पोखरा/ अन्नपूर्ण प्रथम हिमाल (८,०९१ मी) आरोहणको ७५ वर्ष पुरा भएको अवसरमा हिरक महोत्सव मनाइने भएको छ ।
सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृन्वले अन्नपूर्ण प्रथम हिमालको सफल आरोह गरेको थियो । हर्जोगसगै लुइस लचेनल र दुई नेपाली शेर्पा उक्त आरोहणमा सहभागि भएका थिए । ८ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी, अन्नपूर्ण गाउँपालिका म्याग्दीको व्यवस्थापनमा हिरक महोत्सव मनाउन लागिएको सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइयो ।
आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने भएकाले सोही स्थानमा हिरक महोत्सव मनाइने नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले जानकारी दिए । महोत्सवमा फ्रान्सलगायत युरोप र अमेरीकासहित देशका १२ राजदुतलाई समेत निमन्त्रणा गरिएको लामिछानेले बताए । अन्नपूर्ण–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा यही जेठ १७ देखि १९ गतेसम्म पदयात्रा गरिने भएको छ । पदयात्रामा फ्रान्स र नेपालका विशिष्ट व्यक्तीहरुको सहभागिता हुने टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए । ‘मौरिस हार्जोगका छोरा माथियास इमानुएल म्याक्सिमिलियन हार्जोग र उनका परिवारसहितको १४ सदस्यीय टोली नेपाल आइपुगेको छ । नेपाल पर्यटन बोर्डको नेतृत्वमा पर्यटन व्यवसायी र सञ्चारकर्मीको टोली पदयात्रामा सहभागि हुनेछ, आचार्यले भने ।
आधार शिविरबाट ३० किलोमिटर दूरीको म्याराथन दौड समेत आयोजना गरिएको अन्नपूर्ण गाउँपालिका म्याग्दीका अध्यक्ष भरतकुमार पुनले पत्रकार सम्मेलनमा जानकारी दिए । आधार शिविरमा प्रथम आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको सालिक अनावरण गरिने छ ।यस्तै आधार शिविरमा निर्माण भएको खुला सङ्ग्रहालय र नारच्याङबाट आधार शिविर जोड्ने पदमार्गलाई मौरिस हर्जोग पदमार्ग नामाकरण गरिएको छ । उक्त पदमार्गको साथै सालिकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष पुनले जानकारी दिए ।
नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान), अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) र अन्नपूर्ण गाउँपालिकाले महोत्सवको संयुक्त आयोजना गरेका हुन् । आधार शिविरमाा विविध कार्यक्रम समेतको आयोनजा गरिने छ । आरोहण दिवस पहिलो पटक आधार शिविरमा मनाउन लागिएको हो ।





