शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

पोखरामा धोबीघाट मेलोडीमाथि परिचर्चा

पोखरामा धोबीघाट मेलोडीमाथि परिचर्चा


  • ढोरपाटन संवाददाता
  • बैशाख २८ २०८२, आइतबार

प्रश्न आउँदा म सफल : मुकुन्दराज
पोखरा/निबन्धकार मुकुन्दराज शर्माको निबन्ध सङग्रह ‘धोबीघाट मेलोडी’ माथी परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

कामना पब्लिकेसनद्वारा प्रकाशित पुस्तक माथि भएको परिचर्चा कार्यक्रममा साहित्यकार शर्माले आफुलाई प्रश्न आएपछि मात्रै सफल भएको महसुुस गरेको बताएका छन् । ¥यान्डम रिडर्स सोसाइटी नेपालको आयोजनामा रिडर्स कर्नरमा आयोजना गरिएको कार्यक्रममा आफ्नो भनाइ राख्दै लेखक शर्माले वास्तवमै निबन्ध लेखन चिया गफ भएको र त्यो चिया गफ सामान्य नरहेको सुनाउँदै उनले आफूले गीति संग्रह निकाल्ने तयारी गर्दा गर्दै निबन्ध संग्रह निकालेको सुनाए ।

‘मेरो विचारमै सबै रमाए त्यसको के अर्थ ? मैले जे बुझे सबैले त्यहि बुझेर पनि भएन । आज यहाँ प्रश्न आए म धेरै खुसी छु कि मेरो विचारभन्दा फरक विचारसमेत दिन सकेको रहेछु,’ उनले भने, ‘निबन्धमा प्रश्न जब आउँछ तब नै लेखकलाई सफल भएको महसुुस हुन्छ जुन आज मलाइ पनि भएको छ ।’ उनका अनुसार प्रश्न सोधेपछि त्यसमा हेर्ने दृष्टिकोणमा पृथकता आउँनेछ जसले लेखकलाई अझ गहन भएर लेख्न समेत प्रभावित गराउँदछ । निवन्ध मार्फत उहाँले जीवन सुरमा पनि र बेसुरमा हुने कुरा उल्लेख गरेका छन् । साहित्यकार सरुभक्तले निबन्धमा लेखक बढी स्वतन्त्र हुने सुनाउँदै पछिल्लो समय नेपालको संविधानले दिएको स्वतन्त्र मुख छाड्ने स्वतन्त्र रहेको स्पष्ट सुनाए । उनले एक साहित्यकारलाई आफ्नो नैतिकतामा रहेर स्वतन्त्र लेख्न कसैले नरोक्ने धारणा राखे । निबन्धमा विचार राख्दा स्वतन्त्र रुपमा लेख्न नैतिकता राख्नु संघर्षपूर्ण काम रहेको सुनाउँदै लेखकलाई शुभकामना दिए । डा. जीवनलाल बस्यालले लेखकमा निबन्ध लेख्ने क्षमता रहेको र अबका दिनमा निबन्ध लेखनमै लाग्न आग्रह गरे ।

लेखकका हिउँचुलीमा हिउँ बग्यो…, वनमाराले वनै खायो… लगायत चर्चित गीतका गीतकारसमेत रहेका शर्माको यसअघि ‘शब्दशिविर’ नामक निबन्ध सङ्ग्रह प्रकाशित छ । गणित विषयका विभिन्न पाठ्यपुस्तकसमेत लेखेका उनी लिटिल एन्जल स्कुल, काठमाडौँका प्रिन्सिपल हुन् ।

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार रघुनाथ वाग्लेले कृतिको चर्चा गर्दै धोबीघाट मेलोडी जीवन मेलोडी भएको धारणा राखे । उनले भने,‘जीवन जसरी हिजो आजसँग मिल्दैन, आज भोलिसँग मिल्दैन तर प्रत्येक दिनले आआफ्नो छाप छोडेकै हुन्छन् । त्यसरी नै धोबीघाट मेलोडीका निबन्धहरू एउटा अर्कोसँग मिल्दैनन् तर सबै निबन्धहरूले सशक्त सन्देश बोलेका छन् ।’

समाजका चम्चेहरूलाई व्यङ्ग्यको तिखो वाण प्रहार गर्न निबन्ध सफल भएको भन्दै वाग्लेले चम्चागिरी गर्नेहरू ठूलाबडाका पैतालावरिपरि भेटिने यथार्थ शर्माले प्रस्तुत गरेका बताए । देशप्रेमको भावना विस्तार र सामाजिक विसङ्गतिप्रति व्यङ्ग्य एकसाथ प्रस्तुत गर्न कृति सफल रहेको वाग्लेको भनाइ छ । निबन्धमा गरिएका केही नयाँ प्रयोगले निबन्धकार शर्मालाई विशिष्ट पहिचान दिएको भन्दै उनले आम नेपालीको चाहनालाई निबन्धमा उतारिएको बताए ।

निबन्धमै विद्यावारिधि गरेका डा. जीवलाल बस्यालले आफू शर्माका निबन्धसँग लामो समयदेखि परिचित रहेको बताउँदै उनका निबन्धमा पाइने छुट्टै स्वादले पाठक प्रभावित हुने गरेको अनुभव सुनाए ।

सोसाइटीका पूर्व अध्यक्ष उपेन्द्र पौडेलले कृति विभिन्न फूलहरूको माला जस्तै सुन्दर बनेको भनाइ राखे । ससाना कुरामा पनि भावुक भएर निबन्ध लेख्नु शर्माको निबन्धगत वैशिष्ट्य भएको पौडेलले बताए ।

कार्यक्रमको सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गरेका थिए । हरेक महिनाको अन्तिम शनिवार कुनै विषय वा कृतिमाथि बहस गर्दै आएको सोसाइटीले जेठ महिनाको अन्तिम शनिवार सुरेश भुसालको कृति ‘छालबाटो’ माथि रोशन शेरचनले परिचर्चा गर्ने पुस्तक छनोट समितिका संयोजक केशवशरण लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->