शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

अन्नपूर्ण म्याराथनको पाचौँ संस्करण जेठ २० मा

अन्नपूर्ण म्याराथनको पाचौँ संस्करण जेठ २० मा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २ २०८२, शुक्रबार

पोखरा/ अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको नियमित वार्षिक कार्यक्रम अन्तर्गत अन्नपूर्ण आरोहण दिवस (जुन ३) का दिनको अवसरमा अन्नपूर्ण म्याराथनको पाँचौं संस्करण यही जेठ २० गते हुने भएको छ । समितिले आज पत्रकार सम्मेलनमार्फत यसको जानकारी दिएको हो ।

पर्यटनका लागि सबै मौसम भन्ने नाराका साथ समग्र पर्यटन प्रवद्र्धन गरी अन्नपूर्ण आधारशिविर पदयात्रा मार्गको पूर्वाधार विकासको प्रयोजनार्थ अन्नपूर्ण आरोहण दिवसका अवसरमा समितिले म्याराथनको आयोजना गर्दै आएको छ । अन्नपूर्ण आधारशिविर (४१३० मिटर) बाट सुरु भई माछापुच्छ्रे आधार शिविर, वगर, देउराली, हिन्कु केभ, हिमालय, दोभान, बम्बो, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुकस्थित मेश्रम वराह माविको खेल मैदानसम्म (४२.१९५ किमी) म्याराथन रुट निर्धारण गरिएको छ ।

सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्गोजको टोलीले अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर) को सफल आरोहण गरेको ७५ वर्ष भएको छ । यस अर्थमा पनि यस वर्षको अन्नपूर्ण म्याराथनको पाँचौ संस्करण हीरक उत्सवका रुपमा समेत मनाउन लागिएको समितिका अध्यक्ष ललित गुरुङले बताए । यस अवसरमा अन्नपूर्ण म्याराथनलाई अन्तर्राष्ट्रिय इभेन्टका रुपमा विकास गर्न निरन्तर क्रियाशिल रहेको उनको भनाई छ । म्याराथनको सम्पूर्ण प्राविधिक काम अल्टिमेट एडभान्चर नेपालले गर्नेछ । अघिल्लो वर्षको तुलनामा यसवर्षको अन्नपूर्ण म्याराथनमा अन्तराष्ट्रिय धावकहरुको सहभागिता बढ्ने अपेक्षा गरिएको छ । सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमानी राखेको सन्दर्भमा उक्त दिनलाई “अन्नपूर्ण आरोहण दिवस” मनाउने गरिन्छ । र, सोही दिनको सम्झनामा अन्नपूर्ण म्याराथन हुने भएकाले यसको छुट्टै ऐतिहासिक गरिमा रहेको गुरुङले बताए ।

महिला तथा पुरुषतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा रहने अन्नपूर्ण म्याराथन–२०८२ सहभागिताका लागि स्वदेशी तथा विदेशी धावकहरुले नाम दर्ता गराउने क्रम जारी रहेको छ । १० विदेशी धावकसहित हालसम्म ६० धावकहरुले आ–आफ्नो नाम दर्ता गराइ सकेका छन् । नाम दर्ताका लागि ७ हजार शुल्क तोकिएको छ । प्रतियोगितमा बिजेताले एक लाख ५० हजार, दोस्रो हुनेले एकलाख, तेस्रो हुनेले ७५ हजार नगद पुरस्कार पाउनेछन् । साथमा पदक र प्रमाण पत्र रहनेछ । जेठ १५ सम्मलाई नाम दर्ताको समय तोएिको छ । साथै अन्नपूर्ण गाउँपालिका र गण्डकी प्रदेशले प्रथम हुनेलाई विशेष पुरस्कारको व्यवस्था गरेका छन । साथै महिलातर्फ निरन्तर ३ पटकसम्म सहभागी हुने धावकलाई विशेष पुरस्कार, बिदेशी धावक प्रथम भए विशेष पुरस्कार, अन्नपूर्ण पत्रकारिता पुरस्कार–२०८२ वितरण र विविध सांस्कृतिक कार्यक्रम पनि हुने पत्रकार सम्मेलनमा जनाईयो ।

अन्नपूर्ण म्याराथन–२०८२ सम्पन्न गर्नका लागि करिब ३८ लाख रुपियाँ लाग्ने अनुमान गरिएको छ । उक्त रकम अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, छोम्रोङ पर्यटन व्यवस्थापन समिति, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), राष्ट्रिय प्रकृति संरक्षण कोष, घान्द्रुक पर्यटन व्यवस्थापन समिति, टाँडापानी पर्यटन व्यवस्थापन समिति, राष्ट्रिय खेलकूद परिषद्, गण्डकी प्रदेश खेलकूद परिषद्, अन्नपूर्ण काठमाडौं समाज नेपाल, गुरु आनन्द फाउन्डेशन, अर्ना वियर, एभेरष्ट बैंक, न्यूरोड शाखा, होटल रक एण्ड मुड, कल्चर रिसोर्ट, घान्द्रुक सी.वाई.सी. क्लिनिकसहितका अन्य पर्यटनसँग सम्बन्धित संघसंस्थासँगबाट सहयोग प्राप्त हुने आयोजकले जनाएको छ । म्याराथन सम्पन्न गर्नका लागि ५०१ सदस्यीय रहेको मुल व्यवस्थापन समिति, विभिन्न १३ वटा उपसमिति गठन गरिएको र हालसम्म ९० प्रतिशत तयारी पूरा भइसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->