
पोखरा/तत्कालीन गण्डकी धौलागिरी क्षेत्र नेकपा एमालेमा केपी शर्मा ओलीको प्रभाव क्षेत्रको रुपमा चिनिन्थ्यो । त्यसमा अपवाद चाहिँ पर्वत थियो । नेकपा एमाले र माओवादी मिलेर नेकपा बन्दा होस वा माधव नेपालले नेकपा एकीकृत समाजवादी खोल्दा पनि माहोल चाहिँ माधव नेपाल पक्षकै प्रभाव पर्वतमा थियो । भलै, नेपालले नेकपा एकीकृत समाजवादी खोल्दा उनी पक्षधर नेताहरु भने एमालेमा नै रहे ।
तर, केपी ओलीको प्रभाव कम रहेको पर्वत कालान्तारमा उनकै प्रभाव क्षेत्रको रुपमा विकसित भयो । अहिले एमालेमा माधव नेपाल छैनन, ओली एकछत्र छन । ओली एक्ला छन, उनका समर्थक भने एक छैनन् ।
एमालेमा ओलीकै गुणगान गाउने पर्वत एमालेमा दुई समूहको गुटबन्दीको सिकार बुधबार युवा संघका नेता तथा एमाले गण्डकी प्रदेशका सदस्य अर्जुन पौडेल निर्जन बन्न पुगे । पार्टी कार्यालयमा नै नेतृत्वको अगाडि उनको टाउको फुट्यो । उनको पर्वतमा उपचार सम्भव नभएपछि पोखरा ल्याइएको छ ।
टाउको फुटाएर रगत बगाएपछि एमाले पर्वतले भने युवा संघको आयोजक कमिटी बनेको भन्दै केही युवाहरुलाई अबिर लगाइदियो ।
फरक मत भएका कारण आफ्नै संगठनका युवाले रगत बगाउँदा एमाले पर्वतले चाहिँ आफै आक्रमण गर्न आएको र ठोक्किएर चोट लागेको विज्ञप्ती निकालेको छ । एमाले पर्वतका अध्यक्ष गोविन्द गिरी पहाडी आफूपनि घाइते भएको भन्दै अस्पताल गएका छन् ।
कुनै बेला माधव नेपालको दबदबा रहेको पर्वत एमालेमा अहिले भने गुटबन्दी तलैसम्म पुग्दा बुधबारको घटना हुन पुगेको हो ।
पर्वतमा एमालेभित्र दुई गुट छन ।
प्रतिनिधीसभा सदस्य पदम गिरीले एउटा गुट सम्हाल्छन भने अर्को गुटमा राष्ट्रियसभाका पूर्व अध्यक्ष गणेश तिमिल्सिना, संविधानसभा सदस्य तथा प्रदेशका पूर्वमन्त्री विकास लम्साल, संविधानसभा सदस्य कल्पना चापगाईं लगायत छन ।
यसलाई अझ विस्तारमा बुझ्ने हो भने पदम गिरी प्रदेशमा खगराज अधिकारी निकट मानिन्छन, अर्को तिमिल्सिना समूह एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट हो ।
एमाले गण्डकीमा खगराज र पिएसको गुटगत प्रतिष्पर्धा रेडक्रससम्म पुगेको छ । हालै कास्की रेडक्रसको अधिवेशनमा पिएस पक्षधर उमेदवार विजयी बनेकी थिइन ।
यिनै दुई केन्द्रीय नेताहरुले आफ्नो शक्ति विस्तारको लागि गुट बनाउँदै जाँदा त्यसको असर गण्डकीका सबै जिल्लामा देखिएको छ । बुधबार पर्वत एमाले पार्टी कार्यालयमा भएको उक्त घटना पनि गुटगत लडाइकै उपज हो ।
खासमा विवादको चुरो चाहिँ अधिवेशन गर्ने कि नगर्ने भन्नेमा थियो । एमाले भातृ संगठन युवा संघ पर्वतको नवौँ अधिवेशनको मिति बुधबार (२४) गतेलाई तोकिएको थियो । तर, वर्तमान कार्यसमितिका अध्यक्ष विनोद थापा र सचिव प्रकाश थकाली भने त्यसमा सहमत थिएनन । वैशाख २० गते उनीहरुले जारी गरेको विज्ञप्तीमा ‘… युवा संघ नेपालको राष्ट्रिय महाधिवेशन जेठ ९ देखि ११ गतेसम्म पोखरामा हुने भएका कारण जिल्ला अधिवेशनको लागि प्रतिनिधी छनोट लगायतका कार्य गर्नु पर्ने भएकाले युवा संघ पर्वतको अधिवेशन अर्को सूचना नआउनेसम्म स्थगित ..’ गरिएको जनाइएको छ ।
