बागलुङ/सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले जिल्लाको बरेङ गाउँपालिकास्थित बाटाचौरमा २१ दिने अभियानअन्तर्गत वित्तीय र प्रविधि साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । ‘सबै जुटौं, सदस्य भेटौं’ भन्ने मुल नारासहित शुरु गरिएको अभियानअन्तर्गत स्थानीय समुदायलाई वित्तीय व्यवस्थापन र प्रविधिको उपयोगमा सशक्त बनाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको थियो ।
संस्थाद्वारा गठित गाउँटोल समन्वय समिति, शेयर सदस्य र गैर शेयर सदस्यलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा बोल्दै बरेङ गाउँपालिका ३ का वडा अध्यक्ष शेरबहादुर खनालले सिवाईसी साकोसले सहकारीका माध्यमबाट स्थानीय जनताको वित्तीय सशक्तिकरणमा पुर्याएको योग्दानको प्रशंसा गरे । बरेङ ५ का वडा अध्यक्ष अमरबहादुर शेरपुजाले जिल्लामा सहकारीको अभियान गाउँ गाउँसम्म पुर्याउन सिवाईसीको महत्वपूर्ण योग्दान रहेको बताएका थिए ।
सिवाईसी साकोसका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले बचतको शक्तिको विषयमा बुझ्न सकेमा नेपालीहरु कोही पनि गरिब हुनुनपर्ने बताए । समाजमा हुने सबै प्रकारका विभेदहरु पैसाकै कारणले हुने बताउँदै पौडेलले सिवाईसीले अभियानअन्तर्गत बच्चादेखि वृद्धसम्मलाई पैसाको व्यवस्थापन र बचतको शक्तिका विषयमा बुझाउन खोजिरहेको बताए । पौडेलले प्रशिक्षणमा वित्तीय ज्ञान, बचतको महत्व, लगानीका आधारभुत पक्ष, वित्तीय लक्ष्य, व्यक्तिगत वित्तीय योजनाका विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा सिवाईसी नेपालका कार्यक्रम अधिकृत सुमन घर्ति क्षेत्रीले वित्तीय लक्ष्य निर्धारण, पारिवारीक बजेट र प्रविधिको प्रयोगका सम्बन्धमा प्रशिक्षण गरेका थिए ।
कार्यक्रम बरेङ सदस्य सेवा केन्द्रका संयोजक मदन कार्कीको अध्यक्षता, केन्द्रीय सञ्चालक मोतीराम गौतमको स्वागत र सेवा केन्द्रका सचिव प्रेमबहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रीय सञ्चालक कृष्णप्रसाद रिजालले कार्यक्रमको औचित्य र उद्देश्य प्रकाश पारेका थिए भने सह–संयोजक विष्णुवहादुर खत्रीले सेवा केन्द्रको प्रगतीबारे जानकारी गराएका थिए ।





