शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

चीनले खुट्टा नकमाएपछि अन्ततः झुके ट्रम्प

चीनले खुट्टा नकमाएपछि अन्ततः झुके ट्रम्प


  • ढोरपाटन संवाददाता
  • बैशाख ३० २०८२, मंगलबार

काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्वतन्त्रता दिवस’ भन्दै अप्रिल २ मा सबै व्यापारिक साझेदारलाई १० प्रतिशत र मुख्य प्रतिस्पर्धी देशहरूलाई उच्च ‘रेसिप्रोकल’ (पारस्परिक) भन्सार लगाउने घोषणा गरेका थिए।

सो घोषणापछि सबै देशलाई उनले जबाफी कदम चाले अझ उच्च भन्सार लगाउने र नचाले पुरस्कृत गर्ने धम्की दिएका थिए। उनको डरले चीन बाहेक कसैले पनि जबाफी कदम चालेनन्।

अमेरिकासँग व्यापार फाइदा भएका सबै देशलाई विभिन्न उच्च दरको भन्सार लगाई गलाएर अमेरिकालाई फाइदा हुने सर्तमा व्यापार सम्झौता गर्ने मनसायले उनले पारस्परिक भन्सार महसुल लगाएका थिए। जबाफी कदम नचाल्नेलाई पुरस्कृत गर्ने भने पनि व्यापार सम्झौता नगरूञ्जेल भन्सार घटाउने उनको मनसाय थिएन।

तर यही कारण अमेरिकी अर्थतन्त्र नै धराशायी हुने खतरा भएपछि उनले एक हप्तामै ७० वटाभन्दा बढी देशलाई लगाएको उच्च पारस्परिक दर फिर्ता लिए र सबैलाई १० प्रतिशत दर लगाए।

चीनले भने उनको धम्की बेवास्ता गर्दै जबाफी भन्सार दर लगायो। ट्रम्पले रिसाएर दर अझ बढाउने र चीनले फेरि जबाफ दिने क्रम चल्दै जाँदा ट्रम्पले दोस्रो कार्यकाल सुरू भएपछि चीनलाई लगाएको भन्सार दर अकाशिएर १४५ प्रतिशत पुग्यो। अर्को तर्फ चीनले अमेरिकी वस्तुमा लगाएको भन्सार दर १२५ प्रतिशत पुग्यो।

यसरी चीनले जबाफी कदम चाले पछि ६ हप्ता नपुग्दै ट्रम्प झुक्नुपर्‍यो।स्विट्जरल्यान्डको जेनेभामा शनिबार र आइतबार चलेको अमेरिका–चीन व्यापार वार्तापछि सोमबार दुवै देशले एक अर्कालाई लगाएको भन्सार दर ९० दिनका लागि ११५ प्रतिशत विन्दुले घटाउने घोषणा गरे।

यसपछि ट्रम्पको दोस्रो कार्यकालमा चीनमाथि लगाएको भन्सार दर ३० प्रतिशतमा झरेको छ। फेन्टनिल लागुपदार्थ बनाउन चाहिने कच्चा रसायन बेचेको भन्दै १० प्रतिशतका दरले दुई पटक लगाएको र सबै देशलाई लगाएको पारस्परिक दर १० प्रतिशत गरी ३० प्रतिशत मात्रै कायम हुनेछ।

चीनले भने सबै अमेरिकी वस्तुमा १० प्रतिशत मात्रै थप भन्सार लगाउने छ। घोषित रूपमा चीन र अमेरिकाबीच व्यापार वार्ता यो सप्ताहन्तमा भए पनि ट्रम्पले व्यापार युद्ध सुरू गरेपछि दुई देशको पहिलो व्यापार वार्ता करिब तीन साताअघि भएको थियो।

