बागलुङ/जैमिनी नगरपालिका ३ का किशोरी र युवाहरुले सीप सिकेर उद्यमी बन्न थालेका छन् । उनीहरुले तत्काल बिक्री हुने खालका उद्यम र उत्पादन गरेका हुन् ।
विद्यालय उमेरका किशोरीहरुले अल्लोको सामान बनाउन सिकेका छन् भने अन्य युवाले मुडा बनाएर आम्दानी लिन थालेका हुन् । कक्षा १० मा पढ्ने अनिषा बिकले पढ्दा पढ्दै अल्लोको सामान बनाएर उद्यमी बन्न थालेको बताइन् । चैत तेस्रो सातादेखि बैसाख तेस्रो सातासम्म विद्यालय बन्द भएको समय पारेर अल्लोको सामान बनाउन जानेको उनले बताइन् । जंगलबाट अल्लो (चाल्ने सिस्नो) ल्याएर धागो निकाल्ने, धागोको सामाग्री बनाउने काम पनि उनले जानेकी छिन् ।
उनकै साथी जुना श्रीषले एसईई दिएर बसेको समयमा अल्लोको धागो र कपडा बुन्न जानेकी छिन् । अब यो सीपलाई व्यवसायिक बनाउने उनको योजना छ । बजारमा अल्लोका सामाग्री बिक्री गरेर व्यवसाय गर्ने श्रीषको चाहना छ । किशोरीहरुले सिकेको सीपलाई व्यवसायमा लैजाने तयारी गरेका छन् । जैमिनी ३ को दमेक, कालापतल, बनौ, नौलाको बस्तीमा अल्लो धेरै पाइन्छ । संकलन गर्ने सीप भएमा घरमै बसेर व्यवसायिक बन्न सकिन्छ । त्यसका लागि यहाँका केही महिलाहरुले नियमित काम गरिरहेका छन् । नयाँ पुस्तालाई यो सीप सिकाएर उद्यमशिल बनाउन पहल गरेको स्थानीय गंगा घर्तीमगरले बताइन् ।
प्रशिक्षक भएर गंगाले स्थानीय किशोरी र युवतीहरुलाई १५ दिनको तालिम दिएको बताइन् । जंगलमा पुगेर अल्लो पहिचान गर्ने, अल्लो काटेर कसरी ल्याउने, सुकाउने, पानीमा पकाउने, मकैको पिठोमा मुछेर सुकाउने र त्यसबाट धागो कात्ने काम लामो प्रकृया छ । यो प्रकृयाबारे उनले प्रयोगात्मक रुपमा प्रशिक्षण दिंदा गाउँका २० जनाले काम सिकेका छन् । उनीहरुले मेहेनत गरेर काम गरिदिए भने लाखौंको धागो उत्पादन हुने घर्तीले जानकारी दिइन् । नयाँ उद्यमीले काम गरेमा सहजै बिक्री गर्न सकिनेछ । मगर र छन्त्यालको बसोबास भएको जैमिनी ३ मा घरघरै अल्लोको सल, पच्छ्यौरा, झोला र भाँग्रो बिक्री भैरहेकोले थप युवा उद्यमीले यो सीप खोजेका हुन् ।
परम्परागत सामाग्रीमा उनीहरुको संस्कृति समेत जोडिएकोले नगरपालिकाले युवा उद्यम विकास कार्यक्रममार्फत यो सहयोग गरिएको नगर उपप्रमुख हरिहर शर्माले बताए । हरेक वडामा युवा उद्यमशिलता र सशक्तीकरणको बजेट राखेर कार्यक्रम गरेको र त्यसबाटै ढाका बुनाइ मुढा बुनाइ, मह उत्पादन, सशक्तिकरण र कानूनी सचेतनाको तालिम पनि संचालन गरिएको हो ।
वडा नं. ३ कै २० जना युवाले मुढा बनाउने तालिम लिएर काम थालिसकेका छन् । स्थानीय बाँसलाई सदुपयोग गर्दै उनीहरुले मुढा बनाएका हुन् । ग्रामीण क्षेत्रमा घरघरमा मुढाको अत्याधिक उपयोगिता भएकोले तालिम मागेर काम सिकेको स्थानीय शक्तीकला घर्तीले बताइन् । कच्चा पदार्थबाट उत्पादन गर्न सस्तो पनि पर्ने र युवाहरुले आयआर्जन गर्न सक्ने भएपछि यो तालिम दिएको वडा अध्यक्ष कृष्णबहादुर भुजेलको भनाइ छ । बुन्न सकेमा जति पनि बिक्री हुने उद्यमीको अनुभव छ । नगरपालिकाले स्थानीय श्रोतलाई उपयोग गर्ने खालका मह उत्पादन, आलुको चिप्स बनाउने, बाँकोको गुन्द्रुक बनाउने जस्ता तालिम पनि दिएको छ । कतिपय युवाले अचार लगायतको परिकार बनाएर पनि कमाइ गर्न थालेका छन् ।





