पोखरा/ सार्वजनिक याताायात बचाउ केन्द्रिय संघर्ष समिति र सरकारबिच सोमबार मध्यरातमा भएको सहमतिप्रति गण्डकी प्रदेश समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समितिले मंगलबार एक विज्ञप्ती जारी गर्दै थप सशक्त आन्दोलन हुनसक्ने चेतावनी पनि दिएको छ ।
मुख्यतः गण्डकी प्रदेश सरकारले जेठ १ गते राजपत्रमा प्रकाशन गरेको राइड सेयरिङ (व्यवस्थापन र नियमन) नियमावली, २०८२ को नियम २ (ज) लाई देखाएर नियमावली नै खारेज गर्नुपर्ने भन्दै गण्डकीमा जेठ १६ र देशव्यापी रुपमा १९ गतेदेखि यातायात हड्ताल भएको छ । व्यवसायीले गण्डकीको उक्त नियमावलीले रातो प्लेटलाई पनि सवारी बोक्न दिएको र यो व्यवस्था संघीय ऐन विपरित रहेको बताउँदै आएका छन ।
यहि मुख्य विषयलाई लिएर सोमबार मात्रै सार्वजनिक यातायात बचाउ संघर्ष समिति र सरकारबिच तीनपटक वार्ता बसेको थियो । सोमबार रातीको वार्ता यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले छ बुँदे सहमति जुटेको बताएका थिए । त्यसमा गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी निर्देशिका स्थगन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मार्फत अनुरोध गर्ने सहमति भएको छ। गण्डकी प्रदेश सरकारले यसमा सहमति जनाएपछि यातायात व्यवसायीहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिने बताएका छन ।
“‘गण्डकी प्रदेश लगायतका प्रदेश सरकारहरूद्वारा विभिन्न मितिमा जारी गरिएका निजी सवारी साधन (रातो नम्बर प्लेट) का लाई यात्रु बोक्न दिनेगरी ल्याइएको राइड सेयरिङसम्बन्धी नियमावलीहरू यससम्बन्धी संघीय कानुनहरू तर्जुमाको क्रममा रहेकोले सो कार्यान्वयनमा नआउँदासम्म सम्बन्धित प्रदेशका राइड सेयरिङसम्बन्धी नियमावलीहरू स्थगन गर्न गण्डकी प्रदेश सरकार लगायतका प्रदेश सरकारहरुलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मार्फत अनुरोध गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरियो ।” सहमतिको पहिलो बुँदामा भनिएको छ। यही सहमतिको स्थगन भन्ने शब्दलाई लिएर गण्डकीको समितिले आशंका व्यक्त गरेको हो ।
मंगलबार बिहानै समितिको गण्डकी प्रदेशस्तरीय बैठक बसेको थियो । बैठकपछि एक विज्ञप्ती जारी गर्दै समितिका संयोजक केदारप्रसाद पौडेलले, “राइड सेयरिङ नियमावलीको विषयमा केन्द्रिय वार्ता टोलीले नियमावली स्थगन गर्ने भन्ने वाक्यप्रति सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकी प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।” बताएका छन । यो शब्दको बहुअर्थ लाग्ने उनको भनाई छ । “स्थगन भन्ने शब्दले विभिन्न अर्थ लाग्न गई भोलिका दिनमा पुन विवाद बढ्न जाने हुँदा ठोस निकास खोजिरहेको व्योहोरा अवगत गराउन चाहन्छौँ ।” उनले भने । उनले आफूहरुले उठाएका मागप्रति धोकाकडी भएमा थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन ।





