शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

राइड सेयरिङको चाला पनि उस्तै : मनोमानी भाडा असुल्दै

राइड सेयरिङको चाला पनि उस्तै : मनोमानी भाडा असुल्दै


  • विजय नेपाली
  • जेष्ठ १९ २०८२, सोमबार

पोखरा/नवलपुरकी दीपा थापा १७ गते शिक्षा सेवा आयोगको निम्न माध्यमिक विद्यालयस्तरीय परीक्षा दिन पोखरा आइन् । नवलपुरबाट आउने उनी एक्ली थिइनन्, ५–७ जनाको टोली नै थियो । उनीहरुको परीक्षा केन्द्र पोखरा महानगरपालिका १९ बाटुलेचौरस्थित विन्ध्यवासिनी माविमा परेको थियो ।

सल्यानबाट आएका भीमसेन ओलीलाई लामाचौरस्थित गण्डकी बोर्डिङ स्कूल केन्द्र ‘ख’ परीक्षा दिनु थियो । पोखरामा १६ गतेबाट सार्वजानिक यातायात बन्द भएका कारण उनीहरुले परीक्षा केन्द्र पुग्न राइड सेयरिङ गुहारे । पोखराको पृथ्वीचोकबाट परीक्षा केन्द्र पुग्न बसभाडा ४० रुपैयाँदेखि बढीमा ५० रुपैयाँ लाग्छ । सामान्य अवस्थामा महँगो मानिने ट्याक्सीमै जाने हो भने पनि करिब ४ सयमा पुगिने ठाउँ हो– त्यो । पठाओले उनीहरुसँग ३ सय ५० रुपैयाँ असुल्यो । फर्कँदा पनि उनी नियति दोहोरियो । जबकि, लामाचौर परीक्षा केन्द्र भएका परिक्षार्थीहरुले पृथ्वीचोकबाट इन्ड्राइभ सेवा लिँदा उक्त एपमा १४७ रुपैयाँ देखाउँछ । अर्थात्, त्यति शुल्क तिरेपछि गन्तव्यमा पुग्न सकिन्छ ।

तर, एक इन्ड्राइभ प्रयोगकर्ताले सिधै पाँचसय रुपैयाँ दिए जाने नत्र नजाने भने । सार्वजनिक सवारी बन्दका कारण राइड शेयरिङ चालकहरुले मनपरि शुल्क असुल्ने गरेका छन । पोखरामा उनीहरुले साँझ परेपछि एपमा देखाउने शुल्क होइन, आफूखुसी शुल्कमा डिल गर्छन । अन्यथा सेवा पाउन मुस्किल छ ।

शनिबार मात्रै साढे तीनगुणासम्म शुल्क उनीहरुले आफूखुसी माग गरे । परीक्षाका लागि आएका परिक्षार्थीहरुले विकल्प नदेखेपछि उक्त रकम बाध्यताले तिरेर परीक्षा केन्द्रसम्म पुगे । पोखराकै अन्य स्थानमा जाँदापनि सार्वजनिक सवारी नचलेको मौका छोपेर मनपरि शुल्क असुल्ने कार्य रोकिएको छैन ।

शिक्षा सेवा आयोगले कास्कीका विभिन्न स्कूलमा ४० वटा परीक्षा केन्द्र तोकेको थियो । परीक्षामा ९ हजार ९ सय १७ परीक्षार्थीले परीक्षार्थी दिए । तीमध्ये आधाभन्दा बढीले राइड सेयरिङ प्रयोग गरेको अनुमान छ । दीपा थापा भन्छिन्, ‘परीक्षा दिनका लागि १५ गते पोखरा आएका थियौं । १६ गते बन्द रहेको कुरा पोखरा आएपछि मात्रै थाहा भयो । कतिजना साथीहरु परीक्षा दिन नपाएर छुट्नुभयो, गाडीकै कारणले ।

