पोखरा/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले नागरिक स्वास्थ्यमा अपेक्षाकृति रुपमा राज्यको लगानी र ध्यान जान नसकेकोप्रति चिन्ता व्यक्त गर्दे राज्यले स्वास्थ्य क्षेत्रमा ध्यान केन्द्रित गर्नुपर्ने बेला भएको बताएका छन् ।
मनाङलाई पुर्णखोप सुनिश्चित जिल्ला घोषणा गर्न प्रादेशिक जनस्वास्थ्य कार्यालय मनाङले बुधबार सदरमुकाम चामेमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाठकले पुर्णखोप कार्यक्रम तीनै तहका सरकारको साझा कार्यक्रम भएकोले सफल पार्न पनि तीनै तहका सरकारले सहकार्य गर्नुपर्नेमा जोड दिए ।
गण्डकी प्रदेशभित्र खोप कार्यक्रम सफल पार्न २१ सय खोप केन्द्रमा १५ सय खोप कर्मचारी खटिरहेको जानकारी दिँदै पाठकले २८ हजारभन्दा बढी बालबालिकालाई खोप दिईने योजना रहेको सुनाए । बैशाख महिनाभर खोज र खोप लगाउ भन्ने अभियान संचालन गरिएकोले सरोकारवालले यसतर्फ ध्यान दिन उनको आग्रह छ ।
प्रदेशको स्वास्थ्य मन्त्रालय स्वास्थ्य संस्थाहरुको सुदृढीकरण र मजबुतीकरणका लागि अस्पतालहरुको स्तरोन्नति गर्न लागिएको मन्त्री पाठकको भनाई थियो । प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट निर्माणबारे चर्चा गर्दै पाठकले भने, ‘आगामी वर्षको बजेट पपुलिष्ट नभएर यथार्थ परक हुने छ, यथार्थपरक बजेटले मात्र पपुलिष्ट परिणाम दिन्छ ।’ दुर्गम क्षेत्रमा सेवा गर्ने स्वास्थ्यकर्मीलाई कानुनमै व्यवस्था गरेर थप सुबिधा दिने तयारी भईरहेको जानकारी दिँदै पाठकले आगामी बजेटमा यसबारे उचित व्यवस्था गरिने बताए ।





