बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मोदीका सुत्केरीलाई पोषण भत्ता

मोदीका सुत्केरीलाई पोषण भत्ता


  • संजय रेग्मी
  • जेष्ठ ७ २०८२, बुधबार

पर्वत/मोदी गाउँपालिकाले आफ्नो स्थानीय तहका सुत्केरीहरूलाई पौष्टिक आहार पूर्तिका लागि आर्थिक राहत दिएको छ ।

गाउँपालिकाले सञ्चालन गरिरहेको ‘सुत्केरीसँग अध्यक्ष’ कार्यक्रममार्फत हालै गाउँपालिकाका ३५ जना आमाहरूलाई प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँका दरले आर्थिक सहयोग गरिएको हो । गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले गाउँपालिकाका आठवटै वडाका सुत्केरीहरूलाई झन्डै ९० हजार रुपैयाँ सहयोग गरिएको बताइन् ।

‘जो भए पनि सुत्केरी तथा महिलाको स्वास्थ्यमा गम्भीर भएकै हुनुपर्छ। त्यसमा पनि म त महिला नै अध्यक्ष छु । सुत्केरी बेलामा पौष्टिक तत्त्व पुगेन भने त्यसले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था बिग्रिन्छ’, उनले भनिन्, ‘यो रकम धेरै त होइन। तर गाउँपालिकाले सुत्केरी आमाहरूले आफ्नो पौष्टिक आपूर्तिमा ध्यान दिनुपर्छ भन्ने सन्देश दिन यो कार्यक्रम महत्त्वपूर्ण छ ।’

यो सुविधा प्राप्त गर्नका लागि स्वास्थ्य संस्थामै पुगेर सुत्केरी भएको हुनुपर्ने, निर्धारित मापदण्ड अनुसार नै नियमित गर्भ परीक्षण गरिएको हुनुपर्ने लगायतका प्रावधानहरू राखिएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख जनस्वास्थ्य निरीक्षक उमेशकुमार अधिकारीले आर्थिक वर्ष २०७६÷०७७ बाटै यो कार्यक्रममा सञ्चालनमा रहेको बताउँदै हालसम्म एक सय ७० जना भन्दा बढी सुत्केरीहरू यो कार्यक्रमबाट लाभान्वित भएको जानकारी दिए ।

यो कार्यक्रमको प्रमुख उद्देश्य भनेको नवजात शिशु र सुत्केरीको स्वास्थ्य राम्रो बनाउन पोषण उपलब्ध गराउनु र घरमा नै सुत्केरी हुनबाट रोकेर स्वास्थ्य संस्थामा सुत्केरी हुनु, समय समयमा बच्चाको अवस्थाका बारेमा थाहा पाउन गर्भ परीक्षण गराउनु रहेको उनको भनाइ छ ।

सुरुमा ‘सुत्केरीसँग उपाध्यक्ष’ भनेर यो कार्यक्रम चलाएको भए पनि पछिल्लो कार्यकालमा गाउँपालिकाको अध्यक्षमा महिला निर्वाचित भए पनि कार्यविधि फेरिएको छ । हिरादेवी शर्मा महिला अध्यक्षको रूपमा आएपछि पुरानो कार्यविधि खारेज गर्दै कार्यक्रमलाई ‘सुत्केरीसँग अध्यक्ष’ कार्यक्रम सुरु गरिएको हो ।

यो कार्यक्रमबाट सुत्केरीले प्राप्त गरेको रकमबाट यही नै खाद्य वस्तु खरिद गरेको हुनुपर्छ भन्ने तोकिएको छैन । सुत्केरीहरूले आफ्नो आवश्यकताका आधारमा पोषणयुक्त खानेकुरा किन्न सकिने प्रावधान राखिएको छ । आर्थिक रूपमा सामान्य परिवारले पोषणको अभाव झेल्नु नपरे पनि आर्थिक रूपमा समस्यामा रहेका सुत्केरीहरूका लागि यो कार्यक्रम आवश्यक बनेको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतले गत वैशाखको पहिलो सातामा मोदी गाउँपालिकामा आयोजना गरेको पोषण लेखाजोखा तथा स्क्रिनिङ कार्यक्रममा स्वास्थ्य परीक्षण गरिएका धेरै बालबालिकाहरूमा पोषणको अभाव भएको पाइएको थियो ।

पाँच वर्ष मुनिका कुल एक सय ७८ जना बालबालिकाहरूको पोषणको अवस्थाको बारेमा स्क्रिनिङ गर्दा १० जना बालबालिकाहरूमा कडा खालको कुपोषण तथा ४१ जनामा मध्यम खालको कुपोषण रहेको पाइएको थियो । कडा रूपमा कुपोषित बालबालिकाहरूलाई प्रदेश अस्पताल पर्वतमा रहेको पोषण पुनस्थापना केन्द्र र मध्यम कुपोषितहरूलाई ओटिसी (आउट प्यासेन्ट थेराप्युटिक सेन्टर) मा रहेर पोषणमा ध्यान दिनुपर्ने गरी सुझाव दिइएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->