मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

धम्म पोखराको विपश्यना शिविरमा मेरो १० दिन

धम्म पोखराको विपश्यना शिविरमा मेरो १० दिन


  • प्रकाश तिवारी
  • बैशाख २१ २०८२, आइतबार

जिन्दगी यात्रा हो। यात्रामा गन्तव्य हुन्छ। बिना गन्तव्यको यात्रा हुँदैन। मानिसले जीवनमा हजारौँ-हजार यात्राहरू गरेको हुन्छ। प्रत्येक यात्रा निश्चित मुकाममा पुगेर टुङ्गिन्छन्।

२०८१ चैत १८ को दिन हाम्रो लागि नवीन यात्राको सुरूआतको दिन थियो। हामीले धम्म पोखरालाई यात्राको गन्तव्यस्थल बनाएको थियौँ। हामीलाई  चैत १९ देखि बेगनास कास्कीमा सुरू हुने विपश्यना ध्यान शिविरमा सहभागी हुन जानु थियो। त्यो हामी दुबैको दोस्रो विपश्यना ध्यान शिविर थियो। हामी काठमाडौँबाट मुग्लिन, दमौली, खैरेनीटार हुँदै पोखरातर्फ अघि बढ्यौँ। बानिया ट्राभल्सको एसीयुक्त बस। आरामदायी सिट। दिनको ३ बजे म र श्रीमती सुष्मा तालचोकमा उत्रियौँ।

वास्तवमा विपश्यना प्रणयाम होइन। विपश्यना ध्यान त्यति सजिलो पनि छैन। कतिपय साधकले शिविर पूर्ण गर्न नसकी बीचमै छोडेर हिँड्ने गरेको समेत पाइएको छ। किन्तु दृढतापूर्वक समर्पित हुनेका निम्ति असम्भव चाहिँ छैन।

प्रत्येक बिहान ४ बजेको घण्टीसँगै उठ्नु। नुहाइधुवाइ, दिसापिसाबपछि साढे चार बजे ध्यान कक्षमा गएर साधनामा सहभागी हुनु दैनिक रूटिन हुन्। साधकले प्रत्येक दिन १२ घण्टा विपश्यना ध्यान–साधनामा बस्नुपर्ने हुन्छ। त्यसबीचमा प्रायः एक-सवा घण्टाको अन्तरालमा पाँच मिनेटको विश्राम समय दिइन्छ। ध्यानमा बस्दा सकेसम्म हलचल नगरी बस्न भनिएको हुन्छ तर शरीर चलाउनै नपाउने चाहिँ होइन। अशक्त व्यक्तिहरूलाई कुर्सी वा उपयुक्त आसनको व्यवस्था गरिएको हुन्छ।

साधक साधिकाहरूले शिविर अवधिभर पञ्चशीलको पालना गर्नुपर्ने हुन्छ। चोरी नगर्नु, हिंसा नगर्नु, ब्रह्मचार्यको पालना गर्नु, झुटो नबोल्नु र मादक पदार्थको सेवन नगर्नु नै पञ्चशीलको पालना हो।

शिविरमा रहँदा दश दिन लामो मौन ब्रत अनिवार्य हुन्छ। त्यस अवधिमा साधक-साधिकाहरूलाई एकआपसमा कुरा गर्ने अनुमति दिइँदैन। महिला साधिका र पुरूष साधकहरूको निवासस्थान फरक–फरक स्थानमा हुन्छ। पुरूषहरू महिलाकोमा र महिलाहरू पुरूष बसेको ठाउँमा जान पाउँदैनन्। आवश्यक परेमा सहायक आचार्य र धर्म सेवकहरूसँग कुरा गर्न वा आफ्ना समस्या राख्न भने सकिन्छ। त्यस निम्ति अलग्गै समय निर्धारण गरिएको हुन्छ। शिविरको दशौँ दिनको दश बजे मौन ब्रत खुल्छ। मौन ब्रत खुलेर आपसमा अन्तर्क्रिया गर्न पाउँदा साधक–साधिकाहरुले हर्षको अनुभव गर्छन्।

सुरूको तीन दिन आनापान अभ्यास गराइन्छ। यसमा साधक-साधिकाहरूलाई स्थल हुँदै सूक्ष्मतर्फको आन्तरिक यात्रा गराइन्छ। आनापानको अर्थ सास नाकको प्वालबाट भित्र–बाहिर गरेको सचेततापूर्वक हेर्नु हो। शिविरको चौथो दिनबाट विपश्यना ध्यान आरम्भ हुन्छ।

