बागलुङ/प्राथमिककालिन कवि वीरशाली पन्तको स्मृतिमा बागलुङ नगरपालिकाले स्थापना गरेको यस वर्षको वीरशाली पन्त स्मृति गौरवमय पुरस्कार धौलागिरी बहुमुखी क्याम्पसका प्रा. डा. दिनबहादुर थापा लाई प्रदान गरिएको छ ।
बागलुङको मुलपानीमा जन्मिएका कवि पन्तको स्मृतिमा स्थापना गरिएको वीरशाली पन्त स्मृति गौरवशाली पुरस्कार यस वर्ष थापालाई प्रदान गरिएको हो । धौलागिरि बहुमुखी क्याम्पसमा लामो समयदेखि अध्यापनरत रहि हाल क्याम्पस व्यवस्थापन समितिको अध्यक्ष समेत रहेका थापालाई नगद २५ हजारसहित पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कार प्रदान गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले कवि वीरशाली पन्तले नेपाली साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको स्मरण गरे । उनले वाङ्मयी क्षेत्रमा समर्पित स्रष्टालाई पुरस्कृत गर्ने कार्य ऐतिहासिक भएको उल्लेख गरे ।
वीरशाली पन्त स्मृति कोषले आयोजना गरेको कार्यक्रममा कोषका कोषाध्यक्ष गोविन्दराज गौतमले मन्तव्य व्यक्त गरेका थिए । उक्त पुरस्कार गत वर्ष प्रा. डा. जगन्नाथ रेग्मीलाई प्रदान गरिएको थियो । कार्यक्रम वीरशाली पन्त स्मृति कोषका परिकल्पनाकार प्राज्ञ प्रेम छोटाको अध्यक्षता, उपाध्यक्ष महेशचन्द्र प्रदानको स्वागत र सचिव हरिप्रसाद पाण्डेयको संचालनमा सम्पन्न भएको थियो ।





