सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

घुम्टे लेकमा पर्यटकीय चहलपहल बाक्लिँदै

घुम्टे लेकमा पर्यटकीय चहलपहल बाक्लिँदै


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २ २०८२, शुक्रबार

बागलुङ/बागलुङको गलकोट नगरपालिकाको हरिचौर, मल्म, पाण्डवखानी, ताराखोला गाउँपालिकाको हिल र ताराको सिमानामा पर्छ पर्यटकीय घुम्टे लेक । समुद्री सतहदेखि दश हजार ३ सय ९३ फिटको उचाईमा रहेको घुम्टे प्राकृतिक, धार्मिक र जैविक विविधताले महत्वपूर्ण मानिन्छ । घुम्टे लेकमा पूर्वाधार बनेपछि पर्यटकीय चहलपहल बाक्लिन थालेको छ ।

पछिल्लो समय प्रकृतिमा रमाउनेदेखि धर्ममा आस्था राख्ने पर्यटकको रोजाईमा घुम्टे लेक पर्न थालेको हो । गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अनुसार, वर्षेनी हजारौँ पर्यटकले घुम्टे लेक चढ्ने गरेका छन् । वैशाख पूर्णिमामा विशेष मेला लाग्ने गुराँसको पहाडले परिचित घुम्टेमा नयाँ वर्षको छेकोमा गुराँस उत्सव समेत हुँदै आएको छ । गुराँस फुल्ने याममा घुम्टे चढ्ने पर्यटकको संख्या उल्लेख्य हुने गर्छ । वैज्ञानिक अध्ययन नभएपनि घुम्टेमा दर्जन प्रजातिमा गुराँस भएको अनुमान छ ।

घुम्टे चढ्न सहज पदमार्ग लगायतका पूर्वाधार बनेपछि वर्षेनि पर्यटकको संख्या बढ्दै गएको हो । घुम्टेको धुरीमा अवस्थित सिद्ध र भैरवको मन्दिरले धार्मिक पर्यटनलाई थप बढावा दिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंकबहादुर बस्नेत बताउँछन् । घुम्टे लेकमा चलेको तीनदिने मेलामा झण्डै ६ हजार भक्तजनले सिद्व र भैरव मन्दिरमा पूजाअर्चना गरेका छन् ।

बागलुङ लगायत पोखरा, चितवन, काठमाडौँबाट आएका भक्तजनले सिद्ध भैरव मन्दिरमा पुजाआर्चना गरेको अध्यक्ष बस्नेतले बताए । पौराणिक किंवदन्तीसँग जोडिएका मन्दिरमा पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने विश्वासमा भक्तजन त्यहाँ पुग्ने गर्छन् । पदयात्रामा रमाउने पर्यटकका लागि पनि घुम्टे आकर्षक गन्तव्य हो । वैशाख पूर्णिमामा घुम्टे चढ्नुभएका गलकोट वडा नं. ११ रिघाका दानबहादुर श्रीसले भगवानको दर्शनसंगै प्रकृतिमा रमाउँदा आनन्द महशुश भएको बताए ।

केन्द्रले घुम्टे चढ्न रिचौर, टेउवा हुँदै जाने पदमार्ग बनाएपछि पर्यटकलाई थप सहज भएको छ । पदमार्ग, मन्दिरको स्तरोन्नति लगायतका पूर्वाधारका काममा हालसम्म १ करोडभन्दा बढीको काम भएको केन्द्रले जनाएको छ । पर्यटन मन्त्रालय र स्थानीयको जनश्रमदानमा पदमार्गको काम भएको अध्यक्ष बस्नेतले बताए ।

प्राकृतिक सुन्दरता, बहुमूल्य जडीबुटी, ऐतिहासिक मन्दिर, गुराँसको घनाजंगल घुम्टेका सौन्दर्य हुन् । बसन्त ऋतुमा फूल्ने लालीगुराँस हेर्नका लागि पनि पर्यटक घुम्टे चढ्ने गरेको अध्यक्ष बस्नेतको भनाई छ । सिद्धेश्वरको गुफा, राम्चे ओडार, गोठथरी, बुलाहा बाबाको आश्रम, भीमसेन लौरी, दमाहा ढुंगा, दहपानी, टोड्केपानी, पैराका सोतो शालीग्राम घुम्टेका पर्यटकीय आकर्षण हुन् ।

घुम्टे लेकमा डाँफे, मुनाल, काँडेभ्याकुर चरा, कस्तुरी, मृग, घोरल, चित्तल, थार, भालु लगायतका वन्यजन्तु पाइन्छन् । चिराइतो, पाँचआंँले, भुत्केस, जटामसी, हनुमानवीर, गुजरगानो, पखनबेत, शिलाजित, परलचाल्नो, सतुवा, रौतेमुला, एक्लेवीर जडीबुटी पाइन्छन् । हरिचौरको टेउवा, मल्मको टोकरी, पाण्डवखानीको सिद्धथानसम्म गाडी पुगेपनि त्योभन्दा माथि तीन घण्टाको पदयात्रापछि घुम्टे पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->