शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पर्यटनका लागि प्राथमिकतामा नर्सिङकोट

पर्यटनका लागि प्राथमिकतामा नर्सिङकोट


  • ढोरपाटन संवाददाता
  • बैशाख २६ २०८२, शुक्रबार

निसीखोला गाउँपालिकाको गौरवको आयोजनाको रुपमा यहाँको पर्यटकीय गन्तव्य नर्सिङकोटको विकास गर्ने भने उल्लेख छ । नीति तथा कार्यक्रम र बजेटले पनि पर्यटनको विकासलाई प्राथमिकता दिइएको छ । वडा नं. ७ को नसिंङकोट यो पालिकाभरकै उत्कृष्ट पर्यटकीय गन्तव्य पनि हो ।

स्थानीय तह गठनपछि नै पालिकाले महत्वपूर्ण स्थलको खोजी गर्ने क्रममा नर्सिङकोटलाई प्राथमिकतामा राखिएको छ । अग्लो स्थान, ढोरपाटन नगरापलिकाको बुर्तिवाङसहित निसीखोला गाउँपालिकाको अधिकांस भूगोल देखिने, टुप्पोमा पुग्दा हिमाली श्रृंखलाहरु प्रष्ट देखिने भएकोले पर्यटकीय दृष्टिले यो क्षेत्र महत्वपूर्ण छ ।

ढोरपाटनमा घुम्न आउने पर्यटकदेखि स्थानीयहरु समेत यहाँ लैजान सकेमा यो क्षेत्रको प्रवद्र्धन हुने मात्र नभइ स्थानीयले पनि यो क्षेत्रबाट अधिकतम फाइदा लिन सक्ने संभावना छ । त्यसका लागि गाउँपालिकाले नर्सिङकोट पर्यटकीय क्षेत्रको लागि डीपीआर पनि बनाइसकेको छ । २४ करोडको डीपीआर बनाएर यहाँ सडक मार्गले जोड्ने, पदमार्गमार्फत पदयात्रा गर्ने, यहाँका ऐतिहासिक स्थलको संरक्षण मठमन्दिर निर्माण तथा पुनर्निर्माण गर्नेलगायतको काममा गाउँपालिकाले काम गरिरहेको हो ।

बाइसे चौबिसे राज्यको अवशेषको रुपमा यो क्षेत्रलाई चिनिन्छ । यहाँ ऐतिहासिक मठमन्दिर छन् । नामै नर्सिङकोट रहेकोले यो राजारजौटाको स्थल हो भन्ने कुरामा शंका छैन । साथै, यहाँ कालिका मन्दिर रहेकोले राजाहरुको बसोबास थियो भन्ने पनि बुझिन्छ । किनकि, राजा र सेनाहरु रहेको स्थानमा कालिकाको मन्दिर रहने गरेको छ । त्यस बाहेक केही पुरातात्विक महत्वका भग्नावशेष पनि यत्रतत्र देखिन्छन् । जसका कारण यो क्षेत्रको वास्तविकता खोजी गर्नुपर्ने छ । हरेक वर्ष यहाँ कालीका मन्दिरमा मेला समेत लाग्छ । पुजा गरिन्छ । पूजाका लागि जेठो, मइलो र कान्छो नाम दिएर राँगो, भेडा र बोकाको बली दिने चलन छ । त्यसका लागि स्थानीय बासिन्दाले चन्दा उठाएर पूजाको जोहो गर्छन् ।

पछिल्लो समय यो गन्तव्यका लागि वडा र पालिकाले पनि केही चासो राखेका छन् । जसका कारण यो डिपिआर अनुसार पदमार्ग बनाउने काममा नियमित लगानी भैरहेको छ । सडक संजालले पनि जोड्ने तयारी छ । राजकुत भौगोलिक रुपमा कठिन स्थानमा छ । मध्यपहाडी लोकमार्गले निसीखोला गाउँपालिकाको वडा नं. १ देखि ६ सम्म चिरेर अगाडि बढेको छ । जसका कारण यातायात सेवामा सहज बनेको छ । वडा नं. ७ भने राजमार्गमा जोडिएको छैन । जसका कारण वडामा पुग्न पनि कठिन छ ।

