बागलुङ/दिव्या सेक्युरिटी एण्ड स्टक हाउस प्रा.लि.को आयोजनामा शुक्रबार बागलुङमा लगानीकर्ता भेटघाट तथा सेयर शिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहजीकरण गर्दै प्राविधिक विश्लेषक सन्दिप कुमार चौधरीले सेयर बजारमा सधैं नाफा मात्र नभई घाटा पनि हुने हुँदा नाफा हुँदा प्रोफिट बुक गर्न सक्ने र घाटा हुँदा पनि स्टप लस गर्न सक्ने लगानीकर्ता नै असली लगानीकर्ता भएको बताए ।
‘बजारले लगानीकर्तालाई दिन्छ पनि लिन्छ पनि’ चौधरीले भने, ‘लगानीकर्ताले योजनासहित अनुशासनमा रहेर लगानी गर्दा बजारबाट लाभ लिन सकिन्छ ।’ नवप्रवेशी लगानीकर्तालाई प्राविधिक ज्ञान लिएर मात्र लगानी गर्न चौधरीको सुझाव छ । सावधानी, अनुशासन र सुविचारित योजनाले कारोबारीलाई लक्ष्यमा पुग्न मद्दत गर्ने चौधरीको भनाई थियो ।
कार्यक्रममा लगानीकर्ताहरु याम प्रसाद शर्मा, भूपाल चालिसे, सालिकराम शर्मा र वीरबहादुर बोहराले राखेको जिज्ञासा मेटाउँदै दिव्या सेक्युरिटी एण्ड स्टक हाउसका अध्यक्ष राम प्रसाद आचार्यले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए । स्टक हाउस प्रा.लि.का प्रबन्धक विवश गैरेको संचालनमा सम्पन्न भएको कार्यक्रममा स्वागत प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत निर्दाेष लम्सालले गरेका थिए ।







