बागलुङ/बागलुङ बजार छेवैमा रहेको संसारकै लामो दाबी गरिएको झोलुङ्गे पुलमा दैनिक सयौं पर्यटक घुम्न आइपुग्छन् । तस्बिर खिचेर सोसल साइटमा पोष्ट गर्छन् ।
५ सय ६७ मिटर लामो र १ सय ३८ मिटर उचाईको ‘कालीगण्डकी सुनौलो झुला’ पुल बनेपछि आन्तरिक तथा बाह््य पर्यटकको उपस्थिति बाक्लिन थालेको हो । ‘सिङ्गल स्पान’ प्रविधिमा संसारकै लामो दाबी गरिएको यो सँगै बागलुङमा आधादर्जन अग्ला र लामा झोलुङ्गे पुल छन् । कालीगण्डकी नदीसहित विभिन्न खोलामा बनेका पुलले पर्यटकको ध्यान खिच्न थालेको छ ।
त्यसो त बागलुङ जिल्ला झोलुङ्गे पुलको विश्वविद्यालय भनेर परिचित छ । नेपाल भित्रको नेपाल र बुट्टेनली बागलुङ परिचयका थप उपमा हुन् । देशभरि झण्डै १० हजार झोलुङ्गे पुल छन् । त्यसमध्ये बागलुङका खोलाखोल्सा र नदीमा लामा–छोटा गरी ४ सय ५० झोलुङ्गे पुल छन् । नौ ओटा पुल त निर्माणकै चरणमा छन् भन्छन्– बिवाईसी बागलुङका झोलुङ्ग पुल कार्यक्रमका संयोजक प्रेम केसी । दश पालिका रहेको बागलुङमा यो वर्ष थप २० झोलुङ्गे पुल बनाउन सर्वे गर्ने तयारी छ ।

करिब ९ करोड २५ लाख रुपियाँमा कालीगण्डकी नदीमाथि निर्माण गरिएको ‘कालीगण्डकी सुनौलो झुला’ २०७७ सालमा सर्वसाधारणको लागि खुल्ला गरिएको थियो । पुललाई विश्वकै लामो दाबी गर्दै नगरपालिकाले गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता प्रक्रिया थाल्ने चर्चा गरिएपनि अहिले भने सेलाएको छ । यसअघि स्विट्जरल्याण्डमा चार सय ९७ मिटर लामो सिङ्गल स्पानको झोलुङ्गे पुल विश्वकै सबैभन्दा लामो थियो ।
यस्तै, बागलुङ नगरपालिका वडा नं. ४ गौरीधाम मन्दिरदेखि पर्वत जलजला वडा नं. ८ नाग्लीवाङ जोड्ने गरी कालीगण्डकी नदीमाथि ५ सय २४ मिटर लामो र १ सय ८५ मिटर अग्लो सिङ्गगल स्पानको दोस्रो पुल निर्माण गरिएको छ ।

पछिल्लो समय ठूला नदी र खाँेचमा झुलुङ्गे पुल निर्माणको लहर चलेपछि बागलुङ झुलुङ्गे पुलसंगै लामा र अग्ला पुलको जिल्लाका रुपमा चर्चा हुन थालेको छ । तीन वर्षअघिसम्म बागलुङमा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या छिटफुट थियो । जब बागलुङ र पर्वत जिल्ला जोड्ने गरी सिङ्गल स्पानको लामो झोलुङ्गे पुल बनेपछि त्यसले पर्यटकको मन खिच्न थालेको छ । देशकै प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरको दर्शन गर्न आउने दशनार्थीदेखि पर्यटकले पुलको अवलोकन गर्न छुटाउँदैनन् । पुलमा आउने पर्यटकले बागलुङ बजारलाई चलायमान बनाएको छ ।
लामा पुलले पर्वत र बागलुङको लामो यात्रा छोटिएको छ भने यसले धार्मिक र आन्तरिक पर्यटक तान्न सफल हुनुका साथै कृषिउपज बिक्री वितरण गर्नमा समेत सहज भएको स्थानीय बताउँछन् । पुल हेर्नकै लागि मुस्ताङको मुक्तिनाथ र म्याग्दीको गलेश्वर जाने पर्यटक बागलुङमा आउन थालेका हुन् । पुलमा अधिकांश युवायुवतीको भीड लाग्छ । पुलमा फोटो खिच्ने, टिकटक बनाउनेको संख्या निकै बाक्लो देखिन्छ ।

पर्यटक आगमनमा वृद्धि भएपछि बागलुङका होटल व्यवसाय पनि फस्टाउन थालेका छन् । होटल व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले बागलुङमा बनेका लामा पुलले पर्यटक बढाएको बताए । ‘‘पञ्चकोट र सालिग्राम संग्राहलय अवलोकन गर्न जाने पर्यटकमा बढोत्तरी हुँदा होटल व्यवसायी उत्साहित छन्’’ अध्यक्ष चोखालले भने । लामा पुलले बागलुङको पर्यटन प्रवद्र्धन गर्न निकै ठूलो भूमिका खेलेको चोखालको भनाई छ ।
यस्तै, बागलुङ नगरपालिका वडा नं. ४ कुँडुले र म्याग्दीको बेनी नगरपालिका वडा नं. १ रत्नेचौर जोड्ने ढोडेनी खोलामाथि झोलुङ्गे पुल बनेको छ । पुल अवलोकन गर्न पर्यटकको भीड लाग्ने भानु माविका प्रधानाध्यापक भरत खत्री बताउँछन् । ३ सय ८८ मिटर लामो र १ सय ७० मिटर अग्लो झोलुङ्गे पुलले स्थानीयवासीको यात्रालाई सहज बनाउनुका साथै पर्यटन प्रवर्धनमा टेवा पुगेको खत्रीको भनाई छ ।












