पर्वत/नेपाल किसान महासङ्घ जिल्ला कार्यसमिति पर्वतले कृषकका विभिन्न सरोकारहरूका विषयमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे समक्ष विभिन्न १२ बुँदे मागहरू पेस गरेको छ ।
कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूसहितको टोलीले प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेमार्फत मुख्यमन्त्रीलाई आफ्ना मागहरू पेस गरेको हो । पेस गरिएका मागहरूमा बाँदर नियन्त्रणको लागि विज्ञको सुझाव अनुसार व्यवस्थापन गर्नुपर्ने तथा बाँदरले बाली नष्ट गरेमा त्यस बापतको राहत पाउनुपर्ने, आर्थिक रूपमा बिपन्न समुदायका व्यक्तिहरूले सामान्य रोग लाग्दासमेत उपचार गर्न सक्ने अवस्था नरहेकोले त्यस्तो अवस्थाका नागरिकलाई पूर्ण रूपमा निःशुल्क स्वास्थ्य बिमा तथा अस्पतालमा लाग्ने १० प्रतिशत शुल्क तत्काल हटाउनुपर्ने भनिएको छ ।
कतिपय कृषि उत्पादनले बजार नपाएकोले प्रत्येक स्थानीय तहमा न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने र कम्तीमा लागत मूल्य उठ्नुपर्ने, उपभोक्ता महँगीमा पर्ने र उत्पादक घाटामा पर्ने गरी काम गरिरहेका बिचौलियाहरूको पहिचान गरी कारबाही हुनुपर्ने, दैवी प्रकोप लगायत विभिन्न विपद्हरूमा सबै प्रक्रिया पुग्दा पनि तल्लो तहसम्मका विपद् व्यवस्थापन समितिले समयमै राहत पु¥याउन नसकेकोले स्थानीय सुरक्षा समितिलाई तयारी अवस्थामा राख्नुपर्ने, किसानले बिना झन्झट वडाबाट नै मल बीउ पाउनुपर्ने तथा पाउनको लागि अख्तियार गरिने लामो प्रक्रियाको अन्त्य हुनुपर्ने माग किसान महासङ्घले राखेको छ ।
यस्तै किसानलाई सामाजिक सुरक्षा भत्तामा समावेश गरिनुपर्ने, वास्तविक किसानले परिचयपत्र पाउनुपर्ने, किसान र सरकारको आधा आधा लगानीमा किसान सञ्चित कोष स्थापना गर्नुपर्ने, जिल्ला बाहिरबाट पर्वतमा भित्रिने तरकारी तथा उपभोग्य सामग्रीहरूमा अखाद्य बस्तु र विषादीको प्रयोगबारे अनुगमन हुनुपर्ने भनिएको छ ।
स्थानीय जातका गाई र गोरु पालक कृषकहरूलाई प्रोत्साहन अनुदान दिनुपर्ने, जग्गा बाँझो नराख्ने कृषकहरूलाई क्षेत्रफलका आधारमा पुरस्कार दिइनुपर्ने तथा पर्वतमा रहेका लामा पुलहरूमा सवारी साधनको अत्यधिक चाप हुँदा दुर्घटनाको जोखिमका साथै पुलको आयु पनि छोटिएकाले सुरक्षाकर्मी परिचालन गरिनुपर्ने पनि माग पत्रमा उल्लेख गरिएको छ ।
महासङ्घ पर्वतका अध्यक्ष रघुनाथ गौडेल सहित सरोकारवाला तथा कृषकहरू ज्ञानेन्द्र के.सी, हेमप्रसाद अधिकारी, याम परियार शिव, खडानन्द पौडेल, अजय पौडेल, रामकृष्ण रेग्मी, युवनाथ गौडेल, रामचन्द्र लामिछाने, सिता रिजाल, अमृत शर्मा भट्टराई लगायतले उक्त माग पत्र प्रमुख जिल्ला अधिकारी घिमिरेलाई प्रदान गरेका हुन ।





