भैसकेको भुक्तानी दिन पनि नसकिएको हो । संघिय सरकारले आवस्यक रकम विनियोजन नगर्दा गाउँपालिकाले काम भैसकेको खण्डको पनि भुक्तानी दिन नपाएको हो ।

अस्पताल बनाउन स्थानीयले जग्गा उपलब्ध गराएपछि झण्डै पाँच वर्ष अघिनै भवनको लागि ठेक्का लगाइएको थियो । १० करोड ९९ लाख रुपैयाँको लागतमा निर्माणाधिन भवन गत वर्षको पौष मसान्तमा सकिनुपर्नेमा भुक्तानी नपाएपछि ठेकेदारले काम छाडेका हुन् । अहिले त म्याद सकिएको पनि डेढ वर्ष भैसक्यो । ठेकेदारले काम नसक्दा अत्यावस्यक सेवाको रुपमा चिनिने अस्पतालमा सेवा संचालन हुन सकेको छैन भन्छन् वडा नं. ४ का अध्यक्ष टिकानिधी पौडेल ।

१० शैयाको यो नगर अस्पताल निर्माण सम्पन्न भएमा निसीखोलाका झण्डै २५ हजार जनसंख्याले सेवा पाउने छन् । मध्यपहाडी लोकमार्गमा हुने अन्य दुर्घटनाका घाइतेको उपचारमा समेत सहज हुने अवस्था छ । झट्ट हेर्दा आर्कषक र ठूलो घर ठडिइसकेको छ । तर काम गरेकै भुक्तानी दिन नसक्दा ठेकेदारले काम छाडेका छन् । वडा नं. ४ को मात्र नभइ गाउँपालिकाकै गौरवको आयोजना अहिले अलपत्र भएको छ । नगर अस्पताल नबन्दा आम नागरिकले स्वास्थ्य सेवाका लागि बुर्तिवाङ र पाल्पासम्म जान बाध्य भएका छन् ।

गत वर्ष नै निर्माण सकिने आसमा गाउँपालिकाले २० लाख खर्चेर खोला छेउमा पक्की पर्खाल समेत बनाइसकेको छ । अझै थप तटबन्धनको आवस्यकता छ । भौगोलिक रुपमा पालिकाको मध्य भागमा परेको र मध्यपहाडी लोकमार्गबाट नजिक भएकोले यो अस्पताल संचालन हुनासाथ धेरै नागरिकले सेवा पाउने छन् । विशेषगरी संघिय सरकारले बजेट विनियोजन नगरेकै कारण अस्पताल अलपत्र परेको हो । हिमदुङ एसी आइएस संयुक्त निर्माण कम्पनीले यो भवन बनाउने ठेक्का लिएको हो । गाउँपालिकाले ९ रोपनी जग्गा उपलब्ध गराएपछि संघिय सरकारले भवन निर्माणका लागि बजेट निकासा गरेको थियो । तर ठेकेदारले अघिल्लो वर्ष गरेको कामकै डेढ करोड बढी भुक्तानी पाउन बाँकी छ ।

निसीखोलाको ७ वटा वडामध्ये ३ वटामात्रै स्वास्थ्य चौकी छन् । अन्यत्र स्वास्थ्य सेवा समेत नपुगेकोले नगर अस्पताल बनेपछि सबैलाई सहज हुने भएकोले अस्पताललाई गौरवको योजनाको रुपमा समेत लिएको अध्यक्ष पौडेल बताउँछन् । वडा नं. ४ को थापा गाउँमा मात्रै सामुदायिक स्वास्थ्य इकाई छ । तर कानाबगर, झिम्पा, ओख्रेनी लगायतका बस्तीका बासिन्दाले उपचार सेवा पाउन धेरै दुःख भोगिरहेका छन् । कम्तिमा एक विशेषज्ञ डाक्टरसहित आधारभूत उपचार र सुत्केरी सेवाको अपरेशन समेत गराउन सक्ने गरी अस्पताल संचालनमा ल्याउने लक्ष राखेको छ । ‘दक्ष चिकित्सक राख्न सकेमा हामीले अपरेशन सहितको सेवा दिन सकिन्थ्यो’ स्वास्थ्य शाखाकी प्रमुख जुनी घर्तीले भनिन्, ‘भूगोल र जनसंख्याको कारण पनि यहाँ अस्पताल आवस्यक छ ।’ अस्पताल भवनको पहुँच मार्गका लागि लोकमार्गदेखि निसीखोलामा अस्थायी भएपनि पुल बनाउने लक्ष्य राखेको छ । २३ मीटर लामो ट्रस्टब्रिजको नक्सांकन गरेर प्रदेश सरकारमा रकमका लागि पठाइएको हो । भवन बनिसक्दा ट्रस्ट पुल पनि बनाएर संचालनमा ल्याउने लक्ष छ ।

