सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

जैमिनी नगरपालिका: चैत मसान्तभित्रै सकिए अधिकांश योजना

जैमिनी नगरपालिका: चैत मसान्तभित्रै सकिए अधिकांश योजना

जनउत्तरदायी जैमिनी, टाउको दुखाउने प्रशासकीय भवन !


  • ढोरपाटन संवाददाता
  • बैशाख २१ २०८२, आइतबार

बागलुङ/अन्य पालिकामा वैशाख लागेपछि सेवाग्राही, उपभोक्ता समितिहरुको भीडभाड लागेको छ भने जैमिनी नगरपालिका कार्यालयमा सेवाग्राही कम छन् । त्यसो हुनुमा विकासका काम नभएर होइन । बरु, समयमा काम सकेकोले उपभोक्ताहरु आगामी वर्षको योजनामा लागिसकेका छन् । जैमिनी नगरपालिकाले १० लाख रुपैयाँसम्मका योजनाहरु चैत मसान्तभित्रै सम्पन्न गरेको छ । अन्य पालिकामा अझै योजना सम्झौता भइनसकेको सन्दर्भमा जैमिनीले यो सफलता पाएको हो ।

यो क्रम जैमिनीमा पछिल्लो तीन वर्षदेखि नै निरन्तरता छ । विशेषगरी कार्यक्रमबाहेक पूर्वाधारतर्फका अधिकांश योजना चैत भित्रै सक्ने लक्ष्यमा जैमिनी यो पटक पनि सफल भएको हो । नगरपालिकाका योजना अधिकृत प्रेम सापकोटाका अनुसार चालु वर्षपनि उपभोक्तामार्फत् गरिएका ९५ प्रतिशत योजना बैशाख मसान्तभित्रै फरफारक भएका थिए ।

बाँकी ठेक्कामार्फत् दिइएका योजनामात्रै छन् । जैमिनी नगरपालिकाले १३ वटा योजनालाई दिगो सडकको रुपमा सूचीकृत गरेको छ । ती सडकहरु नियमित मर्मत गरेर बर्षातमा पनि संचालन गर्ने भएकोले एकैपटक सम्पन्न नहुनेमा पर्छन् । तर, ती पनि अधिकांश सम्पन्न भैसकेका हुन् ।

उनका अनुसार चालु आर्थिक वर्ष जैमिनीमा संचालित ५ सय २२ योजना थिए । ती मध्ये सामाजिक विकासतर्फ २ सय १३ वटा, आर्थिक बिकास तर्फ ७८ वटा, वन तथा वातावरण तर्फका १९, सुशासनतर्फका २२ योजना छनोटमा थिए । रकमान्तरण भएका र क्षमता बिकासका लागि गरिने कार्यक्रमहरु भने यतिबेला जैमिनीमा धमाधम भैरहेका छन् । वडावडामा सीपमूलक तालिम संचालन भएका छन् भने नगर स्तरीय अभिमूखीकरण, तालिम र अन्तरक्रिया पनि वैशाख मसान्तभित्रै सक्ने गरी संचालनमा छन् ।

‘हामीले एकदुईवटा कार्यक्रम मात्रै पछिसम्म राख्न सकिन्छ,’ नगर उपप्रमुख हरिहर शर्माले भने,‘त्यो पनि बिज्ञहरु ल्याउने क्रमले केही ढिला हुने कार्यक्रम मात्रै बाकी रहने हो ।’ कर्मचारी परिचालन भइ उपभोक्तामार्फत् गरिने कार्यक्रम कुनै बाँकी नरहेको उनले बताए । उपप्रमुखमार्फत् सबै योजनाको अनुगमन गरेर भुक्तानीसमेत भएको सापकोटाले जानकारी दिए ।

योजना सम्झौता गर्दापनि समय सीमा दिएर काम गरेकोले यो सफलता पाउको उनले बताए । नगरपालिकाको प्रशासकीय भवन भने अझै अलपत्र छ । यो योजना बहुवर्षे हो । समयमा काम नभएकोले म्याद सकिँदा ५५ प्रतिशत मात्रै पूरा भएको इन्जिनियरबिबेक सापकोटाले बताए ।

जैमिनी नगरपालिकाले २०७८ साल माघको २१ गते सम्झौता गरेर गत माघमा पूरा गर्ने लक्ष्य राखेको भवन अहिले अलपत्र परेको हो । ‘रफिना, प्राकृतिक, जुगल संयुक्त निर्माण कंपनी’ले पुन एक बर्षकालागि म्याद थप गरेको छ । तीन वर्षमा ५० प्रतिशत मात्रै काम गर्नेले अबको एक वर्षमा पूरा गर्छ भन्ने मलाई विश्वास लागेको छैन,’ नगरप्रमुख नरबहादुर पुनले भने, ‘काम गर्छु भन्ने, पेस्की लगेपछि हराउने गर्दारहेछन् ।’ सालबसाली गर्ने योजनामा भने नगरका कर्मचारी र उपभोक्ताले समयमा काम सकेको उनले बताए ।

बरु, केही योजना भने नगरपालिकाले सुरु गर्न पनि सकेको छैन । फोहोरको व्यवस्थापनको काम ढीलाइ भैरहेको हो । नगरप्रमुख पुनले जग्गा खोजी सकेकोले छिट्टै त्यो काम पनि सुरु हुने बताए ।

‘सानो क्षेत्रमा जग्गा खोज्ने काम भने धेरै झन्झट भयो, त्यसैले कतिपय योजना सुरु गर्नै नपाइएको हो,’ पुनले भने, ‘जग्गा व्यवस्थापन भएपछि थालिने काम पनि ढिला गर्दैनौं ।’ फोहोरको व्यवस्थापन, औद्योगिकग्राम जस्ता योजनामा नगरपालिका जग्गाको कारणले लामो समयदेखि रोकिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->