सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गलकोटमा वित्तीय साक्षरता तथा उद्यमशिलता विकास तालिम

गलकोटमा वित्तीय साक्षरता तथा उद्यमशिलता विकास तालिम


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १६ २०८२, शुक्रबार

बागलुङ/चारतारे युवा क्लव, सिवाईसी नेपालको आयोजना र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको संयोजनमा गल्कोट नगरपालिका वडा नं. ११ सानो रिघामा वित्तीय साक्षरता तथा उद्यमशिलता विकास तालिम सम्पन्न भएको छ ।

तालिम सानो रिघास्थित संस्थाका आजीवन, विशिष्ट सदस्य, शेयर सदस्य तथा सिवाईसी लघुवित्त कार्यक्रममा संलग्न सदस्यलाई लक्षित गरी आयोजना गरिएको हो । तालिममा सहभागीलाई वित्तीय ज्ञान, योजनाबद्ध बचत, सानो पूँजीको प्रभावकारी प्रयोग, व्यवसायिक सोच विकास तथा स्थानीय स्रोत साधनको उचित उपयोगमार्फत उद्यमशिलताको प्रवद्र्धन, महिला सशक्तिमरण सम्बन्धी विषयमा संस्थाका अभिमुखीकरण गरिएको थियो ।

चारतारे युवा क्लब, सिवाईसी नेपालले सिवाईसी साकोससँगको सहकार्यमा जिल्लाका विभिन्न स्थानका महिला उद्यमीलाई समेटी “उद्यमशिल पाठशाला” निर्माण गर्ने दीर्घकालीन कार्ययोजनाअन्तर्गत यो तालिम सञ्चालन गरिएको हो ।

तालिमको सहजिकरण संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल र कार्यसमिति सदस्य सीता शर्माले गरेका थिए । तालिमका क्रममा अध्यक्ष पौडेलले आत्मनिर्भरता, वित्तीय अनुशासन र स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने लघु उद्यम विकासको आवश्यकतामा जोड दिए । उनले सिवाईसीले उद्यमशिलता अभिवृद्धि तथा वित्तीय सशक्तिकरणलाई प्राथमिकतामा राखेर कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा सिवाईसी गाउँटोल समन्वय समितिका संयोजक दलबहादुर बुढाथोकी, विद्यालयका प्रधानध्यापक नरेन्द्र पुनले मनत्व्य व्यक्त गरेका थिए भने सिवाईसी साकोस दगा सदस्य सेवा केन्द्रबारे सेवा केन्द्र प्रमुख रोजिना गुरुङले जानकारी गराएकी थिइन् ।

सोही क्रममा तनु पुन संयोजक रहेको २५ सदस्यीय सानो रिघा उद्यमशिला महिला समुहको गठन गरिएको छ । समुहको सह–संयोजकमा मिना थापा राना, सचिवमा सावीत्री पुर र कोषाध्यक्षमा रुपा श्रीस रहेका छन् । कार्यक्रम सिवाईसी साकोस दगा सदस्य सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिका संयोजक जमुना श्रीसको अध्यक्षता, संस्थाको विपद व्यवस्थापन उपसमिति सदस्य तनु पुनको स्वागत र सिवाईसी नेपालका कार्यक्रम अधिकृत समुन घर्ति क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->