पाेखरा/ आफुमाथि साघातिक आक्रमण गरेपछि युवा संघका नेता तथा एमाले गण्डकी प्रदेशका सदस्य अर्जुन निर्जन पौडेलले दिएकाे किटानी जाहेरी पर्वत प्रहरीले दर्ता गर्न मानेको छैन ।
पार्टीको गुटगतका कारण बुधवार युवा संघको कार्यक्रमलाई लिएर जिल्ला पार्टी कार्यालयमै उनीमाथि आक्रमण गरिएको थियो । टाउकोमा गम्भिर चोट र हातसमेत भाँचिएका पौडेलको पोखरामा उपचार भइरहेको छ । उनको देब्रे हात भाचिएको र टाउकोमा ८ वटा टाँका लगाइएको छ ।
घटना भएकै दिन बुधवार पौडेलले ध्रुव श्रेष्ठ, मनोज पुरी र सुजन बिकबिरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएका थिए । तर प्रहरीले शुक्रबार साँझसम्म जाहेरी दर्ता गरेको छैन । ‘प्रहरीले जाहेरी दर्ता गर्दिन पनि भनेको छैन, तर गरेको छैन’, एमाले पर्वतका एक नेताले भने, ‘जिल्ला प्रहरी प्रमुखले विभिन्न बहाना बनाइरहेका छन् ।’ पर्वत प्रहरी प्रमुख डिएसपी रविन विष्टले आफु नियमित काममा रहेको र आफुकहाँ कुनै जाहेरी नआएको बताए । ‘विधिसम्मत्, कानुनसम्मत् आउने जाहेरी दर्ता नगर्ने भन्ने कुरा हुदैन’, डिएसपी बिष्टले भने, ‘कारणवश दर्ता नभए सरकारी वकिल र जिल्ला प्रहरी कार्यालय भन्दा माथिल्लो निकायमा गएर दर्ता गर्न सकिन्छ ।’ डिएसपी विष्टले जाहेरी नआएको भने पनि उनकै सल्लाह बमोजिम जाहेरी लगेर मुद्धा हेर्ने प्रहरी निरीक्षकलाई दिइएको अर्जुन पौडेल निकट स्रोतले जनाएको छ । ‘एक दुईजनामात्र खुसुक्क गएर जाहेरी दिएको होइन’, एक नेताले भने, ‘८–१० जना गएर जाहेरी दिएका हौ, डिएसपी सावले जाहेरी आएको छैन भन्नु सरासर गलत हो ।’

घाइते पाैडेल
पर्वतमा पूर्वमन्त्री पदम गिरी र राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिनालगायको एउटा गरी दुई गुट छन् । गिरी एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारी निकट मानिन्छन भने तिमिल्सिना समूह एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट । एमाले गण्डकीमा खगराज र गुरुङको गुटगत प्रतिस्पर्धा चर्को रुपमा रहेको छ । सोही गुटको प्रभावस्वरुप बुधवार पर्वतको घटना भएको हो । एमाले भ्रातृ संस्था युवा संघको अधिवेशन गर्ने की नगर्ने भन्ने विवाद झडपमा पुगेको हो । संघको नवौं अधिवेशनको मिति बुधबार तोकिएको थियो । तर कार्यसमितिका अध्यक्ष विनोद थापा र सचिव प्रकाश थकाली भने त्यसमा सहमत थिएनन । वैशाख २० गते उनीहरुले जारी गरेको विज्ञप्तीमा ‘‘युवा संघ नेपालको राष्ट्रिय महाधिवेशन जेठ ९ देखि ११ गतेसम्म पोखरामा हुने भएका कारण जिल्ला अधिवेशनको लागि प्रतिनिधी छनोट लगायतका कार्य गर्नु पर्ने भएकाले युवा संघ पर्वतको अधिवेशन अर्को सूचना नआउनेसम्म स्थगित’ गरिएको जनाइएको छ ।
तर, यसबा बाबजुद पर्वत एमाले नेतृत्व तथा पदम गिरी समूह भने २४ गते नै अधिवशेन गर्ने अडान लियो । सोही अडान अनुरुप पार्टी कार्यालयमा कार्यक्रम सुरु भएको र त्यसलाई रोक्न भन्दै पुगेका पौडेलसहितका युवाहरु त्यहीँ कुटिएका हुन । पौडेलमाथि कुटपिट भएपछि एमाले पर्वतले भने अधिवेशनको लागि आयोजक कमिटी गठन गरिएको जनाएको छ ।