अन्तर्राष्ट्रिय मुद्रा कोषको (आइएमएफ) बैठकका लागि चीनका अर्थमन्त्री लान फोआन वासिङटन आएको बेला उनलाई अमेरिकी अर्थ (ट्रेजरी) मन्त्री स्कट बेसेन्टले आइएमएफको मुख्यालयमा भेटेको फाइनान्सियल टाइम्सले लेखेको छ। अमेरिकाकै पहलमा सो भेट भएको मानिन्छ। त्यही भेटपछि हालै जेनेभामा भएको वार्ताका लागि तयारी गरिएको भनिन्छ।

सोमबार दुवै देशले एक अर्कालाई लगाएको भन्सार दर ११५ प्रतिशत विन्दुले घटाउने घोषणा गरेपछि ट्रम्पले विजयी शैलीमा चीनसँग पूर्ण ‘रिसेट’ गरेको उदघोष गरे। चीनले धेरै नोक्सानी बेहोरेको, त्यहाँ कारखानाहरू बन्द भएको दाबी गर्दै उसलाई नोक्सान नहोस् भनेर भन्सार महसुल घटाउने निर्णय गरेको पनि उनले बताए।

यस्तो दाबी गरे पनि अमेरिकी अर्थतन्त्रमा संकट आउने लक्षण देखिएपछि ट्रम्प झुक्नुपरेको हो।अमेरिकासँग ठूलो व्यापार नाफा भएकाले आफ्ना सामान विक्री नभएर चीनलाई पनि कष्ट भएको थियो। बेलायती पत्रिका द इकोनमिसटका अनुसार चीनबाट अमेरिका हुने निर्यात अप्रिलमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा २१ प्रतिशतले घटेको थियो। सोमबार सहमतिको घोषणा नभएको भए मेमा अझ घट्ने अनुमान थियो।

चिनियाँ राष्ट्रपति सी चिनफिङले कुनै पनि हालतमा ट्रम्पसामु नझुक्ने नीति अपनाएका थिए। अहिले झुके अमेरिकाले पेलेर विकास र प्रगति नै रोक्छ भनेर चीनले नझुकीकन अमेरिकासँग व्यापार युद्ध लडेको थियो।

धेरैले ट्रम्पको हेपाहा प्रवृत्तिलाई स्कुलको ‘दादा बच्चा’ सँग तुलना गर्छन्। त्यस्ता दादाले कमजोर बच्चाहरूलाई छानेर हेप्छन्। आफू जत्तिकै वा अझ बलियासँग निहुँ खोज्दैनन्। हेपिएकाले सही रहे हेपिरहन्छन् तर प्रतिकार गरे डराएर पछि हट्छन्।

यसरी ट्रम्पसामु नझुकेर प्रतिकार गर्ने सीको नीति सफल भयो। ट्रम्प जस्तो सार्वजनिक रूपमा हल्का टिप्पणी नगर्ने सीले सोमबारको घोषणापछि भने मुख खोलेका छन्। बेइजिङमा ३० देशको मन्त्रीस्तरीय सम्मेलनमा मंगलबार बोल्दै उनले ट्रम्पको घाउमा नुन छर्किए।

ट्रम्पले जस्तो विपक्षीको नाम उनले लिएनन्। तर भन्सार र व्यापार युद्धमा कोही पनि विजयी नहुने उनको अभिव्यक्ति कोप्रति लक्षित हो भनेर प्रस्ट छ। ‘दादागिरी र वर्चस्वमुखी नीतिले स्वयं एक्लिइन्छ,’ उनले टिप्पणी गरे।

आफूलाई अब्बल सौदागर र अमेरिकी इतिहासकै सबभन्दा महान राष्ट्रपतिमध्ये एक ठान्ने ट्रम्प अन्ततः चीनसामु झुक्नुपर्‍यो। चिनियाँ राष्ट्रपति सी कसै गरी नझुक्ने देखेपछि ट्रम्पले खुट्टा कमाउन थालेको संकेत केही साताअघि नै देखिएको थियो।

