काठमाडौं/सरकार र आन्दोलनरत यातायात व्यवसायीबिच सोमबार राति सहमति भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अबेर रातिसम्म चलेको तेस्रो चरणको वार्तापछि सहमतिमा हस्ताक्षर भएको हो ।
सहमतिपछि पत्रकारहरुसँग कुरा गर्नुहुँदै नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले सङ्घीय सरकारले गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङसम्बन्धी नियमावली स्थगित गर्न अनुरोध गर्दै पत्राचार गर्ने निर्णय भएको बताए । उनका अनुसार, गण्डकी सरकारले राइड सेयरिङसम्बन्धी नियमावली स्थगित गर्ने निर्णय गरेपछि देशभर सार्वजनिक सवारी साधन सञ्चालन गर्ने सहमति भएको छ ।
सरकारी वार्ता टोलीका संयोजक तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तले गण्डकी प्रदेश सरकारले जारी गरेको निर्देशिका, जसले रातो नम्बर प्लेटलाई कालो नम्बर प्लेटसरह मान्यता दिएको थियो, स्थगित गर्ने सहमति भएको बताए ।
राइड सेयरिङ नियमावलीको विरोधमा यातायात व्यवसायीले देशभर सार्वजनिक सवारी साधन बन्द गर्दै आन्दोलन गरेका थिए । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली ल्याएपछि यातायात व्यवसायीहरू ७ बुँदे मागसहित आन्दोलनमा छन् ।
नियमावली स्थगित भएसँगै अब देशभर यातायात सेवा सुचारु हुने अपेक्षा गरिएको छ। गण्डकी प्रदेशमा चार दिनदेखि सार्वजनिक यातायात ठप्प पार्दै आएका छन् भने सोमबारदेखि देशभरका यातायात ठप्प पारेका छन् ।





