मुस्ताङ/ गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले आम नागरिकको स्वास्थ्य सुधारलाई पहिलो प्राथमिकता दिने बताएका छन् । आगामी बर्षको बजेटमा पनि नागरिकको स्वास्थ्यका लागि नै प्राथमिकताका कार्यक्रम ल्याउने बताए ।
साथै उनले खोज पड्तालमार्फत् सर्ने र नसर्ने रोग पत्ता लगाएर नागरिकलाई पूर्ण स्वस्थ्य बनाउने प्रतिबद्दता जनाएका छन् । प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र पोखराको सहयोगमा मुस्ताङको थसाङ गाउँपालिकाद्वारा आयोजित ‘एक्सरेद्वारा छातिरोग सम्बन्धी खोजपड्ताल कार्यक्रम’ शुक्रवार उद्घाटन गर्दै उनले दुर्गम ठाउँका नागरिकको पनि स्वास्थ्यमा सुधार ल्याउन गण्डकी प्रदेश सचेत रहेको बताए ।
उनले हाइ अल्टिच्युट उपचार केन्द्र प्रभावकारी बनाउनेदेखि नागरिकको छाती सम्बन्धी रोग निर्मुल पार्न सचेतना अभियान र उपचारात्मक अभियान सँगै लैजानेसमेत बताए । ‘जहाँ धेरै मानिसको आवतजावत भैरहन्छ ती स्थानमा श्वासप्रश्वासका रोग लाग्ने बढी संभावना हुन्छ, त्यसैले ती स्थानमा खोजपड्तालमा सरकारले चासो दिएको हो,’ उनले भने, ‘कनेक्टीभिटीले व्यवसाय र पर्यटन प्रवद्र्धन बढाएपनि रोगको संक्रमणसमेत बढेको छ ।’ पछिल्लो समय जलवायु परिवर्तनले पनि स्वास्थ्य क्षेत्रमा जटिलता आएको पाठकले बताए ।
प्रदेश सरकार जनताको घरदैलोमा जान चाहेको भन्दै पाठकले हरेक नागरिक स्वस्थ्य भएमा आयआर्जनको काममा पनि संलग्न हुन सक्ने उनले बताए । यो अभियान प्रदेशभर संचालन गरिने उनको धारणा थियो । ‘अहिले नेपालमा जति पनि रोग लागेर नागरिकको मृत्यु भएको छ, त्योमध्ये ७१ प्रतिशत नसर्ने रोगबाट भएको छ,’ मन्त्री पाठकले भने, ‘त्यसैले नागरिकले नसर्ने रोग बारे पनि सचेत रहनुहोला ।’ उनले सर्ने रोगलाई पनि सबैको सचेतना भएमा निर्मूल पार्न सकिने बताए ।
उनले आगामी आर्थिक बर्ष ग्रामीण जनताको स्वास्थ्य सुधार तथा उच्च हिमाली हावापानीमा लाग्ने रोगको उपचारमा पनि बिशेष कार्यक्रम बनाउने बताए । मन्त्रालयले गर्ने सबै काम गर्ने उनको प्रतिवद्धता छ । तर नागरिकले पनि खानपानमा ध्यान दिनुपर्ने, शारीरिक व्यायाममा चासो राख्नुपर्ने र नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने सुझाव दिए । अबको समय क्षयरोग अन्त्यको भन्ने नारा सहित थासाङ गाउँपालिकाले खोजपड्तारको काम पनि गरिरहेको जनाइएको छ ।





