पोखरा/उच्च अदालत पोखराले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई उनीहरुविरुद्धको मुद्दामा भइरहेको सुनुवाइबारे जानकारी दिन आदेश दिएको छ ।
उच्च अदालत पोखराका मुख्यन्यायाधीश रत्नबहादुर बागचन्द र न्यायाधीश मिलन राईको इजलासले शुक्रबार लामिछाने र जोशीलाई सुनुवाइ भइरहेको जानकारी गराउन आदेश दिएको हो ।
रवि लामिछाने यतिबेला रुपन्देही कारागारमा रहेका छन् । सूर्यदर्शन सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग लागेका उनीविरुद्धको मुद्दाको लागि बिहीबार पेसी तोकिएको थियो । तर,रविपक्षीय वकिलहरुले पेसीबारे प्रतिवादीलाई जानकारी नै नभएको भन्दै शुक्रबारको इजलासमा आपत्ति जनाएका थिए ।
बुटबलको सु्प्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा उच्च अदालत बुटवलले जिल्ला अदालतको आदेश बदर गर्दै गएको चैत २२ गते थुनामा पठाउने आदेश दिएपछि अहिले उनी रुपन्देही कारागारमा रहेका छन् । उनी कारागारमा भएको जानकारी उच्च अदालत पोखरालाई जानकारी गराइएको थिएन । त्यही विषयको चर्चा भएपछि उच्च अदालतले सो आदेश दिएको हो ।
‘प्रतिवादीहरूमध्येका रवि लामिछाने र छविलाल जोशीको तर्फबाट विद्वान् वरिष्ठ कानुन व्यवसायीहरूले प्रतिवादीहरू हाल अन्य मुद्दाको सन्दर्भमा कारागार कार्यालय रूपन्देहीमा थुनामा रहेको भनी जानकारी गराउनु भएको सन्दर्भलाई विचार गरी रवि र छविलाललाई सुनुवाइको जानकारी छिटो माध्यमबाट सम्बन्धित कारागार कार्यालयमार्फत पठाई,’ आदेशमा भनिएको छ, ‘निवेदक प्रतिवादीहरू आरती गुरूङ, मिना गुरूङ, रामबहादुर खनाल, लिला पछाई र कृष्णबहादुर गुरूङका हकमा सुनुवाइलाई निरन्तरता दिने गरी प्रस्तुत प्रतिवेदनलाई जेठ ४ गतेको हेर्दाहेर्दैको पेसीमा तोकी नियमानुसार पेस गर्नू,’ अदालतको आदेशमा भनिएको छ ।
बाँकी प्रतिवादीहरु आरती गुरूङ, मिना गुरूङ, रामबहादुर खनाल, लीला पछाई र कृष्णबहादुर गुरूङको हकमा सुनुवाइलाई निरन्तरता दिने पनि आदेशमा उल्लेख छ । अर्को पेसी जेठ आइतबारको लागि तोकिएको छ । बहस नसकिएपछि इजलासले मुद्दालाई हेर्दाहेर्दैमा राख्न आदेश दिएको हो ।
यसअघि जिल्ला अदालत कास्कीले गएको पुस २५ ते सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी,संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको अभियोगमा रविसहित सात जनालाई धरौटी लिइ रिहा गर्न आदेश दिएको थियो । सूर्यदर्शन बचत तथा ऋण सहकारीको ठगी आरोपमा लामिछानेसँग ६५ लाख र जोशीसँग ८८ लाख धरौटी माग गरिएको थियो ।
न्यायाधीश नितिज राइको एकल इजलासबाट भएको आदेशमा लामिछानेसहित प्रतिवादीका नाममा सहकारीबाट पैसा गएको देखिएकाले कसुरदार होइनन् भन्ने नदेखिएको’ किटान गरिएको थियो । सूर्यदर्शन सहकारीबाट रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा पैसा गएको भन्दै परेको उजुरीमा सो आदेश आएको हो ।
आदेशपछि जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आदेश दिँदा बिगो भन्दा निकै कम रकम धरौटी माग गरिएको, थुनामा पठाउनुपर्ने प्रतिवादीलाई रिहा गरेको,बेरितको आदेश आएको उच्च अदालत गुहारेका थिए । उता, आदेशविरूद्ध लामिछाने, जोशीलगायतले उच्च अदालत पोखरामा बेरितको आदेश बदर गरिपाऊँ भन्दै निवेदन दर्ता गराएका थिए । अहिले त्यही मुद्दाउपर सुनुवाइ चलेको हो ।
सोही सहकारी प्रकरणमा पूर्वसंचालक समिति सदस्य शिवबहादुर गुरूङ ‘महेन्द्र भोटे’,कर्मचारी भविश्वर अर्याल, सहकारीका कोषाध्यक्ष एवं ग्यालेक्सी टेलिभिजनका म्यानेजर कुमार रम्तेल, सहकारीका पूर्वउपाध्यक्ष कैलाशकुमार दर्लामी मगर, सञ्चालक समिति सदस्य प्रमोद भट्टराई पूर्पक्षका लागि थुनामा रहेका छन् भने मुख्य योजनाकार मानिएका जीबी राईलगायत फरार छन् ।