वडा नं. ४ को अधिकांस भूगोल उत्पादनमुलक छ । थापागाउँमा किवीखेती, मकै, कोदो राम्रो उत्पादन हुन्छ भने सिंचाइ भैदिए ओख्रेनी, बडाचौर, खाडीचौर जस्ता स्थानमा धेरै उत्पादन लिन सकिन्छ । सिँचाइका लागि पनि वडा र पालिकाले पहल गरेको छ । ‘वडाको सानो बजेटले पूर्वाधारको काम गर्न सकिंदैन, त्यसैले संघ र प्रदेशको बजेटको खोजीमा छौ’ पौडेल भन्छन्, ‘अघिल्लो वर्षदेखि प्रदेशबाट आएको २० लाखको दरले सिंचाइ कुलोको काम थालिएको छ ।’ प्रदेश सांसद द्रोण कुँवरमार्फत आएको बजेटले केही पुर्वाधार बन्दै गरेपनि पर्याप्त नभएको उनले बताए ।

वडा नं. ४ मा एक मावि, एक आधारभूत विद्यालय र ४ वटा प्राथमिक विद्यालय छन् । ती सबैमा गुणस्तरीय शिक्षा दिने लक्ष्य वडाले राखेको छ । तर राहत शिक्षक कोटाको भरमा विद्यालय चल्नुपर्दा गुणस्तर विकासमा समस्या भएको उनले बताए । तर पनि गुणस्तरीय शिक्षा दिने, अनिवार्य शिक्षा र विद्यालय भर्नालाई प्रभावकारी बनाउने, विद्यालय छाड्ने दर शुन्य बनाउने जस्ता अभियानमा निरन्तर पहलकदमी भएको छ । दशक अघिको तुलनामा बोहोरागाउँ, झिँवाखोला, झिम्पा लगायतका स्थनमा आमुल परिवर्तन भएको छ । निजी विद्यालयले पनि यहाँबाट बसाइ सराइ रोक्न साथ दिएको देखिन्छ ।

पर्यटन प्रवद्र्धन गर्न सकिने अपार संभावना भएर पनि वडाले प्रगती गर्न सकेको छैन । लोकमार्ग कालोपत्रे भैसकेकोले नजिकका स्थानमा पर्यटनका गतिविधि संचालन गर्न पनि सकिन्छ । यहाँको बराह मन्दिरलाई व्यवस्थापन गर्न सकेमा धार्मिक पर्यटक लैजान सकिन्छ ।
बोहोरागाउँबाट एकातर्फ प्युठानको स्वर्गद्वारी छ भने अर्कोतर्फ ढोरपाटन छ । दुवैतर्फ सके स्तरीय सडकले जोड्ने, नसके केवलकारमार्फत जाने व्यवस्थापन गर्ने हो भने पर्यटकीय दृष्टीले महत्वपूर्ण गन्तव्य बनाउन सकिन्छ । अर्थात् लोकमार्गमा गाडी चढेर आएकाहरु छिट्टै ती दुवै स्थानमा पुग्न सक्छन् । पर्यटकीय रुपमा ढोरपाटन आर्कषक छ भने धार्मिक पर्यटकका लागि स्वर्गद्वारी महत्वको छ । त्यसका लागि हामीले सानो प्रयासले पुग्दैन । तर आम व्यवसायीलाई एकजुट बनाउने, राज्यले पनि महत्पुर्ण गन्तव्यहरुको प्रवद्र्दन गर्ने काममा चासो राख्दा भोलीका दिनमा ती स्थानहरु आर्कषक गन्तव्य बन्ने देखिन्छ ।

