बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हाइ अल्टिच्युड उपचार केन्द्रलाई सुविधा सम्पन्न बनाइने

हाइ अल्टिच्युड उपचार केन्द्रलाई सुविधा सम्पन्न बनाइने


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०८२, सोमबार

म्याग्दी/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले मुस्ताङको भ्रमणमा आउने पर्यटकको सुरक्षाका लागि नाकामा हेल्थ डेक्सबारे चासो देखाएका छन् । मुस्ताङ घुम्न आउने पर्यटकलाई बिना स्वास्थ्य परीक्षण सिधै उपल्लो क्षेत्रमा पुग्दा लेक लाग्ने समस्यालाई समाधान गर्न अनिवार्य आफ्नो स्वास्थ्य परीक्षण गरेपछि मात्रै मुस्ताङ भ्रमणको वातावरण बनाउने बताए ।

पाठकले म्याग्दीसँग सिमाना जोडिएको थासाङ गाउँपालिका ४ घाँसामा र जोमसोम विमानस्थलमा हेल्थ डेक्समार्फत स्वास्थ्य परीक्षण गर्ने र उपल्लो मुस्ताङमा हाइ अल्टिच्युड उपचार केन्द्रको आवश्यकता देखेको बताए । ‘पोखराबाट एकैपटक उपल्लो मुस्ताङसम्म पर्यटक पुग्ने गरेको देखियो, यसमा रोगी बिरामी भए लेक लाग्दा ज्यानै जाने जोखिम हुन्छ’ मन्त्री पाठकले भने ।

पर्यटकको स्वास्थ्य अवस्था चेकजाँच गरी उच्च क्षेत्रमा जाँदा अपनाउनुपर्ने सावधानीबारे नाकामै सचेतना फैलाउन आागमी आर्थिक वर्षको बजेटमै सम्बोधन गर्ने बताए । स्वास्थ्य क्षेत्र मानव जीवनको अभिन्न अंग भएकाले मुस्ताङमा वर्षेनी लेक लागेर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न उपल्लो मुस्ताङमा समेत सुविधासम्पन्न उपकरण र दक्ष जनशक्तीसहित हाइ अल्टिच्युड उपचार केन्द्र स्थापना गर्नुपर्ने उनले आवश्यकता औलाए ।

पाठकले धेरै पर्यटक बोक्ने होडबाजीमा लागेका ट्राभल तथा ट्रेकिङ्ग एजेन्सीले सिधैै कोरला नाकामा लैजाने गरेकाले पनि लेक लाग्ने समस्या भएको स्थानीय जनप्रतिनिधिको गुनासोलाई समेत चासोपूर्वक लिएका थिए । उनले लेक लागेर ज्यान गुमाउने, घाईते पर्यटकका बासेमा समेत चासो देखाएका थिए ।

दुई वर्षको अवधिमा सरद र बसन्त ऋतुमा सडक र हवाई मार्ग हुँदै मुस्ताङ प्रवेश गरेका स्वदेशी तथा विदेशी पर्यटक गरी मुस्ताङमा २८ जनाले लेक लागेर ज्यान गुमाएका छन् । लेक लागेर मृत्यु हुनेमा ५८ वर्षदेखि ८१ वर्ष उमेर समूहका छन् ।

मन्त्री पाठकले हिन्दू तथा बौद्ध धर्मावलम्बीको तीर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा रहेका दुईवटा हाइ अल्टिच्युड उपचार केन्द्रको समेत निरीक्षण गरेका थिए । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र गण्डकी प्रदेश सरकारले आकस्मिक उपचार केन्द्रको भवनका जनशक्ती र उपकरणको अभाव देखिएको बताउँदै फर्किएपछि पहल गर्ने बताए ।

पाठकले मुस्ताङको भ्रमणका क्रममा जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरूङसहित थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालसँग लेक लागेर मृत्यु, बिरामी हुने समस्या समाधानका लागि गर्ने सकिने कार्यका साथै मुस्ताङलाई स्वास्थ्य पर्यटनसँग जोड्ने विषयमा समेत छलफल गरेका थिए ।

पाठकले जोमसोममा रहेको प्रादेशिक अस्पतालको निर्माणधिन भवनको निरीक्षण, प्रदेश स्वास्थ्य कार्यालय, आर्युवेद अस्पतालको समेत निरीक्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->