बागलुङ/देशकै प्रसिद्ध धार्मिक शक्तिपिठ बागलुङ कालिका भगवती मन्दिरमा बैशाख महिना साढे ४७ लाखभन्दा बढी आम्दानी भएको छ । कालिका गुठी व्यवस्थापन समितिले हरेक महिना मन्दिरको आम्दानी खर्चको विवरण सार्वजनिक गर्दै आएको छ ।
समितिका अध्यक्ष कुमार खड्काका अनुसार, बैशाखमा मन्दिरमा ४७ लाख ५८ हजार ६ सय २६ रूपियाँ आम्दानी र २२ लाख ७० हजार ८ सय ५० रुपियाँ खर्च भएको छ । आम्दानीमा खर्च कटाएर गुठीले २४ लाख ८७ हजार ७ सय ७६ रूपियाँ आम्दानी गरेको छ ।
मन्दिरमा भक्तजनले चढाएको भेटीबाट ३१ लाख ३१ हजार ५ सय, चामल बिक्रीबाट ८९ हजार २ सय ५०, बोकाको टाउको बिक्रीबाट १० लाख हजार ४ हजार २ सय, कुखुराबाट १० हजार ६ सय, सटर भाडाबाट ३ लाख २४ हजार ५ सय ४०, विवाहबाट १५ हजार ५ सय, आर्थिक सहयोगमार्फत १ लाख १० हजार ७ सय ८६, परेवा बिक्रीबाट ९ लाख २५ हजार २ सय २५, सिक्का सटहीबाट १६ हजार १ सय ५०, व्रतबन्धबाट १ हजार ८ सय, पण्डितबाट २९ हजार रुपियाँ आम्दानी भएको हो ।
यस्तै, बैशाख महिनामा २२ लाख ७० हजार ८ सय ५० रूपियाँ खर्च भएको अध्यक्ष खड्काले जानकारी दिए । गुठीका कर्मचारीको तलबमा ५ लाख ३९ हजार, विद्युत खर्चमा ३५ हजार २ सय ५०, अतिथि सत्कारमा २ लाख ७० हजार, आर्थिक सहयोग र अक्षयकोषमा ४ लाख १० हजार, पूर्वाधार विकास तथा निर्माणमा ४ लाख २८ हजार ६ सय, पुजा खर्चमा ३ लाख ३३ हजार, खाद्यान्न तथा आवासमा ९६ हजार, सांस्कृतिक कार्यक्रम तथा भजनतर्फ १ लाख ५९ हजार रुपियाँ खर्च भएको छ ।





