काठमाडौं / सरकारले आज प्रस्तुत गरेको बजेटबारे प्रतिक्रिया दिँदै निजी क्षेत्रका व्यवसायीले यो बजेट समग्रमा आशालाग्दो रहेको प्रतिक्रिया दिएका छन् । उनीहरुले बजेट समग्रमा आशावादी रहेको उल्लेख गर्दै बाँकी विषय आर्थिक ऐन आएपछि मात्र प्रतिक्रिया दिन सकिने बताए् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले दिएका सुझाव अधिकांश समेटिएको बताएका छन् । बिहीबार (जेठ १५) संघीय संसद् बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेस गरेको आर्थिक वर्ष २०८२/८३ बजेटबारे प्रतिक्रिया दिँदै उनले निजी क्षेत्रका धेरै कुरा समेटिएको बताएका हुन् । बजेटले वैदेशिक लगानी प्रवद्र्धनलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको उनले उल्लेख गरे । उनले यसले आयात निर्यातमा निजी क्षेत्रको संलग्नता बढ्ने विश्वास गरिएको बताए ।
नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले बजेटमा समेटिएका सबै विषय राम्रो भए पनि राजस्व मुख्य चुनौती हुन सक्ने बताए । समग्रमा बजेट राम्रो रहेको उनले उल्लेख गरे । युवापुस्तालाई पनि प्रोत्साहन दिन स्टार्टअप बिजनेसमा पाँच वर्षसम्म कर नलिने घोषणालगायत समग्रमा बजेट राम्रो रहेको उनले प्रतिक्रिया दिए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रले बजेटलाई सकारात्मक रूपमा लिएको बताए । कार्यक्रम सबै राम्रा रहेका तर बाँकी विषय आर्थिक ऐन आएपछि थाहा हुने उनले उल्लेख गरे । राजस्व उठाउने विषयमा कर्मचारीले राम्रो नियतले काम गरिदिए अरू विषयमा बजेट सकारात्मक रहेको अध्यक्ष अग्रवालले बताए । निजी क्षेत्रका मागलाई अर्थमन्त्रीले सकारात्मक रूपमा लिएर बजेटमा समावेश गरेको उनले जनाए ।