तर, यसबा बाबजुद पर्वत एमाले नेतृत्व तथा पदम गिरी समूह भने २४ गते नै अधिवशेन गर्ने अडान लियो । सोही अडान अनुरुप पार्टी कार्यालयको तेश्रो तल्लामा कार्यक्रम सुरु भयो । त्यसलाई रोक्न भन्दै पुगेका पौडेलसहितका युवाहरु त्यहीँ कुटिएका हुन ।
पौडेलमाथि कुटपिट भएपछि एमाले पर्वतले भने अधिवेशनको लागि आयोजक कमिटी गठन गरिएको जनाएको छ ।
कुटपिटको घटनालगत्तै एमाले गण्डकी प्रदेश कार्यालयले विज्ञप्ती जारी ग¥यो । त्यसको काउण्टरमा एमाले पर्वतले विज्ञप्ती जारी गरेको छ भने युवा संघ पर्वतले पनि विज्ञप्ती जारी गर्दै एकअर्काप्रति दोषारोपण गरेका छन ।
एमाले गण्डकीको अध्यक्ष नवराज शर्मा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट हुन् । कुटिएका प्रदेश सदस्य पौडेल पनि गुरुङ समूहकै हुन । एमाले गण्डकीले जारी गरेको विज्ञप्तीमा जिल्ला कमिटी पर्वतलाई दोष लगाइएको छ ।
शर्माले जारी गरेको विज्ञप्तिमा, ‘जिल्ला कमिटी पर्वतका ध्यक्ष कमरेड गोविन्द पहाडी लगायतका कमरेडहरुको उपस्थितीमा भएको त्यस विवादलाई विधिसम्मत र शान्तिपूर्ण तवरबाट हल गुर्नको साटो पार्टी प्रदेश कमिटीका सदस्य अर्जुन पौडेलमाथि भौतिक आक्रमणमा उत्रने जुन कार्य भएको छ, यसप्रति गम्भीर निन्दा र भत्सर्ना गर्न चाहन्छ ।’
उनले दोषीलाई कारवाहीको माग समेत गरेका छन ।
त्यसको काउण्टरमा एमाले पर्वतले विज्ञप्ति निकालेको छ । सचिव सुवासचन्द्र पौडेलले जारी गरेको विज्ञप्तीमा एमाले पर्वतका अध्यक्षमाथि आक्रमण भएको आरोप लगाइएको छ ।
‘विस्तारित भेला चलिरहेकै बेला नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य अर्जुन पौडेल लगायतको समूह कार्यक्रम चलिरहेकै हलमा अराजक तवरबाट होहल्ला गर्दै पसी, मञ्चमा चढि ब्यानर च्यात्ने, माइक तथा कुर्सीहरु तोडफोड गर्नेजस्ता अमानवीय कार्य गरि जिल्ला अध्यक्ष माथि सांघातिक आक्रमण ग¥यो,’ विज्ञप्तिमा भनिएको छ ।
पौडेल धकेलाधकेलमा परि पछाडिपट्टि रहेको पिल्लरमा ठोकिएर चोट लागेको पनि विज्ञप्तीमा खुलाइएको छ भने एमाले गण्डकीलाई आरोप लगाइएको छ ।
घटनाको यथार्थ विवरण नबुझी प्रदेश कमिटीले तथ्य विपरित विज्ञप्ती निकालेर भ्रम सिर्जना गरेको आरोप लगाइएको छ ।
यता युवा संघ पर्वतले पनि विज्ञप्ति जारी गर्दै जिल्ला नेतृत्वको विरोध गरेको छ ।
अध्यक्ष विनोद थापा र सचिव प्रकाश थकालीले विज्ञप्ती जारी गर्दै जिल्ला अध्यक्ष पहाडीको उपस्थितिमा हातहतियार प्रयोग गरि मरणसन्य अवस्थामा पुग्नेगरि कुटपिट गर्ने, उक्साउने, आक्रमण गर्ने व्यक्तिहरुलाई कारवाहीको माग गरेका छन ।
उनीहरुले आफूहरुको उपस्थिति र परामर्श बिना नै युवासंघको विधी, पद्धती, मूल्यमान्यता, जबजको मर्मविपरित मुठभेड निम्त्याउने मनसायले एमाले पर्वतको नेतृत्वले एकलौटी भेला आयोजना गरेको आरोप लगाएका छन ।
बुधबार जिल्ला अधिवेशन आयोजक कमिटी गठन गर्दापनि सचिव र अध्यक्ष कार्यक्रममा उपस्थित थिएनन । उपाध्यक्षको अध्यक्षता र उपसचिवको सञ्चालनमा कार्यक्रम गरिएको थियो ।
