तस्बिर : रन्जिता शर्मा/रमिता पुन मगर
बागलुङ/ढोरपाटन उपत्यकालाई विकास गर्दै पर्यटकीय गतिविधि बढाउने लक्ष्यले दिगो पर्यटन विकास योजना निर्माणको काम थालिएको छ । स्थानीय श्रोत साधन उपयोग गरेर अधिकतम विकास गर्न सकिने आधार खोज्ने तथा पर्यटन प्रवद्र्धनबाटै आर्थिक समृद्धि समेत ल्याउने लक्ष्यका साथ योजना निर्माणको काम थालिएको हो ।
विवाईसी बागलुङले २० महिनादेखि संचालन गरिरहेको दिगो पर्यटन प्रवद्र्धन परियोजना अन्र्तगत विज्ञहरुको सहभागितामा योजना निर्माणको काम शुरु भएको परियोजना संयोजक अमरबहादुर थापाले जानकारी दिए । ढोरपाटनको सौन्दर्य लोप हुन नदिने, स्थानीयलाई सशक्तीकरण गरेर घरबासहरु विकास गर्दै पर्यटक स्वागतका कार्यक्रम संचालन गर्ने तथा उपत्यकामा जलवायु परिवर्तनको असर न्युनिकरण गर्ने लक्ष्य परियोजनाको छ ।
विज्ञहरुले स्थानीयलाई सशक्तीकरण गर्दै उनीहरुमार्फत पर्यटन प्रवद्र्धन गर्ने, उपत्यका र बुकीपाटनसम्म जलवायु परिवर्तनको असर न्युनिकरण गर्ने, सफाइ अभियान संचालन गर्ने, मौलिक कला र संस्कृतिको संरक्षण गर्ने क्रियाकलापका लागि योजना निर्माण गर्न लागिएको पोखरास्थित वन विज्ञान अध्ययन संस्थानका उपप्राध्यापक विकास अधिकारीले बताए । योजना निर्माण गर्दा पर्यावरणको संरक्षणलाई मुख्य प्राथमिकता दिइने उनको भनाई छ ।

योजना निर्माणका लागि विज्ञको रुपमा अधिकारीसहित सिटिइभिटिका जीवन भण्डारी, स्थानीय जनप्रतिनिधि, ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाका १६ वडाका अध्यक्षहरु, शिक्षक तथा सामाजिक अगुवाको सहभागिता छ । त्यसका लागि परियोजनाले फरक फरक रुपमा सबैलाई अभिमुखीकरण पनि गराइसकेको छ ।
त्यसबाहेक प्रत्येक वडामा बालक्लब गठन गरेर दिगो विकासको अभियानमा बालबालिकाको पनि सहभागिता खोजीएको छ । किशोरकिशोरी समूह, टोल विकास संस्थालाई विकासको साझेदार बनाउन र उनीहरुलाई योजनामा अपनत्व दिलाउन सकिने काम भएको संयोजक थापाले बताउनुभयो । स्थानीय तहले बनाउने नीति, कार्यक्रम र बजेटमा पनि ती योजनाको प्रभाव देखिने गरी बनाउन जनप्रतिनिधिलाई अभिमुखीकरण भैरहेको छ ।
यो क्षेत्रमा ३० वटा होमस्टे स्थापना तथा प्रवद्र्धनको कार्यक्रम पनि परियोजनाले गर्र्दैछ । युवालाई उद्यमशिलता विकास तालिम, वातावरण संरक्षणबारे विद्यालय तहमा पाठ्यक्रमको रुपमा पढाउन सकिने गरी सामाग्री तयार, विद्युतीय पुस्तकालयमार्फत वातवारण संरक्षण र दिगो पर्यटनका सामाग्री राख्ने र अध्ययन गर्ने अवस्था निर्माण भैरहेको छ ।

फोहोर व्यवस्थापनका लागि इको फ्रेण्डली कार्यक्रम संचालन गरी प्लाष्टिकजन्य वस्तुको प्रयोग घटाउने, रैथाने उत्पादनको संरक्षणमा किसानलाई सहयोग गरिएको छ । परम्परागत उपचार पद्दती, राडीपाखी उत्पादनमा जागरुक बनाउने र उत्पादनलाई बजारीकरणमा साथ दिने काम पनि भईरहेको परियोजना संयोजक थापाले जानकारी दिए ।
यो अभियानकै क्रममा निसी गाउँपालिकाले दिगो पर्यटन योजना निर्माण गरिसकेको छ भने ढोरपाटन नगरपालिकालाई योजना बनाउन सहयोग गरिएको छ । योजना बनाउँदा जलविद्यत आयोजना निर्माणमा जोड दिने, कार्बन उत्सर्जनलाई घटाउने, बाढी पहिरो नियन्त्रण, तालतलैया संरक्षणको काम गर्न जैविक विविधताको अध्ययन र तथ्यांक संकलन गर्न काम चलिरहेको परियोजनाले जनाएको छ ।