‘इन्डाइभ गरेम् त्यत्रो–त्यत्रो पैसा तिरेर । हाम्रो सेन्टर विन्ध्यवासिनी (बाटुुलेचौर) परेको थियो । यहाँबाट (पृथ्वीचोक) जाँदा ३५० रुपैयाँ तिरेको हो । एकजनाको जाँदा–आउँदा सात सय रुपैयाँ खर्च भयो इन्ड्राइभमा । पठाओ काठमाडौंमा छ भन्ने थाहा थियो । यहाँ त आ–आफ्नो मर्जीले जति लिन मन लाग्यो लिएका छन् । ३५ रुपैयाँ भाडा लाग्ने रहेछ बसमा तर ३५० दिन प¥यो । साह्रै दुःख भयो ।’

सल्यान जिल्लाकी कमला केसी ओलीको गुनासो पनि उस्तै छ । ‘पृथ्वीचोकबाट गण्डकी बोर्डिङ स्कूल जाँदा तीन सय रुपैयाँ तिर्न बाध्य भएँ । हामीले त आउँदा पनि निकै दुःख पायाँै,’उनले भनिन् । वीरगंजबाट परीक्षा दिन आएका सरोज आलमको पनि उही गुनासो छ । पृथ्वीचोकबाट विरौटा पुग्दा २ सय ५० रुपैयाँ तिरेको सुनाए । यी प्रतिनिधि पात्र मात्र हुन् । उनीहरुलाई जस्तै हरेक दिन पोखरामा राइड सेयरिङको नाममा कयौं यात्रुु ठगीमा परिरहेका छन् । उसो त, राइड सेयरिङ नियमावलीको विरोधमा सार्वजानिक यातायात व्यवसायिहरुले गण्डकी प्रदेशमा १६ गतेदेखि १९ गतेसम्म यातायात ठप्प पारेपछि कयौं यात्रुहरु अलपत्र पनि परेका छन् ।

नियमावली एकातिर राइड सेयरिङ अर्कातिर
गण्डकी प्रदेश सरकारले यात्रुका लागि भनेरै राइड सेयरिङ नियमावली ल्याएको हो । नियमावली अनुसार राइड सेयरिङका लागि २० वटा सवारी भएको हुनुपर्ने प्रावधान छ । नियमावलीले विभिन्न प्रक्रियाहरु पूरा गरेर मात्रै राइड सेयरिङ सञ्चालन गर्न पाउने उल्लेख छ । तर, पोखराका राइड सेयरिङवालाहरु प्रदेश सरकारले भने अनुसार दर्ता प्रक्रियामा गएकै छैनन् । चोकचोकमा पठाओ,इन्ड्राइ भन्दै मान्छे ढुकेर बस्नेहरु र एप्समार्फत् नै यात्रुसम्म पुग्नेहरुले पनि मनलाग्दी भाडा असुल्दै आएका छन् ।

नियमावली राइड सेयरिङ सेवामा आबद्ध हुने सबै प्रकारका सवारी साधनले अनलाइन प्रणालीमा आबद्ध भइ आवश्यक प्रक्रिया पूरा गरी यात्रु, तेस्रो पक्ष र सवारी साधनको बीमा गर्नुपर्ने उल्लेख छ । तर, मुख्य चोक पृथ्वीचोकमै अफलाइनमा उनीहरुले मनलाग्दी भाडा असुल्दै आइरहेका एक यात्रुले गुनासो गरे । ढोरपाटन टिम पोखराको पृथ्वीचोकमा पुग्दा पनि अवस्था उस्तै थियो । यस्तै राइड सेयरिङका लागि सरकारले निश्चित भाडादरसमेत तोकिदिएको छ तर यहाँ मनलाग्दी नै छ । सार्वजनिक यातायात नचलेको फाइदा उनीहरुले उठाइरहेका छन् ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयका सचिव ई.कमलकुमार अधिकारीका अनुसार हालसम्म एउटा संस्थाले मात्रै राइड सेयरिङ दर्ता गराएको छ । त्यसलाई पनि दर्ता प्रमाणपत्र प्रदान गरिसकेको अवस्था नभएको उनले बताए । राइड सेयरिङवालाले बढी भाडा असुलेको गुनासो सुनेको बताए पनि उनले राइड सेयरिङ नियमन र व्यवस्थापन गर्न बनेको नियमावली संशोधन हुन सक्ने तर खारेज नहुने बताए । सरकारले राइड सेयरिङसम्बन्धी नियमावली राजपत्रमा प्रकाशित गरी कार्यान्वलयनमा ल्याएपछि सो निमायवली खारेजीको माग गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ तीन दिनदेखि आन्दोलित छ । महासंघको आह्वानमा यातायात व्यवसायीहरुले यात्रुवाहक तथा मालवाहक सवारी साधन घर, ग्यारेजमा थन्क्याएका छन् । जसले गर्दा यात्रुले हैरानी खेप्नु परेको छ ।

