बागलुङ/गत माघ २६ गते बागलुङ बजारमा भएको आगलागीमा दुइ वटा सटर जलेर नष्ट भए । घटनालगत्तै प्रहरी मुचुल्का भयो । पिडितले आगलागी भएको कुरा ऋण लिएको बैंक र बीमा कम्पनीलाई पनि जानकारी गराए ।
सबैको संयुक्त उपस्थितिमै मुचुल्का तयार भएपछि बीमा दाबी भुक्तानीका लागि मुल्यांकन कम्पनीलाई बोलाइयो । बिमाका लागि मूल्यांकन गरिदिने जगदम्बा इन्जिनियरिङ कन्सल्टेन्सीले लामो समयपछि क्षतिको ४ प्रतिशत मात्रै क्षतिपुर्तिका लागि पीडितलाई बोलाएको छ । उक्त क्षतिपुर्ति लज्जास्पद र घटनाकै अबमूल्यन हुने गरी भएको पीडितले दाबी गरेका छन् ।
बागलुङ नगरपालिका वडा नं. ११ घर भइ बागलुङ नगरपालिका २ मा जनप्रिय किचन हाउस संचालक सावित्री गौतम र जनप्रिय किचन एण्ड गिफ्ट हाउस संचालक डिल्लीप्रसाद गौतमले दाबी अनुसारको क्षतिपुर्ति नपाएको, प्रहरी रिपोर्टमा पुर्ण क्षति लेखेर आंशिक पनि ४ प्रतिशत मात्रै रकम दिन खोजिएको गुनासो गरेका छन् ।
गौतम दम्पत्तिले सिद्वार्थ बैंकबाट ५५ लाख र सिटिजन बैकबाट १७ लाख ऋण लिएका थिए । घटनापछि बैंककै रोहबरमा भएको घटनास्थल प्रकृति मुचुल्कामा ‘पुर्ण क्षति’ भएको उल्लेख छ । तर बीमा दाबी भुक्तानीमा गौतमलाई २ लाख ५० हजार रुपैयाँ बीमा लिन बोलाइएको बताए । उनले यो क्षतिपुर्ति नभइ हेपेर बोलाइएको बताए । ‘विवरणमा पुर्ण क्षति भनियो, बीमा दाबीमा सहयोग मागेझै बनाइयो’ गौतमले भने, ‘यो प्रवृत्तिबिरुद्द अदालत जान्छु ।’ बैंकले लगानी गरेको स्पष्टै भएरपनि क्षति मुल्यांकनमा बिभेद गरिएको उनले बताए ।
शुभ जगदम्बा इन्जिनियरिङ कन्सल्टेन्सी कम्पनीका प्रमुख बुद्दिराज अधिकारीले खरिद बिक्री लगायतको हिसाब देखाउन नसकेकोले बीमा कमी भएको बताए । ‘उहाँले कागजात देखाउन सक्नु भएन, खरिद बिक्रीको कागजात नभएपछि हामीले दाबी गर्न नसकेको हो’ अधिकारीले भने, ‘हामीले त सकेसम्म धेरै सहयोग गरौं भन्नेमा छौं ।’
पीडित गौतमले भने अधिकांस कागजात समेत पसलमै जलेकोले देखाउन नसकेको तर मुचुल्काले के कति सामान क्षति भएको देखाएको बताए । उनले क्षतिपुर्तिका लागि अदालतको बाटो रोज्ने पनि बताए ।