कुरा आउँछ, विपश्यना ध्यान शिविरमा सहभागी हुन कसरी जाने त ? विपश्यना ध्यान शिविरमा सहभागी हुन चाहनेले तोकिएको अनलाइन पोर्टलमा गएर फारम भर्नुपर्ने हुन्छ। सम्बन्धित केन्द्रमा गएर लिखित फारम भर्ने सुविधा पनि नभएको हैन। फारम भरि पठाएको केही दिनमा स्वीकृत भए/नभएको सूचित गरिन्छ। सोधपुछ र सूचना दिने क्रम विपश्यना शिविरमा जानु केही दिनअघिसम्म चलिरहन्छ।

विपश्यना ध्यान साधनामा जानेहरूलाई शरीर पूरा छोपिने, चमकधमकविहीन खुकुला लुगा लगाउन भनिएको हुन्छ। साधक–साधिकाहरूलाई नियमित सेवन गर्ने औषधि नछुटाउन स्मरण गराइन्छ। शिविर अवधिमा कोही बिरामी परे प्राथमिक उपचारको प्रबन्ध मिलाइएको हुन्छ।

विपश्यना विद्याले प्रचलित कुनै पनि धर्मलाई निषेध गर्दैन तर शिविरमा सहभागी हुनेले उक्त अवधिभर आफ्नो धार्मिक मतलाई स्थगन गर्नु चाहिँ पर्छ। साधक–साधिकाहरूले कोर्स अवधिभर एक किसिमको आत्मसमर्पण गरेका हुन्छन्।

पहिलोपटक सहभागी हुन चाहनेहरूलाई जिज्ञासा हुन सक्छ, ‘विपश्यना शिविरमा सहभागी हुनेले कति शुल्क बुझाउनुपर्छ त?’ जबाफ हो, शिविरको दशौँ दिन स्वेच्छिक दानको व्यवस्था मिलाइएको हुन्छ। यसमा हरेकले इच्छा अनुसारको रकम दान गर्न सक्दछन्। दान यति नै दिनुपर्छ भन्ने छैन।

‘अनि खाना?’ खाना दिनको तीन पटक दिइन्छ। बिहानको साढे छ, एघार र अपराह्नको पाँच बजे। बिहान साढे छ बजे ब्रेकफास्ट उपलब्ध गराइन्छ। दिनको एघार र अपराह्नको पाँच बजे साबिकमा खाएजस्तै खाना दिइन्छ। पुराना साधक–साधिकाहरूले चाहिँ अपराह्न पाँच बजेको खाना खाँदैनन्। उनीहरूलाई कागती पानी मात्र खान भनिएको हुन्छ।

हरेक दिन राति शिविरको अन्त्यतिर सत्यनारायण गोयन्काको प्रवचन आउँछ। उनी प्रवचनमा विपश्यनाको व्यवहारिक पक्षको व्याख्या विश्लेषण गर्दछन्। गोयन्काको प्रवचनले विपश्यनालाई गहिराइमा बुझ्न मद्दत गर्दछ।

उनी भन्छन्– ‘विपश्यना मनको अपरेसन हो। शारीरिक अपरेसनमा जस्तै यसमा पनि व्यक्तिलाई बाह्य संक्रमणबाट जोगाउन निश्चित सीमाभित्र बन्ध गरेर राख्नुपर्ने हुन्छ।’ त्यसै कारण साधक–साधिकाहरूलाई शिविर अवधिभर बाहिरी सम्पर्क र भेटघाटमा पूर्ण बन्देज लगाइन्छ। मोबाइल र नगद सुरूकै दिन शिविर प्रशासनमा बुझाउनुपर्छ। मोबाइल फोन शिविरको समापनपछि र नगद चाहिँ दशौँ दिनको १० बजे फिर्ता दिइन्छ।

शिविरको दशौँ दिन भारतको तिहाड जेलमा किरण वेदी नाम गरेकी महिला प्रहरी अफिसर जेल प्रमुख रहेको बेला चलाइएको विपश्यना ध्यान शिविरसम्बन्धी फिल्म देखाइन्छ। त्यसमा विपश्यना ध्यानले कैदीहरूको अपराध मनोवृत्तिमा आमूल परिवर्तन ल्याएको, कतिपय कैदीहरूले अपराधकर्मप्रति पश्चाताप गरेको, पीडितलाई भेटेर माफी मागेको सत्य कथा समेटिएको छ।

सारमा भन्नुपर्दा, ‘इ भेहिकल’मा विद्युत रिचार्ज गरेजस्तै हो विपश्यना ध्यान। विपश्यना ध्यानले मानव शरीरमा सञ्जिवनी ऊर्जा रिचार्ज गर्दछ।