करिब तीन साताअघि उनले चीनलाई लगाएको १४५ प्रतिशत भन्सार दरमा व्यापक कटौती गर्न आफू तयार रहेको बताएका थिए। उनले त्यसो भन्नुअघि अमेरिकाका तीन सबभन्दा ठूला खुद्रा बिक्रेता (रिटेलर) वालमार्ट, टार्गेट र होम डिपोका प्रमुखहरूले भेटेका थिए। सो भेटमा उनीहरूले अहिले नै मूल्य वृद्धि नभएको तर व्यापार युद्ध चलिरहे भाउ बढ्ने मात्रै नभएर आपूर्ति प्रणाली नै बिग्रिने र आफ्ना पसल रित्तिएर उपभोग्य वस्तु नै नपाइने खतरा हुने बताएका थिए।

त्यसपछि ट्रम्पले चीनलाई लगाएको भन्सार दरमा व्यापक कटौती गर्न आफू तयार रहेको बताएका थिए। त्यसभन्दा पहिले उनका अर्थमन्त्री (ट्रेजरी मिनिस्टर) स्कट बेसेन्टले पनि लगानीकर्तासँग बन्द कोठामा भएको सम्मेलनमा चीनसँगको व्यापार युद्ध मत्थर हुने बताएका थिए। व्यापार युद्ध लामो समयसम्म तन्काइराख्न दुवै देशलाई सम्भव नहुने भएकाले यो मत्थर हुने बेसेन्टले जिकिर गरेका थिए।

दुई कार्यकाल (दस वर्ष) मात्रै राष्ट्रपति हुने चलन तोडेर अनन्त कालसम्म शासन गर्न आफ्ना विपक्षीलाई किनारा लगाएका सीलाई ट्रम्पले सुरू गरेको व्यापार युद्धले फाइदा भयो। देश भित्र चीनको प्रतिष्ठाका लागि अमेरिकासँग लडेको भनेर उनले वाहवाही कमाए भने अन्तर्राष्ट्रिय मञ्चमा ट्रम्पलाई झुकाएपछि उनको छवि झन् बलियो भयो।

दुवै राष्ट्रपतिको व्यक्तिगत इतिहासले पनि उनीहरूबीचको प्रतिस्पर्धामा थप प्रकाश पार्छ। दुवै जना उच्च परिवारमा जन्मेको भए पनि उनीहरू धेरै फरक परिस्थितिमा हुर्केका थिए।

धनी परिवारमा जन्मेका ट्रम्पले दुःख सामना गरेका छैनन्। सन् १९६० दशकमा भियतनामसँगको युद्ध लड्न अनिवार्य भर्तीबाट जोगिन उनले खुट्टाको हड्डीमा चुच्चो निस्किएको बहाना बनाएका थिए। त्यसपछि पनि ट्रम्पका लागि देशभक्तिको खासै महत्त्व छैन। देशका लागि लड्ने उनका लागि ‘मूर्ख’ हुन्।

पहिलो कार्यकालमा, सन् २०१८ मा फ्रान्स जाँदा उनले प्रथम विश्व युद्धमा मृत्यु भएका अमेरिकी सैनिकलाई ‘लुजर्स’ भन्दै उनीहरूको चिहान भ्रमण नगर्ने बताएका थिए। सो युद्धमा ज्यान गुमाउनेलाई उनले मूर्ख भनेको भनेर उनका चिफ अफ स्टाफ जोन केल्लीले पनि पछि पुष्टि गरेका थिए।

अर्कोतर्फ, माओ त्सेतुङसँगै कम्युनिस्ट क्रान्तिमा सहभागि भएका र पछि उपप्रधानमन्त्री समेत भएका सी झोङसुनका छोरा भए पनि सीको बाल्यकाल फरक थियो। सी दस वर्ष नपुग्दै माओले उनका बुबालाई कारबाही गरेर सबै पदबाट हटाए। सी १३ वर्ष हुँदा सुरू भएको सांस्कृतिक क्रान्तिका बेला त उनका बुबालाई जेल नै हालियो, ज्यानै जाने खतरा भयो। कलिलो उमेरको भए पनि सीलाई समेत कारबाही गरियो।

