आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

नीति तथा कार्यक्रम प्रगतिशील, व्यावहारिक र जनमुखी भएको एमालेको ठहर

नीति तथा कार्यक्रम प्रगतिशील, व्यावहारिक र जनमुखी भएको एमालेको ठहर

ओलीको निर्देशन - नीति तथा कार्यक्रम सही छ, ढुक्कले समर्थन गर्नुस्


  • ढोरपाटन संवाददाता
  • बैशाख २० २०८२, शनिबार

काठमाडौं / सत्तारुढ नेकपा एमालेले सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रगतिशील, व्यावहारिक र जनमुखी रहेको निष्कर्ष निकालेको छ। शनिबार बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकले यसलाई पूर्ण समर्थन गर्ने निर्णयसमेत गरेको छ।

प्रमुख सचेतक महेशकुमार बर्तौलाले नीति तथा कार्यक्रमका पक्षमा सकारात्मक ढंगले संसद्‍मा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको समेत जानकारी दिए। ‘समग्रमा यो नीति तथा कार्यक्रम प्रगतिशील, व्यावहारिक र जनमुखी रहेको छ,’ एमालेले भनेको छ, ‘देशमा व्याप्त गहिरो निराशा हटाउन, जनतामा आशा र उत्साहको सञ्चार गर्न अनि देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान बिद्यमान परिस्थितिका सीमाहरुलाई पूर्णतया ख्याल गर्दै देश र जनताको हितलाई केन्द्रमा राखी बिकास, सम्बृद्धि, सुशासन र सेवा प्रवाहलाई उच्च महत्व दिएर आएको नीति तथा कार्यक्रमलाई पूर्णसमर्थन गर्दै यसको पक्षमा सकारात्मक ढंगले संसद्‍मा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने आजको दलको बैठकले निर्णय गरेको छ।’

दलको बैठकमा नीति तथा कार्यक्रमबारे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विश्नुप्रसाद पौडेल, एमालेका उपमहासचिव एवं प्रधानमन्त्री मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडाले प्रशिक्षणमूलक विचार व्यक्त गरेका थिए।

ओलीको निर्देशन – नीति तथा कार्यक्रम सही छ, ढुक्कले समर्थन गर्नुस्
प्रधानमन्त्री एवं नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले संघीय संसद्मा प्रस्तुत नेपाल सरकारको नीति तथा कार्यक्रम स्थिरता, विकास र सुशासनका लागि सही नीतिका साथ आएकाले ढुक्कका साथ दृढतापूर्वक समर्थन गर्न सांसद्हरुलाई आग्रह गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार बसेको संसदीय दलको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा स्थिरता र स्थायित्व कायम राख्दै सुशासनको राम्रो प्रबन्ध गरी अर्थतन्त्रलाई तीव्र गतिमा अगाडि बढाउने सरकारले लक्ष्य लिएको स्पष्ट गरे।

‘हाम्रा नीतिहरु सही छन्, यसमा साथीहरु ढुक्कले लागे हुन्छ,’ ओलीको भनाइ छ, ‘संसदीय प्रक्रियामा विपक्षीले विरोधका लागि विरोध पनि गर्ने भएकाले तिनका कुरामा सत्यता छ कि भनेर लाग्नु पर्दैन। हामीले सही कुराको पक्ष दृढतापूर्वक लिनुपर्छ। हामीले विपक्षमा रहँदा सही कुराको विरोध गरेका थिएनौँ।’

उनले थपे, ‘हाम्रो दलमा वैचारिक एकता रहेको छ। स्पष्टता र दृढता हामीसँग छ, यो स्पष्टता र दृढतालाई संसद्का गतिविधिमा अझ प्रभावकारीरुपमा प्रकट गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।’ प्रधानमन्त्री ओलीले पछाडि परेको तप्कालाई माथि उठाउने गरी सरकारले काम गरिरहेको जनाउँदै समाजप्रति उत्तरदायी, प्रतिपक्षप्रति संवैधानिकरुपमा सहकार्य, शान्ति सुव्यवस्थाप्रति जिम्मेवर र आम जनताप्रति जवाफदेही भएर नीति तथा कार्यक्रम ल्याएको जिकिर गरे।

समाजमा वञ्चितहरुको पहुँचवृद्धि हुनुुपर्छ भन्नेमा स्पष्टताका साथ सरकार अघि बढेको बताउँदै उनले राष्ट्रिय र मानवीय हितलाई केन्द्रमा राखेर छिमेक तथा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्दै आएको स्मरण गरे।

दलको बैठकमा नीति तथा कार्यक्रमबारे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विश्नुप्रसाद पौडेल, एमालेका उपमहासचिव एवं प्रधानमन्त्री मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडाले प्रशिक्षणमूलक विचार व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->