तस्बिरहरु : रञ्जिता शर्मा
बागलुङ/नेपाल प्रेस युनियन केन्द्रीय समितिले आयोजना गरेको लोमान्थाङ अन्तराष्ट्रिय मिडिया समिटको अन्तिम दिन बुधबार गन्तव्य बागलुङ, पर्यटन प्रवद्र्धनका लागि मिडिया कार्यशाला सम्पन्न भएको छ ।
पाँच दिनदेखि जारी मिडिया समिटका सहभािगलाई बुधबार बागलुङबाट बिदाइ समेत गरिएको छ । मिडिया समिट र बागलुङ पर्यटन कार्यशालामा १ सय ४० पत्रकार सहभागि थिए ।
गत शनिबार काठमाण्डौंदेखि शुरु भएको कार्यक्रम पोखरा, जोमसोम, मुक्तीनाथ, लोमान्थाङसम्म चलेको थियो । बुधबार बागलुङ कालीका मन्दिरमा आयोजित कार्यक्रममा सहभागिले मिडिया समिटले जलवायु परिवर्तनको असर र न्युनिकरणबारे गरेको बहससँगै पर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण योगदान पुगेको बताए ।

बुधबारको कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले भौतिक पूर्वाधार थप्नेभन्दा भएका संरचनाको व्यवस्थापन र प्रचार गर्ने कुरा ठूलो भएको बताए । साथै, उनले महत्वका क्षेत्रलाई पर्यटनमा जोड्ने, आर्थिक विकासमा लगाउने काम ठूलो भएको पनि बताए । ‘मिडिया समिटले ओलेझमा परेका स्थानको उजागर बन्ने, स्वदेशमै संभावना छ भन्ने देखाउने काम गर्नेछ’ उनले भने, ‘जलवायु परिवर्तनले पारेको प्रभावलाई न्युनिकरण गर्न पनि सरोकारवालाको ध्यान तान्ने छ ।’
मंगलबार लोमान्थाङमा युनियनले २० बुँदे घोषणापत्र जारी गरेको छ । उक्त घोषणापत्रमा जलवायु संकटलाई क्षेत्रीय र विश्वव्यापी चुनौतीको रुपमा स्वीकार गर्दै यसले जीवन, जीविकोपार्जनमा पारेको असरलाई जोडदार रुपमा उठाएको छ ।
त्यस्तै मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रता र सूचनामा पहुँचमा पारेको प्रभावलाई पनि जोड दिएको छ । पर्यावरणमैत्री, समावेशी र दिगो विकास नीति, योजना र पूर्वाधारका लागि आब्हान गर्दै संचार क्षेत्र, राजनीतिक नेतृत्व लगायत सबैले जलवायु क्षेत्रमा चासो बढाउन पनि आग्रह गरेको थियो ।

बुधबारको कार्यक्रममा बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले पर्यटन प्रवद्र्धनका अपार संभावना भएर पनि श्रोत साधन अभावमा पूर्वाधार बनाउन नसकिएको भन्दै संचार क्षेत्रको पहलबाटै गन्तव्यहरु बन्न सकेको बताइन् ।
नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्ती मगरको अध्यक्षता, सचिव डम्मर बुढाको संचालन र उपाध्यक्ष सुवास आचार्यको स्वागतमा सम्पन्न कार्यक्रममा नेपाल प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारी, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्य, कालीका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्का लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष नरेश कंडेलले बागलुङको पर्यटन संभावना र चुनौती बिषयक कार्यपत्र प्रस्तुतीकरण गरेका थिए ।
लोमान्थाङ मिडिया समिटले जलवायु परिवर्तनको संकट न्युनिकरणका लागि पारेको प्रभावबारे सबैको ध्यानाकर्षण गर्नका लागि नै यो अभियान गरेको थियो । समिटमा अन्तराष्ट्रिय पत्रकार महासंघकी उपाध्यक्ष समिना इन्द्रजितसहित भारत, बंगलादेश, भुटान, बुल्गेरिया र श्रीलंका लगायतका देशका पत्रकार पनि सहभागि थिए । बरिष्ठ पत्रकारहरु हरिहर विरही, तारानाथ दाहाल, धर्मेन्द्र झासहित युनियनका पूर्व अध्यक्षहरु पनि सहभागि थिए ।





