शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

पोखरामा २ करोड मुल्य बराबरको करिब ४०० टन तरबुजा उत्पादन

पोखरामा २ करोड मुल्य बराबरको करिब ४०० टन तरबुजा उत्पादन


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ ९ २०८२, शुक्रबार
पोखरा/ पोखरा महानगरपालिका–१३ र १४ वडाका  कृषकलाई लक्षित गरी कुँडहरमा तरबुजा खेतीमा गरिएको एकिकृत शत्रुजीव व्यवस्थापन (आपिएम) कृषक पाठशाला प्रभावकारी बनेको छ ।
बिउदेखि उत्पादनको बजारीकरणसम्म सहयोग पु¥याउने गरी कृषि प्राविधिकको प्रत्यक्ष निगरानी एवम् स्थलगत प्रशिक्षणका कारण पाठशालामार्फत तरबुजा खेती सम्बन्धमा धेरै कुराहरू प्रत्यक्ष जान्ने र सिक्ने अवसर मिलेको सूर्यचन्द्र कृषक समूहका सहसचिव मिलन अधिकारीले बताए । उनका अनुसार कृषकहरूले समूहगत रुपमा करिब १४ रोपनी क्षेत्रफलमा सामुहिक तरबुजा खेती गरेका छन् भने व्यक्तिगत रुपमा पनि ठाउँ ठाउँमा तरबुजा खेती गरिएको छ ।
यस वर्ष लगाइएको तरबुजा खेतीले यस ठाउँमा यस खेतीको सम्भावना देखाएको बताउँदै उनले आगामी वर्षमा यहाँका धेरै ठाउँमा कृषकहरूले तरबुजा खेती गर्ने बताए ।तरबुजा खेतीमा कुल १७ हप्ता समयावधिको पाठशालाका क्रममा प्रत्येक हप्ताको आइतबार यहाँका कृषकहरूसँग कृषि प्राविधिक सहित स्थलगत रुपमा अध्ययन अनुसन्धान सहितको सिकाई गरिएको पोखरा महानगरपालिकाका कृषि महाशाखाका कृषि प्राविधिक उमा पुनले जनाइन् । उनका अनुसार कृषकहरूलाई सिकाउने क्रममा विभिन्न तीन समूहमा विभाजन गरिएको थियो ।
यस बीचमा सूर्यचन्द्र आइपिएम कृषक पाठशालामा लगाइएको तरबुजा मध्ये करिब पाँच हजार पाँच सय किलोग्राम तरबुजा बजारमा बिक्रीका लागि लगिसकिएको र अरु बिक्रीका लागि लैजाने तयारीमा रहेको समूहका अध्यक्ष विश्वराज सापकोटाले बताए ।पोखरा महानगरपालिका कृषि विकास शाखा प्रमुख मनहर कडरियाका अनुसार पोखरामा विगतमा सामान्य परीक्षणका रूपमा मात्र गरिएको तरबुजा खेती यस वर्ष २०० रोपनी क्षेत्रफलमा विस्तार भएको छ । महानगरपालिकाले कृषकलाई बीउ र मलचिङमा सहयोग गरेको छ ।
पोखरा महानगरपालिका वा नं १३, २३, ३०, ३२ र ३३ मा यस खेतीप्रति आकर्षण बढिरहेको बताउँदै उहाँले यस वर्ष पोखरामा करिब ४०० टन (दुई करोड रुपैयाँ बराबर) को तरबुजा उत्पादन भएको जानकारी दिए । महानगरपालिकाले स्थानीय सरस्वती जातको तरबुजाको ‘ब्रान्डिङ’ र बजारीकरणका लागि स्टिकर तयार गरेको उनको भनाई छ । पोखरामा तरबुजा खेती एउटा विकल्पका रुपमा प्रमाणित भएको बताउँदै उनले यसले रोजगारी अभिबृद्धिमा पनि महत्वपूर्ण योगदान पुग्ने बताए ।  आइपिएममा सरस्वती जातसँगै स्वीट हनी जात पनि लगाएर परीक्षण गरिएको उल्लेख गर्दै प्रमुख कडरियाले पोखरा आसपासमा सरस्वती जातको नै बढी उपयुक्त देखिएको जनाए । तरबुजा खेतीमा गरिएको अध्ययनले प्राङगारिक उत्पादन अन्य भन्दा स्वादिलो देखिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->