लोकमार्गदेखि सबै बस्तीमा रेलिङ सहितको पदमार्ग बनाउने वडाको योजना छ । स्थानीय बासिन्दाले पनि माथिल्लो र ग्रामीण बस्तीमा सडक नै चाहिन्छ नभनेकोले पदमार्ग नै बनाउने लक्ष्य छ । केही बस्तीमा बनेका पदमार्गले स्थानीय लाभान्वित बनेका छन् । होली, तीज र नयाँ वर्षमा बढी मेला महोत्सव यहाँ हुने गरेको छ । त्यतिबेला धेरै पर्यटक पनि आइपुग्छन् । ती मेला लक्षित गरेर पर्यटन प्रवद्र्दन गर्दा सक्दा होटल व्यवसायले पनि राम्रो उन्नती गर्न सक्ने देखिन्छ ।

सपना आर्कषक छन्, बजेट मात्रै नभेटेको हो
टिकानीधि पौडेल,
वडा अध्यक्ष
वडा नं. ४, निसीखोला गाउँपालिका

हामीले वडाबाट धेरै विकासको लक्ष्य राख्न सक्दैनौं । वडामा धेरै बजेट पनि छैन । तर सपना आर्कषक देख्न सकेमा लगानी कतै न कतैबाट ल्याउन सकिएला भन्ने लागेको छ । त्यसका लागि संघ र प्रदेशमा धेरै नै पहल भैरहेका छन् । बिशेषगरी गुणस्तरीय शिक्षा, पर्यटन प्रवद्र्धन, सबै नागरिकलाई शुद्द खानेपानी दिने, सिंचाइमार्फत नियमित कृषि बाली र तरकारी खेती बिस्तार गर्ने योजनामा सक्रिय छौं ।

मध्यपहाडी लोकमार्ग बनिसकेकोले बैकल्पिक सडकमा लगानी बढाउन सकेमा वडा नं. ४ को अधिकांस भूगोलमा विकासको लहर लैजान सकिने संभावना छ । हाल सडकको ट्रयाक खुलिसकेको पनि छ । यो सडकबाट स्थानीयले कृषि उत्पादन बढाएर बजारीकरण गर्न पनि सक्नेछन् । विभिन्न दाता संस्थामार्फत शुद्द पानी उपलब्ध गराउने काममा लागेका छौं, तर सिंचाइ जस्ता योजना ल्याउन हामीलाई धौधौ परेको छ । त्यसका लागि संघीय सांसदले नै पहल गरिदिनुपर्छ । कैयौं योजनाहरु निर्माणाधिन भएर पन िबजेट अभावमा अलपत्र छन् । ती बिषयमा सम्बोधन हुन नसकेको प्रस्टै छ । हामीसँग योजना धेरै छन्, तर ती योजना कता लगेर संचालन गर्न सकिन्छ भन्नेमा अन्यौल छौं ।

दैनिक कार्यप्रशासनले गर्दा वडा अध्यक्षको रुपमा ठूला काम गर्न सकिंदैन । माथिल्लो तहमा भने नियमित गएर दबाव दिनेको आवस्यकता पर्ने रहेछ । त्यस्तो गर्न नसक्दा हामी विकासमा पछि परेका छौं । झिंवाखोला वडाचौर पदमार्ग बनाएझै सबै बस्तीमा पदमार्ग बनाउन खोजेर पनि बजेट पाइएको छैन । ती पदमार्गले पर्यटकीय प्रवद्र्दनमा पनि सहयोग पुग्ने छ । त्यसका लागि सबैको चासो बढ्ने गरी ध्यानकर्षण गराउन चाहन्छौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->