त्यसो त सालझण्डी ढोरपाटन सडकले राजकुत जोडिएको छ । यो सडकको ट्रयाक त खुलेको धेरै वर्ष भयो । यहाँ सडक बन्न सकेको छैन । जसका कारण राष्ट्रिय गौरवको आयोजना भएर पनि फाइदा लिन नसक्ने अवस्था छ । अहिले पनि यो वडामा ४ ब्हील गाडी मात्रै लैजान सकिन्छ । सहज सडक यातायात भएमा बाहिरका मानिस पनि सहजै आउन सक्ने थिए । जसले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्छ भन्छन्– वडाध्यक्ष दिपक कुँवर । ‘हामीले नर्सिङकोट लक्षित कार्यक्रमहरु मात्र सम्पन्न गर्न सकेमा वडाको विकासमा ठूलो टेवा पुग्नेछ,’ उनले भने, ‘गाउँपालिका र प्रदेश सरकारले यो विषय चासो दिनुपर्छ ।’ पर्यटकीय गन्तव्यको रुपमा सूचिकृत गरेर मात्र पनि विकास हुने होइन, यातायात, खानेपानी जस्ता पूर्वाधार बनाएमा अन्य विकासले गति लिने थियो । गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ती पनि नर्सिङकोटलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा लागिरहेको बताउँछन् ।

त्यसबाहेक वडाले सबै विद्यालयमा गुणस्तरीय शिक्षाको अभियान चलाएको छ । अंग्रेजी माध्यममा पढाइ गर्ने, कम्प्युटर शिक्षा दिने र टोलटोलमा गाउँघर क्लिनिक तथा आधारभूत स्वास्थ्य इकाइ स्थापना गरेर नागरिकको स्वास्थ्यलाई उच्च प्राथमिकता दिने लक्ष्य वडाको छ । त्यो अभियानमा निरन्तर काम पनि भैरहेको छ भन्छन् कुँवर । दुर्गम स्थलको रुपमा रहेको चोलाङ र कुँडुलामा पनि बर्थिङ सेन्टर सहितको स्वास्थ्य इकाई राख्ने लक्ष्य उनले सुनाए । पालिकाले दरबन्दी दिएमा ग्रामीण टोलमा एकजना अनमी सहितको स्वास्थ्य सेवा दिने इकाइ थप गर्नुपर्ने आवश्यकता पुरा गर्ने वडाको लक्ष्य छ । बेलाबेला वडा समितिको बैठकमा पनि स्वास्थ्य शिक्षालाई गुणस्तरीय बनाउने विषयले प्राथमिकता पाउने गरेको छ । त्यसबाहेक सबै नागरिकलाई शुद्द पानी खुवाउन सकेमा स्वस्थ्य नागरिक बन्ने अभियान पुरा गर्न सकिने वडा अध्यक्ष दिपक कुँवर बताउँछन् ।

केही समय अघिसम्म यो वडामा राष्ट्रिय प्रसारणको बिजुली थिएन । अहिले यहाँ बिजुली बाल्ने अभियान चलेको छ । तर, पूरा भएको छैन । त्यसका लागि वडाले समन्वयको काम गरिरहेको छ । जबसम्म विद्युतीकरण बन्दैन तबसम्म साना उद्योग, व्यवसाय समेतको परिकल्पना गर्न सकिंदैन । तर पनि पशुपालन, कृषिको व्यावसायीकरणमा भने स्थानीय सक्रिय छन् । किवी खेती यहाँ राम्रो छ । त्यसका लागि पकेटको रुपमा विकास गरेर लैजाने लक्ष्य छ । बिपन्न परिवारलाई बाख्रा वितरण गरेर व्ययसाय उन्मुख बनाउने काम भैरहेको छ । नवप्रवद्र्धन कार्यक्रमअन्तर्गत यो काम गर्दा धेरै नै प्रभावकारी भएको छ ।

