सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

उत्तरगंगा जलविद्युत आयोजना बागलुङतर्फ बन्छ : प्रचण्ड

उत्तरगंगा जलविद्युत आयोजना बागलुङतर्फ बन्छ : प्रचण्ड


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ९ २०८२, शुक्रबार

बागलुङ/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उत्तरगंगा जलासययुक्त जलविद्युत आयोजना बागलुङतर्फ बन्ने बताएका छन् । रुकुम की बागलुङ जिल्लामा बनाउने विषयमा बहस भईरहँदा सस्तो र सहज रुपमा बनाउन सकिने र धेरै विद्युत उत्पादन हुने भएकोले बागलुङतर्फ बनाउने काममा पहल गर्ने प्रचण्डले आश्वासन दिए ।

जनतासंग माओवादी, मध्यपहाडी लोकमार्ग जनजागरण अभियानको क्रममा शुक्रबार बागलुङ बजारमा आयोजित सभामा बोल्दै प्रचण्डले अछेते–गलकोट शुरुङमार्गको डिपिआर र गलकोट– म्याग्दी जोड्ने सडकलाई बजेट विनियोजनमा सघाउने प्रतिवद्वता जनाएका छन् ।

उनले मध्यपहाडी लोकमार्ग आफ्नै प्रस्तावमा बनेको दोहोर्याए । मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग र हुलाकी राजमार्ग समेत आफ्नो पहल र निर्णयमा भएको दाबी गर्दै प्रचण्डले बनेका पूर्वाधार अब स्तरीय बन्नुपर्ने बताए । उनले निरास भएका जनतालाई आसा जगाउन पनि राजमार्गको यात्रा सफल भएको दाबी गरे ।

प्रचण्डले मध्यपहाडी जनजागरण अभियानमा आम नागरिकका गुनासा र सुझाव ग्रहण गर्दै माओवादी केन्द्र फरक ढंगले अघि बढेको बताए । उनले दलित, किसान, मजुदर, उत्पीडन वर्गको समस्या सम्बोधन गर्ने पार्टी माओवादी केन्द्र मात्रै रहेको जिकिर गरे ।

कार्यक्रममा धौलागिरि बहुमुखी क्याम्पस क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रा. डा. दिन बहादुर थापा, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्य, नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष अर्जुन चोखाल र सहकारी पीडित सुसिल पौडेलले माओवादी अध्यक्ष प्रचण्डसँग शिक्षा, उद्योग, व्यापार, विकास र सहकारी समस्या लगायतका विषयमा प्रश्न र जिज्ञासा राखेका थिए ।

कार्यक्रममा पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले शहिद परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रम माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसीको अध्यक्षता, दलित मुक्ति मोर्चाकी केन्द्रीय सचिव टिका विकको स्वागत र माओवादी केन्द्र बागलुङ नगर समितिका अध्यक्ष निर्मलबहादुर श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->