पोखरा / नेपाल अडिटर्स एसोसिएसन गण्डकी प्रदेश समितिको अध्यक्षमा ज्ञानबहादुर कार्की निर्वाचित भएका छन् । शनिबार भएको संस्थाको सातौं अधिवेशनबाट कार्की सर्वसम्मतरुपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।
यसैगरी समितिको प्रथम उपाध्यक्षमा पदमबहादुर जिसी, उपाध्यक्षमा हरिलाल सापकोटा र प्रेमबहादुर जिसी, सचिवमा कमलबहादुर रेग्मी, सहसचिवमा सब्बु श्रेष्ठ र कोषाध्यक्षमा शिवहरि शर्मा निर्वाचित भए । सदस्यमा रुद्रकुमार श्रेष्ठ, यामनारायण लामिछाने, बोधराज पौडेल, विज्ञान गौतम र रामप्रसाद पाण्डे चुनिए ।
कार्यक्रममा एसोसिएसनका केन्द्रीय अध्यक्ष केदारनाथ पौडेलले देशमा शान्ति सुव्यवस्था र आर्थिक क्षेत्रमा सुधार गर्न सकेमात्र पेसागत सुरक्षा कायम रहने जनाए । एसोसिएसनका निवर्तमान अध्यक्ष मोहनराज रेग्मीले विधि र विधानको अधिनमा रहेर काम गर्न पाउने वातावरण सिर्जना नहँुदा अडिटरको पेसा नै संकटमा रहेको भन्दै मुलुकमा शान्ति सुव्यवस्था र उद्योग कलकारखाना सञ्चालनका लागि औधोगिक वातावरण बनेमात्र पेसा सुरक्षित हुने बताए ।
अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाका लेखा परिक्षकहरुको उपस्थिति थियो । गण्डकी प्रदेशका अध्यक्ष पदमबन्धु पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा अडान कास्कीका अध्यक्ष गुणनिधि पाण्डेले भावी कार्ययोजना सहित कार्यपत्र पेस गरेका थिए । कार्यक्रममा अडान केन्द्रीय उपाध्यक्ष बिलबहादुर भुजेल, अडान गण्डकी प्रदेशका पूर्वअध्यक्ष केशबहादुर केसी, पूर्व पार्षद माधव पराजुली लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव कमलबहादुर रेग्मीले गरेका थिए । प्रदेशका उपाध्यक्ष ज्ञानबहादुर कार्कीले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा निर्वाचन मण्डलको संयोजन अडानका केन्द्रीय उपाध्यक्ष बिलबहादुर भुजेलले गरेका थिए ।





