पोखरा/ पोखराको दर्शन बचत तथा ऋण सहकारी संस्थाले महिला शेयर सदस्यहरुलाई उद्यमशिल बनाउन अचार बनाउने तालिम सम्पन्न गरेको छ ।
उक्त तालिममा प्रशिक्षक अनामिका श्रेष्ठले नेपाल ठकुरी संगम परिवार कास्की, ठकुरी महिला परिवार, ठकुरी भुपु परिवार र ठकुरी युवा परिवार कास्कीका महिला सदस्यहरुलाई मासु, मेथि र लसुनको अचार बनाउन सहजीकरण गरेकी थिइन् । नेपाल ठकुरी संगम परिवार कास्कीको प्राङ्गणमा भएको कार्यक्रममा अध्यक्ष राजाराम शाहीले महिला सदस्यलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले अचार बनाउने तालिम सञ्चालन गरिएको बताए । उनले तालिममा सीप सिकेपछि पेशा तथा व्यवसाय सञ्चालन गरेर उद्यमी बन्न चाहनेलाई संस्थाले नीति नियम अनुरुप सहयोग गर्ने प्रतिबद्वता पनि व्यक्त गरे ।
प्रशिक्षक अनामिका श्रेष्ठले आमा दिदी बहिनीहरुले आफ्नै घरमा बसेर पनि खाली समयमा अचार बनाएर आफुलाई घर खर्च चलाउन सहयोग पुग्ने विश्वास ब्यक्त गर्दै तालिमबाट सिकेको सीपलाई फुर्सदको समयमा अचार बनाएर बेच्न सुझाइन् । उत्पादन गरेका अचारको बजारीकरण तथा व्यवस्थापनका लागि आफूहरुले सहयोग गर्ने संस्थाले जनाएको छ ।





