पर्वत/छोराको कुटपिटबाट बुबाको मृत्यु भएको अभियोगमा पर्वतका एक व्यक्ति पुर्पक्षको लागि कारागार चलान भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक सुमित श्रेष्ठका अनुसार जिल्लको जलजला गाउँपालिका–८ घर भएका ४६ वर्षीय श्रीलाल दमाईलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । दमाइले गत वैशाख चार गते राती करिब ११ बजेको समयमा आफ्नै ७० वर्षीय बुबा प्रेमलाल दमाईमाथि कुटपिट गरेको अभियोग लागेको छ । मादक पदार्थ सेवन गरेका श्रीलालले छुट्टै घरमा बस्दै आइरहेका बुबाको कोठामा छिरेर सुतिरहेको अवस्थामा कुटपिट गरेको तथा बुबाको टाउको कोठाको भित्तामा ठोक्काएर घाइते बनाएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।
कुटपिटबाट घाइते भएका बुबालाई प्रारम्भिक उपचार धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा गरेपछि थप उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) र मणिपाल शिक्षण अस्पताल पोखरामा गरिएको थियो ।
दुवै अस्पतालका चिकित्सकहरूले उपचार सम्भव नरहेको बताएपछि प्रेमलाललाई एम्बुलेन्समा राखेर घर फर्काउँदै गर्दा गत वैशाख छ गते बाटोमा नै मृत्यु भएको थियो। मृतकका परिवारकातर्फबाट जिल्ला प्रहरी कार्यालय पर्वतमा घट्नाको विषयमा जानकारी गराएपछि श्रीलाल पक्राउ परेका थिए । गत वैशाख ३१ गते पर्वत जिल्ला अदालतको थुनछेक आदेशले प्रतिवादी श्रीलाललाई पुर्पक्षको लागि कारागार चलान गरिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।