खानेपानीको पनि यहाँ सास्ती छ । त्यसैले टुक्रे बजेटबाट काम गर्न निकै कठिन भएपछि वडा अध्यक्षले संघ र प्रदेशमा पहल गरेर ठूला योजनाको तयारी गरिरहेका छन् । गण्डकी प्रदेशसभाका सदस्य द्रोण कुँवरमार्फत लिफ्ट खानेपानी आयोजना खोजी गरेर काम समेत थालिएको छ । त्यसबाहेक पुराना मुहान संरक्षण गरेर नागरिकलाई शुद्द पानी खुवाउने तयारी भैरहेको हो । चोलाङ खानेपानी आयोजनामा ७ करोडको स्टिमेट भएर पनि वर्षेनी थोरै बजेट आएकोले माथिल्लो निकायमा ताकेता गर्न बाध्य भएको उनको भनाइ छ । पर्यटकीय क्षेत्र बनाउने भनेपनि नर्सिङकोटमा अझै पानीको व्यवस्थापन भएको छैन । त्यसैले त्यहाँ पानी लैजाने प्राथमिकता राखेर पालिकाको बजेट केन्द्रीकृत गर्न पहल भएको छ । सानो बजेट आएर अलपत्र परेका योजनामा पनि रकम बढाउन नसके धेरै योजना अलपत्र पर्ने निश्चित छ ।

वडालाई मध्यपहाडी लोकमार्गमा जोड्न दर्लिङखोलादेखि सडकको ट्रयाक खोलिंदै छ । दर्लिङखोला धुँवाखोर सडकलाई प्राथमिकतामा राखिएको छ । त्यस्तै भीरकुना , धावाङ हुँदै प्युठान जोड्न सकेमा यातायातको पहुँच बढ्ने र किसानको उत्पादनले बजार पाउने छ । निसीखोला गाउँपालिकाले शिक्षाको आवधिक योजना पनि बनाएको छ । शिक्षक विद्यार्थी अनुपात मिलाउने, हरेक विद्यालयमा गुणस्तरलाई प्राथमिकता दिने लक्ष्य छ ।

विपतले निसीखोलामा पटक पटक असर परेको छ । त्यसैले विपत व्यवस्थापनका लागि कतिपय योजना संचालनमा छन् । जंगललाई सदुपयोग गर्दै जडिबुटीको उपयोगितामा ध्यान दिने लक्ष्य पनि छ । राजकुत पुरानो पदयात्रा गर्ने खण्डमा पर्छ । सडक यातायातले ओझेलमा परेकोले पुराना बाटो, सिंढीमार्गहरु संरक्षण गर्ने योजना पनि छ । पर्यटन, कृषि र खानेपानी नै पहिलो प्राथमिकतामा राखेर वडाले बजेट र कार्यक्रम मागिरहेको छ । गाउँपालिकाले पनि निसीखोला कृषि र पशुपालनको महत्वपूर्ण क्षेत्र भएको स्विकारेर काम गरेको छ । गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ती त कृषिको विकासले मात्र पालिका समृद्द बन्ने बताउँछन् ।

ग्रामीण अर्थतन्त्र भएकोले उद्योगधन्दाको विकास संभव पनि छैन । तसर्थ पर्यटन, कृषि र पशुपालनबाटै स्थानीयले आम्दानी गर्न सक्ने र अर्थतन्त्र बलियो बनाउन सक्ने स्थिति विचारेर वडाहरुले पनि कार्यक्रम बनाएका छन् । पशुपालन गर्दा बजार सहजै पाइन्छ । मासुका लागि आयात प्रतिस्थापन गर्न सक्नेगरी किसानलाई लगानी गर्न सकेमा बैदेशिक पलायन पनि अन्त्य हुने जनप्रतिनिधिहरुको भनाई छ । बिपन्न बस्तीमा बाख्रा र गाईभैंसी पालनमा अनुदान दिन सकेमा किसानहरु उत्साही भएर लाग्छन् । उचाइ अनुसारका खेतीमा पनि वडाले जोड दिएको छ । किवी खेती यहाँको उत्कृष्ट उत्पादन हो भने केही स्थानमा सुन्तला र कागती खेती पनि गरिएको छ । बजारीकरण गर्न सकेमा किवीबाट धेरै किसानले आयआर्जन बढाउन सक्नेछन् । विद्युतीकरण भैरहेकोले स्टोर बनाउन सकेमा तत्काल फलफूल संकलन गरेर बजार पठाउन सहज हुनेछ ।

