शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

व्यवसाय, सेवा र सूचना प्रवाहलाई एउटै माध्यमबाट एकीकृत गर्दै अनलाइनसेवा डटकम

व्यवसाय, सेवा र सूचना प्रवाहलाई एउटै माध्यमबाट एकीकृत गर्दै अनलाइनसेवा डटकम


  • ढोरपाटन संवाददाता
  • बैशाख १२ २०८२, शुक्रबार
पोखरा/   व्यवसाय, सेवा र सूचना प्रवाहलाई एकटै माध्यमबाट एकीकृत गर्दै नेपालको पहिलो बहुसेवा सर्च इन्जिन अनलाइन सेवा डटकमले आफ्नो सेवा सुरु गरेको छ ।
अनलाइनसेवा डटकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राम अधिकारीले यसले नेपाललाई डिजिटल युगतर्फ लैजान महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे  । पोखरा घर भई हाल अमेरिका बस्दै आएका अधिकारीले नेपाली सेवा र उत्पादनलाई अनलाइनको माध्यमबाट स्वदेश एवम् विश्व बजारमा पु¥याउनका लागि यो अभियानमा आकर्षित भएको बताए । नेपाल सानो तर डिजिटल सम्भावनाले भरिपूर्ण देश रहेको भन्दै उनले अनलाइनसेवा डटकम त्यही सम्भावनालाई वास्तविकतामा बदल्ने एउटा ढोका भएको पोखरामा आयोजित पत्रकार सम्मेलनमा उल्लेख गरे ।
“सबै सेवा एउटै ठाउँमा—अनलाइनसेवा डटकमको कदम” भन्ने नारासाथ सञ्चालित अनलाइनसेवा डटकम केवल वेबसाइट नभई व्यवसाय, पेशा, सूचना, र सेवाहरूलाई एउटै डिजिटल छातामुनि ल्याउने प्रयास भएको उनले जनाए । “यसमा व्यवसायिक सूचीकरण, पेशागत प्रोफाइल, जागिर सूचना, अफरहरू, कार्यक्रम जानकारी, युट्युब तथा वेबसाइट लिंक, हराएको÷फेला परेको सामग्री, र सरकारी÷गैरसरकारी सेवाको विवरण एकै ठाउँमा सहज रूपमा उपलब्ध छन्”, उनले भने ।  पोखरा र काठमाडौंबाट सेवा विस्तार सुरु गरिएको यस प्लेटफर्म अब छिट्टै देशभरका मुख्य शहरहरूमा फैलिने योजना रहेको र चाँडै नै यसको शाखा अमेरिकामा पनि खुल्ने तयारीमा रहेको उनले जनाए । कम्पनीले विशेषतः डिजिटल मार्केटिङ, इवेन्ट प्रमोशन, टुरिज्म प्रोमोशन, र दक्ष जनशक्तिको प्रोफाइल व्यवस्थापन जस्ता सेवा प्रदान गर्नेछ । नेपालमा उत्पादित वस्तु तथा सेवाहरूलाई अनलाइनमार्फत अमेरिका लगायतका मुलुकमा पु¥याउने आँफूहरूको लक्ष्य रहेको र नेपाल र अमेरिका बीचको व्यापारिक सम्बन्धलाई डिजिटल माध्यमबाट सहज बनाउने प्रयास गरिने उनले बताए ।
कम्पनीले नेपाली युट्युबर, कलाकार, उद्यमी, र डिजिटल सेवाप्रदायकहरूलाई एउटै मञ्चमा ल्याएर उनीहरूको कार्यलाई प्रवद्र्धन गर्ने योजना पनि अघि सारेको छ । आजको प्रतिस्पर्धात्मक डिजिटल संसारमा नेपाली युवाहरूका लागि आफनो सीप प्रदर्शन गर्ने उपयुक्त डिजिटल प्लेटफर्म अत्यावश्यक रहेको र अनलाइनसेवा डटकमले त्यो रिक्ततालाई भरिरहेको उनको भनाई छ । व्यवसायहरूका लागि डिजिटल उपस्थिति अब विलासी विकल्प नभै अनिवार्य आवश्यकता बनिसकेको भन्दै उनले यसै पृष्ठभूमिमा, अनलाइनसेवा डटकम व्यवसाय र सेवाप्रदायकहरूका लागि सस्तो, छिटो, र प्रभावकारी प्रचार गर्ने एक भरपर्दो माध्यमको रूपमा स्थापित भइरहेको दावी गरे । यसले व्यवसायको डिजिटल पहिचान निर्माण गर्नुका साथै, व्यवसायहरूलाई स्थानीयदेखि अन्तर्राष्ट्रिय ग्राहकहरूसम्म पुर्याउने लक्ष्य लिएको उल्लेख गर्दै साना उद्यमी या ठूला कम्पनीहरू, अनलाइनसेवा डटकम सबैका लागि उपयोगी बन्न सक्ने सम्भावना बोकेको धारणा राखे ।
यसका माध्यमबाट व्यवसायहरूले प्रदान गरेका विभिन्न अफरहरूको एकीकृत सूची, कार्यक्रम र इभेन्टहरूको जानकारी, रोजगारीका अवसरहरू, हराएका वा फेला परेका वस्तुहरूको विवरण, सिपयुक्त व्यक्तिहरूको प्रोफाइल, आफ्ना भिडियो र वेबसाइट लिंक सार्वजनिक गर्ने सुविधा समेत पाइने कम्पनिले जनाएको छ ।
त्यस्तै नेपाली भाषामा विभिन्न कार्यक्रम, समाचार र संगीत सुन्न मिल्ने अनलाइन रेडियो सुविधा, अनलाइन फारम भर्ने, प्यान कार्ड दर्ता, ब्लुबुक नवीकरणजस्ता डिजिटल सेवाहरूको सरल र छिटो पहुँच आदि पाइने जनाइएको छ । कम्पनीले भविष्यमा ग्रामीण क्षेत्रसम्म सेवा विस्तार गर्ने, सीपयुक्त जनशक्तिको डाटाबेस निर्माण गर्ने र कृत्रिम बुद्धिमत्ताको प्रयोगमार्फत सेवाको गुणस्तर बढाउने योजना अघि सारेको सिइओ अधिकारीले जनाए । ई–गभर्नेन्स, ई–मार्केट र ई–सेवातर्फ देश अघि बढिरहेको सन्दर्भमा अनलाइनसेवा डटकमले समग्र डिजिटल इकोसिस्टममा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको उनले बताए । डिजिटल बजारमा आफ्नो सेवा वा उत्पादनलाई चिनाउने, नयाँ ग्राहकहरूसम्म पुग्ने, र व्यवसाय विस्तार गर्ने चाहना राख्ने सबैका लागि अनलाइनसेवा डटकम एउटा उपयुक्त प्लेटफर्म बन्न सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->