पोखरा/विलासिता, फेसन, जीवनशैली, मनोरञ्जन र कर्पोरेट नेतृत्वका क्षेत्रहरूमा प्रभावशाली पहिचान कायम गरेका भारतीय लक्जरी अफेयर्सको टोलीलाई पोखरामा स्वागत गरिएको छ ।
नेपाललाई एक महत्वपूर्ण विलासी यात्रा गन्तव्यको रूपमा प्रस्तुत गर्ने उद्देश्यका साथ विलासिता, जीवनशैली र व्यवसायका क्षेत्रमा भारतमा अग्रणी स्थान बनाएका व्यक्ति सम्मिलित २१ सदस्यीय प्रतिनिधिमण्डललाई नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको नेतृत्वमा पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्ले स्वागत गरेका हुन् ।
उनीहरूलाई शुक्रबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चकन्या तथा नौमती बाजाबाट स्वागत गरिएको थियो ।
स्वागत पश्चात लेकसाइडको होटेल टेम्पल बेल बुटिकमा आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले भ्रमण टोलीलाई पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटकीय स्थलबारे जानकारी गराएका थिए ।
पोखरा महामनगरपालिकाका प्रवक्ता मोतिराज तिमल्सिनाले पोखरा भ्रमण वर्ष २०२५को घोषणासँगै यहाँ पर्यटन सम्बद्ध संघसंस्थाबाट विभिन्न प्याकेज घोषणा गरिएको जानकारी दिए ।
पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले पोखरा प्राकृतिक, सांस्कृतिक एवम् साहसिक पर्यटनको गन्तव्य रहेको बताउँदै पोखरा भ्रमण वर्षलाई सफल बनाउन भारतीय पर्यटकहरूको महत्वपूर्ण भूमिका हुने धारणा राखे ।
नेपाल भ्रमणमा रहेको भारतीय टोली हिमाल पारीको जिल्ला मुस्ताङसम्म पुग्ने कार्यक्रम रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।
भारतीय प्रतिनिधिमण्डलका सदस्य उपौल मजुमदारले पोखरामा गरिएको न्यानो आतिथ्यताको प्रशंसा गरेका थिए ।





