बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

शालिग्राम संरक्षणमा चुनौती

शालिग्राम संरक्षणमा चुनौती

धार्मिक आस्थाका अलावा शालिग्रामभित्र सुन र बहुमूल्य धातु हुन्छ भन्ने हल्लाले पनि चोरी निकासी बढ्दो


  • हरिकृष्ण गौतम
  • बैशाख ३० २०८२, मंगलबार

म्याग्दी/वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४,का वडा अध्यक्ष कर्मा ग्याछो गुरूङ कागबेनीमा आउने भक्तजनलाई घरायसी प्रयोजनबाहेक शालिग्राम नलैजान अनुरोध गर्छन् । पितृको नाममा श्राद्ध तथा पिण्ड दिनाले मोक्ष प्राप्ति हुने र पितृ उद्धार हुने जनविश्वासका साथ आउने भक्तजनहरूलाई चोरीनिकासीले लोप हुन थालेको भन्दै संरक्षणमा तिर्थालुकै सहयोग माग्ने गरेका छन् । दामोदरकुण्डदेखि कागबेनी क्षेत्रमा संकलन गरी व्यापकरुपमा चोरी निकासी हुने वडा अध्यक्ष गुरूङले बताए ।

वडाध्यक्ष गुरूङ भन्छन्,‘व्यापारीहरूले यसलाई अवैध बिक्री गरी कमाउन थालेका छन् । चोरी निकासी नियन्त्रणका प्रयासहरू प्रभावकारी हुन सकेनन् ।’ कागबेनी क्षेत्रमा शालिग्राम अन्यत्र भन्दा धेरै पाइन्छ । आफ्नो वडामा रहेको कागबेनीमा आउने तिर्थालुले घरमा पूजा गर्ने कालो चिल्लो शालिग्राम चिनोको रुपमा लैजान र अहिले चोरीनिकासी नियन्त्रणमा सघाउन सार्वजनिक रूपमा अनुरोध गर्ने गरेको उनले बताए ।

कालीगण्डकी नदीमा मात्रै पाइने बहुमूल्य शिला शालिग्राम अवैधरुपमा गरिएको व्यापक नदीदोहनका कारण मासिँदै जान थालेका छन्। उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ मा अवस्थित कालीगण्डकी नदीको मुहान मानिने दामोदरकुण्डबाट बगेर आउने शालिग्राम शिलालाई अवैध बिक्रीका लागि ठूलो परिमाणमा संकलन गरी मुस्ताङ बाहिर पठाउने गरिएको छ ।

शालिग्रामभित्र सुन लगायतका बहुमूल्य धातुहरू हुने भन्दै नेपालका विभिन्न जिल्लाबाट स्थानीयलाई मगाउने र केही ब्यापारीले सवारीसाधनको प्रयोग गरी बोरामा हालेर पठाउने गरेको पाइन्छ । मुस्ताङबाट अवैध रुपमा लैजाने गरिएको शालिग्राम नेपालका विभिन्न धार्मिकस्थलका साथै भारत हुदै तेस्रो मुलुकसम्म पुग्ने गरेको छ । मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी भगवान विष्णु पतिव्रता वृन्दाको श्रापका कारणले शिलास्वरूप भइ गण्डकी क्षेत्रमा रहनुभएकाले शालिग्रामलाई भगवान विष्णुको अंश मानेर हिन्दू धर्मावलम्वीहरूले पूजा गर्ने गरेको बताउँछन् ।

शालिग्रामको जल, कुशको आसन, मुखमा तुलसी रहेमा जतिसुकै पापी भए पनि त्यो व्यक्तिको पुनःजन्म नहुने धार्मिक किम्बदन्ती छ । पूजारी सुबेदीका अनुसार, पञ्चतत्वले बनेको मानव शरीर संरक्षण र सम्वर्धन गर्न गणेश, शिव, विष्णु, देवी, सूर्यस्वरूप पूजा गरिने भएकाले ब्यापारिक दृष्टिकोणबाट भइरहेको अवैध निकासीलाई रोक्न कार्यमा सहयोग गर्नुपर्ने छ ।

बर्खाको समयमा माथिल्लो क्षेत्रबाट बगाएर कागबेनीमा ल्याउने शालिग्राममा प्राकृतिक रुपमा नै शंख, चक्र, गदा, पद्म आकार कुदिएको पाइन्छ । कालिगण्डकीको माथिल्लो क्षेत्रबाट चोरीनिकासी हुने र बग्दै म्याग्दी, पर्वत आउने शालग्राम नदीमा जथाभावी डोजर र स्काभेटरको प्रयोगले लोप हुने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी बिशाल अधिकारीका अनुसार तिर्थालुले ब्यक्तिगत प्रयोजनका लागि लैजाने शालग्रामलाई कुनै अवरोध नभए पनि ठूलो परिणममा चोरी निकासीलाई सुराकी र चेकजाँच गरी नियन्त्रणमा लिने गरिएको बताए । २०८१ साल जेठ १२ गते १५ वटा बोरामा ४ सय केजी र ०८१ चैत्र २६ गते ३४ वटा बोरामा ८ सय ९४ केजी शालिग्राम शिला जफत गरिएको प्रहरी निरीक्षक अधिकारीको भनाइ छ ।

प्रहरी निरीक्षक अधिकारी भन्छन्, ‘मुस्ताङ प्रवेश र बाहिरिने क्रममा चेकपोष्टमा मोटरसाइकल, अन्य सवारीसाधनमा चेकजाँच हुन्छ, प्रहरीको निगरानीले मात्रै पनि चोरीनिकासी नियन्त्रणको सम्भावना छैन ।’ जफत गरिएको सवारीसाधन, शालिग्राम सहित चालक, ब्यापारीलाई एक्यापलाई हस्तान्तरण गर्ने गरिएको छ ।

हालसम्म एक्याप जोमसोमले पोखरामा रहेको केन्द्रीय कार्यालयमा आवश्यक कारवाहीका लागि पठाउने गरेको छ। शालग्रामको अवैध निकासीलाई प्राकृतिक स्रोतसाधनको दुरुपयोगअन्तर्गत नै कानुनी प्रक्रिया अगाडी बढाइएपनि अहिलेसम्म कुनै पनि कारवाही भएको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->