प्रदेशले बनाएको राइड सेयरिङसम्बन्धी नियमावली संघको सवारी तथा यातायात व्यवस्था ऐन २०४९ तथा नियमावली २०५४ सँग नबाझिने वार्ता समिति सदस्य तथा यातायात विभाग प्रमुख प्रेम सुवेदीले बताए । सुवेदीले राज्यले निर्वाध रुपमा सञ्चालन भइरहेका पठाओ र इन्ड्राइभलाई कारवाही गर्न नसकेको चाहिँ स्वीकारे । हजारौँ परिक्षार्थी अलपत्र परेपछि शनिबार सुरक्षा बलहरुले आफ्नै सवारी र केही हरियो प्लेटका सवारीमार्फत् स्कर्टिङ सहित मुग्लिङ पार गरायो । शनिबारमात्रै ३५ वटा सवारीहरु स्कर्टिङमा मुग्लिङ कटाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

स्कर्टिङमा मुग्लिन
तर, यात्रुहरुलाई भने अझै पनि यात्रा सहज छैन । प्रदेशका ११ जिल्लामा नै सार्वजनिक सवारी ठप्प भएका कारण गण्डकीको २४ लाख जनसंख्या नै सहज सवारी सेवा पाउनबाट वञ्चित छ ।

यातायात व्यवसायीहरुले भने हरियो नम्बर प्लेटमा पर्यटकबाहेक अरुको टिकट नकाट्न नाटालाई पत्राचार गरेका छन् । हरियो नम्बर प्लेटहरुले यात्रु बोकेको आशंका गर्दै ‘सार्वजनिक यातायात बचाउँ संघर्ष समिति २०८२’ गण्डकी प्रदेश आन्तरिक यात्रुको टिकट नकाट्न पत्राचार गरेको हो ।

अहिले हरियो नम्बर प्लेटको सवारीमा विदेशी पर्यटक र अन्यत्रबाट घुम्न आएका आन्तरिक पर्यटकबाहेक अरु सर्वसाधारणलाई मुग्लिन पुग्न कठिन छ ।

स्वयं प्रहरी प्रवक्ता बस्नेत पनि सर्वसाधारणहरुलाई यात्रा गर्न कठिन नै भएको स्वीकारे ।‘हामीले आज पनि पर्यटकलाई स्कर्टिङ गरेर पठाएका छौँ, हिजो चाहिँ स्कूल बसहरु प्रयोग ग¥यौँ,’उनले भने,‘अरु सर्वसाधारणहरुलाई भने कठिनाइ नै छ । हामीले सहजीकरण गरेका छौँ ।’

प्रहरीले मुग्लिन हुँदै पोखरा भित्रिने सवारीलाई पनि स्कर्टिङसहित ल्याउने गरेको छ ।अदालतले दुईपटक राइड सेयरिङसम्बन्धी र एकपटक सेल्फ राइडिङसम्बन्धी मुद्दामा कानून बनाएर सञ्चालन गर्न दिन आदेश दिएकाले सोही आदेशको कार्यान्वयन गर्न नियमावली ल्याएर कार्यान्वयन गरिएको दाबी सरकारको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->