बागलुङ/२४ बुँदे निर्णय गर्दै चौथो जिल्ला सभा सम्पन्न भएको छ । बुधबार भएको सभाले सबै पालिकाले आन्तरिक आय बढाउने निर्णयसहित समपन्न भएको हो । आन्तरिक आय बढाएर स्थानीय आवस्यकताको आधारमा काम गर्न पहल गर्ने निर्णय भएको जिल्ला समन्वय प्रमुख अमर थापाले जानकारी दिए ।
जिल्लाका धार्मिक पर्यटकीय क्षेत्रको संरक्षण र सम्बद्र्दन गरेर राजश्वको दायरा बढाउने समेत निर्णय भएको हो । त्यस बाहेक गैरकानूनी रुपमा हुने व्यवसायलाई पालिकाले कानुनको दायरामा ल्याउने, समानुपातिक विकास गर्ने, आन्तरिक आय बढाउने, विद्यालयमा शिक्षाको गुणस्तर सुधार गर्ने, आयोजनामा भएको ढीलासुस्तीबारे संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराउने जिल्ला सभाले निर्णय गरेको हो ।
स्थानीय तहले आफ्नै लक्ष्य पनि पुरा नगरेकोले कैयौं विकास निर्माणका योजना अलपत्र परेको अनुगमनमा भेटिएकोले आय बढाउने निर्णय गर्नुपरेको थापाको भनाइ छ ।
ती निर्णयमा सबै पालिकाका प्रमुख तथा उपप्रमुखहरु सहमत भएका छन् । चालु वर्ष बागलुङका अधिकांस पालिकाले राखेको लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकेपछि आन्तरिक रुपमा राखिएका कार्यक्रम समेत सम्पन्न गर्न सकेका छैनन् । ‘विकास निर्माणदेखि तालिम र लक्षित क्षेत्रका धेरै बजेट कटौती भएका छन्’ गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले भने, ‘आन्तरिक आय बढाउने बाटो खोज्दैछौं ।’ सशर्त आएको बजेट शिर्षकमै खर्चनुपरेपछि जनप्रतिनिधिले स्थानीयको मागको आधारमा गरिने काम गर्न नसकेपछि दवावमा छन् ।
हरेक वर्ष राजश्व बढाएर अनुमान गर्ने भनिएको भन्दै बढाएर अनुमान गर्दा लक्ष्य भेटाउन नसकेको बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले बताए । ‘कुनै काम विशेषले अघिल्लो वर्ष धेरै थियो, अहिले बढाएर लक्ष्य राख्दा राजश्व उठाउनै सकिएन’ वनले भने, ‘नदीजन्य सामाग्री बिक्री गर्न नसकेको, अन्य करका दायरा बढाउन नसकेकोले संकलन नभएको हो ।’ राजश्व नउठेपछि काम गर्न कठिन भएको उनले बताए ।
समन्वय समितिको अनुगमन अनुसार बागलुङ नगरपालिकाले चालु आर्थिक वर्ष २० करोड ७ लाख राजश्व संकलन गर्ने लक्ष्य राखेपनि बैसाख मसान्तसम्म ५ करोड २० लाख रुपियाँ मात्र संकलन गरेको हो । उक्त रकम लक्ष्यको २६ प्रतिशत मात्रै हो । जैमिनी नगरपालिकाले १ करोड ३६ लाख रुपियाँ संकलनको लक्ष्य राख्दा ५७ लाख मात्रै संकलन गरेको हो । बडिगाड गाउँपालिकाले १ करोड ६० लाखको लक्ष्य राख्दा ७८ लाख र तमानखोला गाउँपालिकाले ३६ लाख लक्ष्य राखेर २५ लाख अर्थात ६५ प्रतिशत मात्रै संकलन गरेको हो ।
ढोरपाटन नगरपालिकाले २ करोड १० लाख संकलन गर्ने लक्ष्य राखेकोमा १ करोड २८ लाख अर्थात ६१ प्रतिशत, बरेङ गाउँपालिकाले ४० लाख लक्ष्यमा २३ लाख मात्रै संकलन गरेको छ । गलकोट नगरपालिकाले २ करोड १० लाख लक्ष्य राखेकोमा १ करोड ३२ लाख मात्रै संकलन गर्न सकेको हो । काठेखोला गाउँपालिकाले भने ७७ लाख संकलन गर्ने लक्ष्य राखेकोमा ६२ लाख संकलन गरेको हो । जुन ८१ प्रतिशत हो ।
ताराखोला गाउँपालिका र निसीखोला गाउँपालिकाले मात्र लक्ष्य अनुसारको राजश्व संकलन गरेका छन् । ताराखोलाले ६७ लाख रुपैयाँको लक्ष्य राखेकोमा १ करोड ६ लाख रुपैयाँ संकलन गरेर १ सय ५९ प्रतिशत प्रगती गरेको हो । निसीखोलाले ५२ लाख ५० हजारको लक्ष्यमा बैसाख मसान्त सम्ममा ५३ लाख रुपैयाँ संकलन गरेर १ सय १ प्रतिशत राजश्व संकलन गरेको हो ।
राजश्व बढाउन नसक्दा नगरपालिकाकै अगाडिको सडक समेत मर्मत गर्न कठिन भएको बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले बताए । कालीगण्डकी नदीको सामाग्री उत्खनन्को ठेक्का लगाउन नपाएपछि नगरपालिका राजश्व संकलनमा पछि परेको हो । आगामी आर्थिक बर्ष भने राजश्व बढाउने योजना नगरपालिकाले बताएको छ ।
विकासका काम अलपत्र परेपछि सभाले आगामी वर्ष लक्ष्य अनुसारको राजश्व संकलनमा पहल गर्ने निर्णय गरेका छन् । सभाले आन्तरिक आय बढाउने काम थाल्ने निर्णय गरेको थापाले जानकारी दिए । आन्तरिक आयमा न्युन प्रगती गर्दा योजना अनुसारका काम पुरा नभएपछि सभा आय बढाउने निर्णयमा पुगेको हो ।





