सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

किसानलाई मुर्रा राँगा र मौरीका घार वितरण

किसानलाई मुर्रा राँगा र मौरीका घार वितरण


  • ढोरपाटन संवाददाता
  • बैशाख २७ २०८२, शनिबार

बागलुङ/बागलुङको गलकोट नगरपालिकाका किसानलाई मुर्रा राँगा र मौरीसहितका घार वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत वडा नं. १, ४ र ७ मा ५२ वटा पाडापाडी र चार वटा मुर्रा राँगा वितरण गरिएको हो ।

नगरपालिकाले प्रतिपाडापाडी २५ हजार रुपियाँ अनुदान दिएको र बाँकी रकम खरिद मूल्य अनुसार किसानले थपेको गलकोट नगरपालिकाका पशु शाखा प्रमुख चिन्तामणी शर्माले जानकारी दिए । गलकोट नगरपालिकाले वडा नं. १ दुदिलाभाटी, वडा नं. ४ ओखरबोट र वडा नं. ७ मल्मका किसानलाई गाई÷भैंसी पकेट क्षेत्र घोषणा गरिसकेको छ ।

सोही अनुसार ओखरबोटमा प्रजनन योग्य पाडी २२ वटा र प्रजननका लागि तयार भएका २ वटा मुर्रा राँगा, वडा नम्वर ७ मा एउटा प्रजनन योग्य मुर्रा राँगा वितरण गरिएको शर्माले बताए । वडा नं. १ दुदिलाभाटीमा अर्को महिना राँगा वितरण गर्ने कार्यक्रम छ ।

बढ्दो सहरीकरण, फेरिएका गाउँबस्ती, चरिचरणको अभाव तथा बद्लिएको जीवनशैलीका कारण पछिल्लो समय भैँसीपालन पेसा संकटमा पर्दै गएकाले किसानको उत्साहका लागि पडापाडी वितरण गरिएको शर्माको भनाई छ । गलकोटलाई दुधालु भैँसीको स्रोत केन्द्रका रुपमा विकास गर्ने नगरपालिकाको लक्ष्य रहेको छ ।

नगरपालिकाका आर्थिक विकास समितिका संयोजक तथा मल्मका वडा अध्यक्ष राजबहादुर थापा र ओखरबोटका वडा अध्यक्ष बलबहादुर खत्री, गलकोट भैंसी पकेट समन्वय समितिका संयोजक नरबहादुर बुढाथोकीले किसानलाई पाडापाडी र राँगा बितरण गरेका थिए ।

यस्तै, गलकोट ७ मल्मका किसानलाई मौरी सहितको घार वितरण गरिएको छ । चालु आर्थिक वर्षमा वडा स्तरीय कृषि समितिलाई विनियोजित बजेटबाट किसानलाई मौरी सहितको घार वितरण गरिएको हो । मौरीको घारलाई विस्तार गरेर किसानलाई व्यावसायिक बन्नको लागि हौसला प्रदान गर्न मौरीसहितको घार वितरण गरिएको हो ।

मल्मका चालिस किसानलाई ५० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरिएको वडा स्तरीय कृषि समितिका अध्यक्ष नगेन्द्र बहादुर मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->