सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

ताराखोलाका उद्यमीहरुको सक्रियता

ताराखोलाका उद्यमीहरुको सक्रियता


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २० २०८२, मंगलबार
?

बागलुङ/बागलुङ नगरपालिका वडा नं. १० की यामकुमारी थापाले चार वर्षअघि ताराखोलामा पुगेर तालिम दिएपछि अहिले दुइ दर्जन महिला ढाकाको कपडा बनाउने काममा लागेका छन् । कतिपयले समय मिलाएर काम गर्ने चाहना व्यक्त गरेका छन् । उनीहरुले बुनेका साडीहरु अहिले सहकारी लगायत विभिन्न संस्थाको पोशाकको रुपमा पनि प्रयोगमा आउन थालेको छ । उनीहरु मात्र हैन, सहरका महिलाले पनि आजकल ढाकाको साडी लगाउने प्रचलन बढ्दै गएको छ ।

ताराखोला गाउँपालिका वडा नं. ४ मा दुइ दर्जनबढी महिला अल्लोको व्यावसायिक काम गरेर बसेका छन् । उनीहरुले पनि अल्लोका सामान बनाएर राम्रो कमाइ गरिरहेका छन् । ‘हामीले २५ वर्षदेखि अल्लोको काम गरिरहेका थियौं, अहिले त युवा पुस्ताले पनि काम सिकेका छन्,’ स्थानीय गंगा रोकाले भनिन्, ‘अल्लो प्रसोधनका सबै प्रक्रियाबारे युवालाई सिकाएपछि उत्पादन पनि बढाउन सकिएको छ ।’ स्थानीय उत्पादनलाई पुस्तान्तरण गरेर लैजाने उनीहरुको चाहना छ ।

वडा नं. ५ करिमेलाकी विष्णु रोकाले त ३० वर्षदेखि अल्लोकै काम गरेकी छिन् । उनीहरुले वर्षेनी अल्लोका सामाग्री बनाएर लाखौंको कारोवार गरिरहेको बताउँछिन् । धसमर भन्ने स्थानमा उनीहरुको संकलन केन्द्र छ । जंगलाट अल्लो ल्याएपछि संकलन गरेको अल्लोलाई धागो कात्ने, कपडा बुन्ने काममा धेरै महिला सहभागी छन् । कसैले केन्द्रमा आएर काम गर्छन् भने कतिपयले घरघरमै कपडा बुनिरहेको भेटिन्छन् ।

विभिन्न स्थानमा तालिमका लागि प्रशिक्षकको रुपमा पनि उनीहरुलाई निम्तो आउँछ । जैमिनी नगरपालिका, बडिगाड गाउँपालिका लगायतका स्थानमा पुगेर अल्लो उद्यमी तयार गरेको गंगाले बताइन् । ताराखोलामा अल्लोको कपडा बुन्ने मात्रै ५० बढी उद्यमी छन् ।

ताराखोलामा हरेक टोलमा कुनै न कुनै बस्तु उत्पादनका लागि स्थानीय सक्रिय छन् । उद्यमीहरुले बजारमा पठाउने सामान पनि बनाइरहेका छन् । वडा नं. ५ का दश जना युवा नेपाली हाते कागज बनाउनमा व्यस्त छन् । उनीहरुको सामग्री सहरमा पनि बिक्री हुन्छ । सरकारी कार्यालयहरुले अर्डर गरेर लैजान्छन् । ताराखोलाको कागजलाई रंगिन समेत बनाइन्छ । सिंगो कागजसहित डायरी बनाएर पनि बिक्री भएपछि उद्यमीले उत्साहित छन् ।

वडा नं. १ को जनप्रेम माविमा त विद्यार्थीलाई पनि धागो कात्ने, धागोबाट सामाग्री बनाउने, हलोजुवा र बाँसका सामाग्री बनाउन सिकाइन्छ । विद्यालय पढेर सकिंदा उनीहरुले सीप सिकेर निस्केकाले वेरोजगार बस्न नपर्ने प्रधानाध्यापक नइन्द्र गुरुङले बताए ।

गाउँपालिका आलु र अलैची जोनमा सूचिकृत छ । त्यसैले अधिकांस किसान आलु उत्पादनमा जोडिएका छन् । ‘हरेक घरमा १ सयदेखि २ सय क्विन्टलसम्म आलु फलाउने किसान छन्,’ स्थानीय अमृत घर्तीमगरले भने, ‘घरमा खानका लागि मात्र लगाउनेहरु पनि व्यवसायिक बन्दैछन् ।’ ताराखोलाको आलु बागलुङसहित पोखरा, बुटवल र गुल्मीसम्म प्रख्यात छ । ताराखोलाको आलु भनेपछि होटलदेखि कोठा लिएर बस्नेहरु पनि उत्तिकै चासो राख्ने गरेका छन् । ‘ताराखोलाको आलु पाएसम्म अन्यत्रको राख्ने गरेका छैनौं,’ सदरमुकामस्थित शितल होटलका संचालक तालबहादुर कुँवरले भने, ‘खानमा मिठो र अर्गानिक भएकोले सबैले मन पराउँछन् ।’

ताराखोला गाउँपालिकाको ५ वटै वडाका किसानले व्यावसायिक आलु खेती गर्छन् । उनीहरुले असार साउनमा खनेर बजार पठाउन गरेका छन् । गाउँपालिकाको कृषि शाखाको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०÷८१ मा ताराखोलाभित्र ३ हजार २ सय ९७ मेट्रिकटन आलु फलेको थियो । ताराखोलामा ३ सय हेक्टरमा व्यावसायिक अलैची उत्पादन भैरहेको छ । ५० बढी उद्यमीहरु अलैची उत्पादनमा पूर्ण रोजगार बनेका छन् । अन्यले घरको अन्य कामसँगै अलैची उत्पादन बढाएका छन् । उत्पादित सामग्रीलाई बजार पठाउन स्तरीय सडक पनि बनिसकेको छ ।

वडा नं. ५ का किसानले कोदो र गहुँको पिठोबाट झिलिंगा बनाएर बेच्छन् । मगर समुदायको चाडपर्वमा चाहिने भांग्रो बुन्ने काममा पनि स्थानीय सक्रिय छन् । दुइ दर्जन जतिनै ढुंगा उद्योग छन् । आफ्नै बारीमा ढुंगा काटेर टायलको रुपमा उपयोग गर्नेगरी सहर पठाउने गरिन्छ । ती उद्योगमा झण्डै ५ सय जना रोजगार भएका छन् ।

गाउँपालिकाले कम्तिमा ५ हजार युवा रोजगार बनाउने लक्ष्यले समूहमा गरिने सबै काममा स्थानीय उद्यमीलाई लगाएको गाउँपालिका अध्यक्ष धनबहादुर बिकले बताए । अहिलेसम्म पालिकाभित्रै ३ हजारबढी युवा रोजगार भैसकेको उनले बताए । विश्व श्रम रोजगार बैंकमार्फत कतिपय श्रमिकको लगत राखेर सामाजिक सुरक्षा कोषमा पनि जोडिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->