अप्राकृतिक जीवनशैली, मोबाइल फोनको घातक लतका कारण आजका मानिसमा आँखा कमजोर हुने, टाउको दुख्ने र निद्रा नपर्ने जस्ता समस्याहरू देखा पर्न थालेका छन्। त्यस अर्थमा विपश्यनाको बहानामा भए पनि १० दिन मोबाइल फोन बिना रहनु तनाव व्यवस्थापन वा स्वास्थ्यका निम्ति लाभदायक हुनसक्छ।

अब एकछिन धम्म पोखरामा प्राप्त अनुभवको छोटो चर्चा गरौँ।

धम्म पोखरामा सहभागी हुँदा थाहा भयो, विदेशी पाहुनाहरू नेपाल आउनुमा प्राकृतिक दृष्यावलोकन गर्ने रहरका अतिरिक्त विपश्यना ध्यानमा सहभागी हुने चाहनाले पनि काम गरेको हुँदोरहेछ। १६ जना महिला र १६ जना पुरूष गरी ३२ जनाको सहभागिता रहेको उक्त शिविरमा ७ जना नेपालीबाहेक अन्य साधक-साधिकाहरू विदेशी मुलुकका हुनु त्यसको प्रमाण हो।

धम्म पोखरा रहेको स्थानको प्राकृतिक वातावरण अति रमणीय छ। वरिपरि बाक्लो जंगल। सय मिटर जति तल लम्बाकार रूपमा फैलिएको सुन्दर बेगनास ताल। बिहानदेखि बेलुकासम्म गुञ्जिरहने पन्छी जगतको मनै हर्ने गाना। त्यहाँको प्राकृतिक सौन्दर्यको बयान गणेशजीको कलमबाट मात्र सम्भव छ।

धम्म पोखराका सहायक आचार्यको बोली-व्यवहारले भने अधिकांश साधक-साधिकाहरूलाई असन्तुष्ट बनायो। बौद्ध धर्मगुरूको रूखो व्यवहारका कारण चार जना साधक र तीन जना पुरुष धर्म सेवकहरूले बीचैमा शिविर छोडेर गए। जुन नमिठो अनुभूति भयो।

दश दिने शिविर समाप्त गर्दा म निकै हलुका अनुभव गरिहेको थिएँ। मलाई शरीर दुब्लाएको र पेट घटेको महसुस भैरहेको थियो। शरीर दुब्लाए पनि अनुहार पहिलेभन्दा उज्यालो र चमकदार प्रतीत हुन्थ्यो। मलाई पहिलेभन्दा बढी मानसिक ताजगी आभास भैरहेको थियो।

मन अति चञ्चल छ। संसारमा काबुमा राख्न गाह्रो भनेकै मानिसको मन हो। जंगली जनावरलाई बन्धक बनाउन सजिलो होला, मनलाई नजरबन्दीमा राख्न हम्मे पर्छ। मन शरीरको राजा हो। मनको सिंहासन शरीरको शीर्षभागमा हुन्छ। मानिसको शरीर मनको खटनपटनमा चल्छ। मनले जता हुइँक्यायो उतै हुइँकिन्छ शरीर। त्यस मानेमा व्यक्तिले आफ्नो मनलाई अपराजित राख्न जान्नुपर्छ। मनले जिते जित। मनले हारे हार। हिन्दीमा भनाइ छ –‘मन हारा तो जग हारा !’ विपश्यनाले मनलाई विजयी बनाउने कला सिकायो।

हामी विपश्यना ध्यानको दश दिने शिविर समापनपछि चैत ३० गते पोखराको लेकसाइड पुग्यौँ। मुनाल होटल हाम्रो नयाँ आश्रय स्थल बन्यो। हामीलाई नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा लेकसाइडमा आयोजना गरिने मनोरञ्जनात्मक कार्यक्रम हेर्ने तीव्र उत्कण्ठा थियो। नयाँ बर्षको पूर्वसन्ध्यामा गुल्जार रहन्छ लेकसाइड। सडकमै स्टेज। बाजागाजा। सडकमै साँस्कृतिक कार्यक्रम। सडकमै नृत्य। मानिसहरूको थामिनसक्नु भीड।

यस प्रकार अनुभूतिका पोकापन्तुराहरू कस्दै हामी वैशाख १ गते पोखराबाट काठमाडौंको लागि प्रस्थान गर्‍यौँ। दिनको चार बजे हामी चढेको बस बालाजु आइपुग्यो। बसबाट ओर्लेर ट्याक्सीमा चढेका के थियौँ, ह्रृदयस्पर्शी हिन्दी गीतको ध्वनीले कर्ण स्पर्श गर्न थाल्यो:

‘आदमी मुसाफिर है, आता है जाता है
आते जाते रसते मेँ यादेँ छोड जाता है।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->