सडक पूर्वाधारले जोड्ने पहिलो प्राथमिकता
दीपक कुँवर
वडा अध्यक्ष
वडा नंं ७, निसीखोला गाउँपालिका

निसीखोला भन्ने बित्तिकै मध्यपहाडी लोकमार्गले जोडिएको खण्ड मात्र भन्ने लाग्छ । वडा नं. ७ भने त्यो भन्दा भिन्न छ । किनकी यहाँ लोकमार्ग जोडिएको छैन । न खोलाको पहुँच छ । सडकले बञ्चित र खानेपानी तथा सिंचाइ सेवाबाट बञ्चित वडा भनेर राजकुत चिनिन्छ । सडक र खानेपानी तथा सिंचाइको अभाव भएकै कारण यो वडा बिपन्न बस्तीको रुपमा छ ।

वडाको रुपमा विकास भैसकेपछि सडक नभएपनि, खानेपानी नभएपनि विकासका योजना संचालन गर्नुपर्ने बाध्यता छ । भौगोलिक कठिनाइको बाबजुत पनि हामीले वडाबासीलाई शुद्दपानी खुवाउने योजना पुरा गर्दैछौं । त्यसका लागि परम्परागत मुहान संरक्षण गरेर वा लिफ्ट प्रविधि प्रयोग गरेर पनि योजनाहरु संचालन गरिरहेका छौं । संघिय योजनाहरुले सानो बजेट राखेर धेरै वर्ष लगाइदिंदा स्थानीयबासिन्दाले पानी पिउन पाएनन् । गाउँपालिका र प्रदेश सरकारका पनि प्रभावकारी योजना नभएपछि हामीले अलि धेरै मिहिनेत नै गर्नुपर्ने आवस्यकता भयो । किनकी शुद्द पानी खुवाउने काम सजिलो छैन । गैरसरकारी संस्थाहरुको सहभागितामा केही योजनाहरु बनेका छन् । केही अधुरै छन् ।

शिक्षा र स्वास्थ्यलाई गुणस्तरीय बनाउने हाम्रो लक्ष्य छ । त्यसका लागि यहाँका विद्यालयका भवनहरु पक्की बनाउने, कम्प्युर शिक्षा दिने र शिक्षक, अभिभावक तथा समुदाय मिलेर विद्यालय राम्रो बनाउने अभियान चलाउन जरुरी छ । सरकारी विद्यालयमै पढाउनुपर्छ भनेर दवाव दिने होइन, बरु सरकारी विद्यालय गुणस्तरीय बन्दा निजी क्षेत्रका विद्यार्थीले खोजेर आउने वातावरण बनाउने हो । त्यसबाहेक वडा नं. ७ को मुख्य लगानीको क्षेत्र पर्यटन हो । पालिका भरकै प्रसिद्ध नर्सिङकोटको विकास गर्न सकेमा पर्यटन प्रवद्ध्र्रन हुने र पालिकाकै आयआर्जनमा पनि सहयोग पुग्ने देखिन्छ । तर त्यसका लागि करोडौंका पुर्वाधार योजना बन्न जरुरी छ । ती योजना पुरा गर्न वडाले सक्ने कुरा भएन । पालिकाले सक्दो लगानी गर्ने र प्रदेश तथा संघमा पहल गर्ने हो । त्यसका लागि यो क्षेत्रका सांसदहरुको पनि महत्वपूर्ण भूमिका रहन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->