पोखरा/ एसिया प्यासिफिक क्षेत्रका हवाई तथा नागरिक उड्डयन विशेषज्ञहरू पर्यटन राजधानी पोखरामा भेला भएका छन् । उनीहरू अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण अन्तरगतको हवाई उड्डयनमा वन्यजन्तुजन्य जोखिम व्यवस्थापन समूहको सातौँ बैठकमा सहभागी हुन पोखरामा भेला भएका हुन् । समूहको बैठक वैशाख २७ गतेसम्म पोखरामा बस्नेछ ।
कार्यशाला सहितको बैठकमा एसिया प्यासिफिकमा हवाई उड्डयनको क्षेत्रले भोगिरहेको वन्यजन्तुजन्य जोखिमहरूको अवस्था, त्यसको न्यूनीकरण तथा समाधान र उड्डयन क्षेत्रलाई सुरक्षित बनाउने उपायहरूको खोजी गरिने विज्ञहरूले बताएका छन् । बैठकमा नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सुरक्षित हवाई यात्राको सुनिश्चितताका लागि विद्यमान जोखिमहरूको निदानमा जोड दिए । नेपाल सरकार यात्रुहरूलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउने र प्रविधिमैत्री, सुविधायुक्त र सुरक्षित पूर्वाधार निर्माण गर्ने कार्यमा प्रतिबद्ध रहेको उनले बताए ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उड्डयन क्षेत्रको संवेदनशीलता प्रति आफूहरू सचेत रहेको उल्लेख गरे । “पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पूर्व नजिकै रहेको ल्याण्डफिल साइड स्थानान्तरण गरी विमानस्थल सञ्चालनमा महानगरपालिकाले सहज वातावरण तयार गर्यौँ , ल्याण्डफिलको स्थानान्तरण सजिलो थिएन तर, आवश्यक थियो, कयौँ अप्ठ्याराहरूको बिचबाट हामीले त्यसको व्यवस्थापन गर्यौँ’ आचार्यले भने, ‘विमानस्थलको संवेदनशीलता बुझेर हामीले तुरुन्त निर्णय गर्यौँ र एक महिनाभित्रै उक्त ल्यान्डफिललाई सुरक्षित दूरीमा सार्यौं, यो संवेदनशीलताले पनि पुष्टि गर्दछ की, हवाई सुरक्षामा स्थानीय सरकारको भूमिका कति महत्त्वपूर्ण हुन्छ ।” हवाई सेवालाई सुरक्षित बनाउन स्थानीय तहको सक्रियता र नेतृत्व उत्तिकै आवश्यक र प्रभावकारी हुने उनले बताए ।
राम्रो नीति, बलियो स्थानीय नेतृत्व र क्षेत्रीय सहकार्यबाट मात्रै हामी हाम्रो आकाशलाई अझ सुरक्षित बनाउन सक्छौँ भन्दै आचार्यले हामी एक भू–परिवेष्टित देशका नागरिक रहेको, बदलिँदो विश्व परिवेशमा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई सम्पर्क नागरिकको मौलिक अधिकारसँग जोडिएको विषय बनिसकेकाले हामी हाम्रो सहरलाई हवाई सेवा मार्फत विश्वभर जोड्न चाहेको जनाए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई एसिया प्यासिफिक क्षेत्रका देशहरूमा जोड्न सकिने सम्भावनाको खोजी गर्न समेत उनले आग्रह गरे ।
सो क्रममा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र आइकाओ एसिया प्यासिफिकका क्षेत्रीय उपनिर्देशक मन्जित सिंह लगायतले हवाई सेवालाई सबैको पहुँचमा पुर्याउँदै यसका विद्यमान जोखिमहरूको समाधानमा ध्यान केन्द्रित गर्नु पर्नेमा जोड दिए । बैठकमा एसिया प्यासिफिक क्षेत्रका हवाई तथा नागरिक उड्डयन विशेषज्ञहरू सहित सरकारी अधिकारीहरूको सहभागिता रहेको छ ।





