बागलुङ/जैमिनी नगरपालिकाले टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको सामाजिक सुरक्षा भत्ता तीन चरणमा टोल टोलमै पुगेर वितरण गरिएको हो ।
नगरपालिकाले हरेक नागरिकको सहजताका लागि टोल र वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । वडा र टोलसम्म पुग्न नसक्नेहरुका लागि घरघरमै पुगेर भत्ता वितरण गरिएको जैमिनी नगरपालिकाका पञ्जिकरण शाखा प्रमुख तारा प्रसाद पौडेलले बताए । पालिका मुकाममा रहेका दुईवटा बैंकसँगको सहकार्यमा भत्ता वितरण हुँदै आएको छ । बैंक, नगरपालिका र सुरक्षा निकायका कर्मचारीको संयुक्त समुहले वडा तथा टोल तहसम्मै भत्ता पुर्याएको पौडेलले जानकारी दिए ।
दूरी टाढा भएका कारण र वृद्धवृद्धा भएका ज्येष्ठ नागरिकलाई बैंकसम्म पुग्नुपर्ने बाध्यता र लाइन बस्नुपर्ने सास्ती बढी भएकाले यसको अन्त्यका लागि वडा कार्यालय र टोल टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
“सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बैंक शाखाहरु सँगको छलफलपछि एनएमबि बैंक र ग्लोबल आईएमइ बैंकसँग सम्झौता गरी आवश्यकताका आधारमा टोल टोलमा पुगेर भत्ता वितरण गरेका छौँ” नगर उपप्रमुख हरिहर शर्माले भने, “बैंकका शाखामा पायक पर्ने वडा नं. १, २ र ४ का सेवाग्राहीले भने बैंकबाट नै भत्ता लिनुभएको छ ।”
नगरभरि जेष्ठ नागरिक, अपांगता भएका, बालबालिका लगायत ७ वटा क्षेत्रका ५ हजार ९० जनाले सामाजिक सुरक्षा भत्ता लिएका छन् । त्रैमासिक रुपमा ४ करोड ८० लाख रुपियाँ भत्ता वितरण गर्ने नगरपालिकाले वर्षभरीमा झण्डै २० करोड रुपियाँ भत्ता टोलटोलमै पुर्याउने गरेको छ ।