पदम गिरी कि गणेश तिमिल्सिना भन्ने प्रतिष्ठाको लडाइले एमाले पर्वतमा तल्लो तहसम्मै गुट मौलाएको छ । कुनै बेला पदम गिरीलाई जिल्ला अध्यक्षमा चुनाव जिताउनको लागि कार्यक्रम उद्धाटन गर्न पुगेका एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल पर्वत पुगिसकेको अवस्थामा पनि केपी ओलाीलाई ल्याउने भनेर अधिवेशन स्थगित गरिएको थियो ।
त्यतिबेला एमाले पर्वतको अध्यक्षमा विकास लम्साल थिए । उनीसहितको टोलीले नै पदम गिरीलाई नेतृत्वमा अगाडि सारेको थियो ।
अहिले उनै गिरीकाविरुद्ध गणेश तिमल्सिना, विकास लम्साल, कल्पना चापागाईँ, पदमपाणि शर्मालगायतका नेताहरू लागेका छन । जिल्लाको राजनीतिमा गिरीको एकछत्र राज हटाउनको लागि उनीहरुको गठजोड भएको हो ।
उनीहरु कसरी हुन्छ गिरी समूहलाई कमजोर बनाउन लागेका छन । हालै सम्पन्न पत्रकार महासंघ पर्वतको अधिवेशन पनि त्यसमा जोडिन आउँछ । प्रेस चौतारी र प्रेस युनियन मिलेपछि गरिएको भागबण्डामा पर्वतको नेतृत्व एमालेनिकट चौतारीलाई परेको थियो ।
त्यही चुनावमा पनि उम्मेदवार कसलाई बनाउने भन्नेमा गिरी समूह र तिमिल्सिना समूह लागेका थिए । ‘अहिले पर्वतमा पदम गिरीको दबदबा छ, त्यसलाई कमजोर बनाउने भनेको पत्रकार महासंघको चुनाव पनि हो । आफ्नो उम्मेदवारलाई अगाडि सार्न सकियो र जितियो भने पदम गिरीको प्रभाव कमजोर हुन्छ’ एमालेमा गिरी इतरको एक समूहले पत्रकार महासंघको चुनावमा गरेको विश्लेषण हो, यो । हुनपनि प्रेस चौतारीबाट एकजनाको नाम सार्वजनिक भइसकेपछि गिरी पक्षले पनि आधिकारिक भन्दै अर्को उमेदवार खडा गरेका थियो ।
मतदानमा गएको अवस्थामा नतिजा आफ्नो पक्षमा नआउने भएपछि एकजनामात्रै उमेदवार सर्वसम्मत भएको घोषणा गरिएको थियो ।
प्रतिनिधिसभाको पहिलो र दोश्रो निर्वाचनमा नै सफलता हासिल गरेपछि र संघमा मन्त्री बनेपछि पर्वतमा पदम गिरीको प्रभाव बढ्दै गएको हो । उसो त गिरी एमालेको कुनै बेला प्रमुख सचेकत पनि बनेका हुन । एमालेमा आफ्नो शक्ति बढाउँदै गएपछि उनले जिल्लामा पनि सोही अनुरुप प्रभाव विस्तार गर्न थालेका हुन ।
गएको जिल्ला अधिवेशनमा पनि छुट्टाछुट्टै उम्मेदवार खडा गरेर प्रतिष्पर्धा भएको थियो ।
तिमिल्सिना ले त्यतिबेलका अध्यक्ष राजु पौडेललाई दोहोर्याउन चाहन्थे । तर, उपाध्यक्ष पदमपाणि शर्माको माहोल देखिएपछि उनलाई अघि सारियो ।
उनले पूर्वमुख्यमन्त्री सुब्बा, पूर्वसंविधानसभा सदस्य कल्पना चापागाईं, पूर्वसंविधानसभा सदस्य एवम पूर्व प्रदेश पर्यटनमन्त्री विकास लम्साल, प्रदेशसभा सदस्य मित्रलाल बस्याल र भक्त कुँवरको साथमा रस्साकस्सीमा अघि लागेका थिए ।
उता गिरी समूहलाई नेतृत्व नदिन पूर्वमुख्यमन्त्री गुरुङ स्वयं पर्वतमा पुगेका थिए ।
गिरी समूहले भने हालका अध्यक्ष गोविन्द पहाडीलाई अघि सारेको थियो । तर, निर्वाचनमा भने गिरी समूहको प्यानल नै निर्वाचित भयो । त्यसपछि पनि पर्वतमा यी दुई समूहबीच प्रतिष्ठाको होडबाजी चलिरहेको छ ।





