पोखरा/पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट देशका विभिन्न सहरहरूमा सिधा हवाई सेवा सञ्चालनको सम्भावनाबारे छलफल भएको छ । पोखरा महानगरपालिकाको पहलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इ.प्रदीप अधिकारी र निजी क्षेत्रका हवाई सेवा प्रदायक आन्तरिक उडान कम्पनीका अधिकारीबीच छलफल भएको हो ।
छलफलमा मन्त्री पाण्डेले पर्यटन राजधानी पोखरामा सञ्चालनमा रहेको सुविधासम्पन्न विमानस्थलबाट सम्भाव्य आन्तरिक गन्तव्यहरूमा नियमित उडान सञ्चालन गर्न सेवा प्रदायकहरूलाई आग्रह गर्नुभयो । सरकारको तर्फबाट आवश्यक नीतिगत सहयोगका लागि मन्त्रालय तत्पर रहेको बताए । उनले काठमाडौँ विमानस्थलको व्यस्तता र केन्द्रीकृत सेवाको यथाशक्य विकेन्द्रीकरण हुनुपर्नेमा सहमति जनाए । पोखराबाट नियमितबाहेक अन्य नयाँ गन्तव्यहरूमा पनि उडान सञ्चालन गर्न सके पर्यटकीय गतिविधिहरू चलायमान हुने उनको भनाइ थियो ।
पोखरा महानगरपालिकाका प्रमुख आचार्यले पोखरा सबै हिसाबले तयार रहेकाले तत्काल मुलुकका सात वटै प्रदेशमा सञ्चालनमा रहेका विमानस्थलहरूमा हवाइ सेवा सञ्चालनको व्यवस्थापन गर्न निजी वायुसेवा प्रदायकहरूलाई आग्रह गरे । पर्यटन राजधानी पोखराबाट मुलुकको कुनै पनि कुनामा हवाइ यात्रामार्फत् पुग्न सकिने सुनिश्चितता गर्न आफूहरू आवश्यक सहजीकरणको लागि तयार रहेको प्रमुख आचार्यको भनाइ थियो । मेयर आचार्यले पुरानो पोखरा विमानस्थल, विमानस्थलकै रुपमा रहन्छ भन्ने कुराको सुनिश्चितताको माग पनि गरे ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्ने संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको समितिको प्रतिवेदन गलत रहेको जिकिर गरे । उनले छानविन समितिले प्रतिवेदनका नाममा सत्य तथ्य कुरा नबुझीकन सस्तो लोकप्रियताका लागि भ्रमको खेती गरेको आरोप पनि लगाए ।
छलफलमा बुद्ध एयरका अपरेसन डाइरेक्टर सुवर्ण खरेल, यति एयरलाइन्सका अध्यक्ष सोनाम शेर्पा, श्री एयरलाइन्सका अध्यक्ष सुधीर मित्तल, समिट एयरका मनोज कार्की लगायतले आफूहरू सेवाका लागि तयार रहेको बताएका छन् । की अध्यक्ष राधिका कुमारी शाही योगी, पर्यटन बोर्डका पूर्वकार्यकारी सदस्य वासु त्रिपाठी, पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठलगायत क्यानका अधिकारीहरूको सहभागिता रहेको थियो ।