सीकी आमा की सिन पनि पार्टी कार्यकर्ता थिइन्। उनलाई कारबाही गरिएन तर कारबाहीबाट जोगिन उनलाई समेत श्रीमान र छोराको विरोध गर्नुपरेको थियो। द इकोनोमिस्टका अनुसार एउटा चोकमा सीलाई उभ्याएर ‘सी चिनफिङ मुर्दावाद’ भनेर नारा लगाउँदा कीले पनि सँगै नारा लगाएकी थिइन्।

सीलाई कारबाहीमा परेका नेताहरूको छोराछोरीलाई राख्ने बन्दी गृहमा पठाइयो। एक पटक बन्दीगृहको झ्यालबाट भागेर भारी वर्षामा राति घर फर्किएका सीले आफूलाई भोक लागेको भन्दा पनि आमाले ढोका खोलिनन्। अँध्यारो रातमा फिर्ता पठाइदिइन्। अनि पार्टी अधिकारीलाई त्यसबारे खबर गरिन्। सँगै रहेका सी भन्दा साना दुई सन्तानलाई पनि कारबाही होला भन्ठानेर उनले त्यसो गरेको हुन सक्छ।

सी वर्षौंसम्म परिवारबाट टाढा रहनुपरेको थियो। १६ वर्षको हुँदा उनलाई गरिब किसानहरूबाट पाठ सिक्न एउटा दुर्गम गाउँ पठाइएको थियो। त्यति बेला लाखौं सहरी बालबालिकालाई गाउँको जीवनबारे सिक्न पार्टीले नै त्यसरी पठाउँथ्यो।

सो गाउँमा किसानसँग काम गर्नुपरेका सीले अघाउन्जेल खान पाएनन्। लामो समयसम्म मासु देख्न समेत पाएनन्। पहिलो पटक मासु देख्दा भोकका कारण काँचै खाएका थिए।

माओको निधनपछि सीका पिताको कारबाही फिर्ता भयो र सन् १९७८ मा उनलाई पार्टीमा पूर्ण रूपमा पुनर्स्थापित गरियो। त्यसपछि सी फेरि अरू ठूला नेताका छोराछोरी जस्तै राजकुमारको हैसियतमा फर्किए। र, बिस्तारै पार्टीमा बढुवा हुँदै सन् २००८ मा उपराष्ट्रपति र पाँच वर्षपछि राष्ट्रपति बने।

राष्ट्रपति बनेपछि पनि सीले आफू सानो हुँदा भोगेको दुःखले आफूलाई बलियो बनाएको र पछि पार्टीका लागि काम गर्न मदत पुगेको बताउँछन्। अहिलेका बालबालिका सुखमा हुर्किएकाले कमजोर भएको भन्दै उनीहरूले पनि दुःख बुझे ठूलो भएर पछि अझ कर्मठ नागरिक बन्ने भनेर उपदेश दिन्छन्। उनले उपदेश दिए जस्तै कष्ट सहेर पनि ट्रम्पसामु नझुकेपछि चीन अझ बलियो देखिएको छ।

अर्कोतर्फ अमेरिकाको राष्ट्रपति भएकाले आफूले जे गर्दा पनि हुन्छ भन्ने सोच्ने ट्रम्पले अर्को पाठ पनि पढेका छन्। अर्थतन्त्र र बजार उनले भने जसरी चल्दैन भन्ने पाठ उनले पारस्परिक भन्सार लगाएको एक हप्तामै पाएका थिए। जोसुकैसँग जथाभावी निहुँ खोजे लज्जास्पद रूपमा पछि हट्नुपर्छ भन्ने पाठ उनलाई सीले पढाएका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->